नेपाल मेडिसिटी बंगलादेशको अन्तर्राष्ट्रिय स्वास्थ्य पर्यटन प्रदर्शनीमा सहभागी


काठमाडौं ।

नेपाल मेडिसिटीले बंगलादेशमा आयोजना भइरहेको नवौं अन्तर्राष्ट्रिय स्वास्थ्य पर्यटन तथा सेवा प्रदर्शनी–२०२६ मा सहभागिता जनाउँदै नेपालको स्वास्थ्य सेवा उत्कृष्टता अन्तर्राष्ट्रियस्तरमा प्रदर्शन गरेको छ। यससँगै नेपाल बाहिर अन्तर्राष्ट्रिय चिकित्सा पर्यटन प्रदर्शनीमा आफ्नो सेवा प्रस्तुत गर्ने पहिलो नेपाली अस्पतालका रूपमा नेपाल मेडिसिटीले ऐतिहासिक उपलब्धि हासिल गरेको छ।

मे ७ देखि ९ सम्म ढाकास्थित इन्टरनेशनल कन्भेन्सन सिटी बसुन्धर मा सञ्चालन भइरहेको प्रदर्शनीमा एशिया तथा अन्य देशका अग्रणी अस्पताल, स्वास्थ्य सेवा प्रदायक, निदान संस्था, कल्याण केन्द्र तथा चिकित्सा पर्यटन सहजकर्ताहरू सहभागी छन्।

प्रदर्शनीमा चीन, इन्डोनेसिया, मलेसिया, भारत र श्रीलंका लगायतका देशका स्वास्थ्य संस्था तथा अस्पतालहरूको सहभागिता रहेको छ। यसले दक्षिण एशियामा चिकित्सा पर्यटन र अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा सहकार्यको बढ्दो महत्वलाई झल्काएको आयोजकहरूले बताएका छन्।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमरले नेपाललाई उच्च गुणस्तर र किफायती स्वास्थ्य सेवाको उदीयमान गन्तव्यका रूपमा स्थापित गर्ने दिशामा यो कार्यक्रम महत्वपूर्ण अवसर भएको बताए। उनले यस सहभागिताले नेपालको स्वास्थ्य सेवा क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा थप परिचित बनाउने विश्वास व्यक्त गरे।

नेपाल मेडिसिटीले उन्नत क्लिनिकल सेवा, बहुआयामिक उपचार प्रणाली तथा बिरामी–केन्द्रित स्वास्थ्य सेवा प्रदान गर्दै आएको जनाएको छ। अस्पतालले बिरामी सुरक्षा, संक्रमण रोकथाम, क्लिनिकल शासन तथा प्रमाण–आधारित उपचार अभ्यासमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारका गुणस्तर प्रणाली अपनाएको उल्लेख गरेको छ।

अन्तर्राष्ट्रिय बिरामीहरूले अनुभवी विशेषज्ञ चिकित्सक, छोटो प्रतीक्षा समय, व्यक्तिगत हेरचाह र तुलनात्मक रूपमा किफायती उपचार सेवाका कारण नेपाल मेडिसिटी रोज्ने क्रम बढ्दै गएको अस्पतालले जनाएको छ।

स्वास्थ्य क्षेत्रका जानकारहरूले यस प्रदर्शनीमा नेपाल मेडिसिटीको सहभागिताले नेपालको स्वास्थ्य सेवा तथा वेलनेस पर्यटन क्षेत्रका लागि नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन्।