उद्योगी–व्यवसायीका गुनासा सुन्दै प्रदेश सरकार, कर नीति र सहुलियत कर्जाप्रति असन्तुष्टि

658
Shares

लमजुङ। 

लमजुङमा उद्योगी तथा व्यवसायीहरूले भोगिरहेका समस्या, चुनौती र समाधानका उपायबारे प्रदेश सरकारसँग प्रत्यक्ष छलफल गरिएको छ । उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा बिहीबार बेसीशहरमा उद्योगी, होटल व्यवसायी, महिला उद्यमी तथा विभिन्न सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम  भएको हो ।

कार्यक्रममा उद्योग तथा पर्यटन मन्त्रालयका उपसचिव महराज ढकालले गण्डकी प्रदेशका उद्योग तथा व्यवसायसम्बन्धी ऐन, नियम, उद्योग तथा वाणिज्य फर्म दर्ताका प्रक्रिया, आवश्यक कागजात तथा प्रदेशभर उद्योग व्यवसाय सञ्चालनको अवस्थाबारे जानकारी गराउनु भएको थियो । उहाँले व्यवसाय सञ्चालनका क्रममा देखिएका प्रमुख समस्या र चुनौतीबारे पनि प्रस्तुति राख्नुभएको थियो ।

अन्तरक्रियामा सहभागी व्यवसायीहरूले सरकारको कर नीति, पर्यटन प्रवर्द्धनमा देखिएका समस्या, बजार अनुगमनको प्रभावकारिता तथा व्यवसाय सञ्चालनका कठिनाइबारे खुलेर सुझाव र गुनासा राखेका थिए । उनीहरूले एउटै व्यवसायमा दोहोरो तेहोरो करको भार परेको, सहुलियतपूर्ण कर्जा र स्टार्टअप उद्यम कर्जा लिन अत्यधिक झन्झट बेहोर्नुपरेको बताएका थिए ।

उद्योगी व्यवसायीहरूले उद्यमशीलता विकास, सहुलियतपूर्ण ऋण व्यवस्था प्रभावकारी बनाउने, उद्योग दर्ता तथा सञ्चालन प्रक्रिया सहज बनाउने र व्यवसायमैत्री नीति कार्यान्वयन गर्न प्रदेश सरकारसँग आग्रह गरेका थिए ।

कार्यक्रममा मन्त्रालयका उपसचिव टिकाराम पौडेलले उठाइएका सुझाव तथा जिज्ञासाको जवाफ दिँदै उद्योग तथा पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले सहभागीबाट आएका महत्त्वपूर्ण सुझावलाई आगामी नीति तथा कार्यक्रममा समेट्न पहल गरिने उल्लेख गर्नुभयो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी थम्मन सिंह गौतम, एकीकृत सेवा कार्यालय लमजुङका प्रमुख मिता कुमारी थापालगायतको उपस्थिति रहेको थियो।