३५ वर्षपछि स्वास्थ्य क्षेत्रमा ९७७ स्थायी प्राविधिक दरबन्दी थपिँदै


काठमाडौं

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झन्डै ३५ वर्षपछि ठूलो संख्यामा स्थायी प्राविधिक जनशक्ति थप्ने तयारी गरेको छ। मन्त्रालय र मातहतका स्वास्थ्य संस्थाका लागि प्रस्ताव गरिएको ९७७ स्थायी दरबन्दी तेरिजलाई अर्थ मन्त्रालयले स्वीकृति दिएपछि स्वास्थ्य क्षेत्रमा नयाँ जनशक्ति थपिने बाटो खुलेको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार पाँचौँ तहदेखि एघारौँ तहसम्मका विभिन्न प्राविधिक पदमा दरबन्दी थप्ने प्रस्ताव बुधबार अर्थ मन्त्रालयबाट स्वीकृत भएको हो। यसअघि स्वास्थ्य मन्त्रालयले कानुन मन्त्रालयबाट समेत आवश्यक राय तथा सहमति लिइसकेको जनाएको छ। अब उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने तयारी भइरहेको मन्त्रालय स्रोतले जनाएको छ।

स्वास्थ्य मन्त्री निशा महेताको सचिवालयका एक सदस्यका अनुसार जनशक्तिको अभावका कारण लामो समयदेखि प्रभावित हुँदै आएको स्वास्थ्य सेवा सुधार गर्न नयाँ दरबन्दी अत्यावश्यक थियो। “तल्लो तहदेखि विशेषज्ञ तहसम्म आवश्यकता अनुसार विभिन्न विषय र तहमा ९७७ दरबन्दी थप्ने प्रस्ताव स्वीकृत भएको छ। अब मन्त्रिपरिषद्बाट निर्णय भएपछि पदपूर्तिको प्रक्रिया अघि बढाइनेछ ।” 

सरकारले यसअघि २०४८ सालमा ठूलो संख्यामा प्राविधिक जनशक्ति थपेको थियो। त्यसयता देशको जनसंख्या उल्लेख्य रूपमा वृद्धि भए पनि स्वास्थ्य क्षेत्रमा स्थायी दरबन्दी विस्तार हुन सकेको थिएन। ३५ वर्षअघि नेपालको जनसंख्या करिब १ करोड ८० लाख रहेकोमा अहिले झन्डै ३ करोडको हाराहारीमा पुगेको छ। तर स्वास्थ्य क्षेत्रमा पुरानै संरचना र सीमित जनशक्तिका आधारमा सेवा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको अधिकारीहरू बताउँछन्।

जनशक्ति अभावका कारण संघीय, प्रादेशिक तथा स्थानीय तहका अस्पताल र स्वास्थ्य संस्थामा सेवा प्रवाह प्रभावित हुँदै आएको थियो। विशेषगरी दुर्गम क्षेत्रका अस्पतालमा चिकित्सक, नर्स, ल्याब टेक्निसियन, फार्मेसी, रेडियोग्राफी लगायतका प्राविधिक कर्मचारी अभावले उपचार सेवा कमजोर बनेको गुनासो रहँदै आएको छ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार नयाँ दरबन्दी थपिएपछि सरकारी स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधार हुने अपेक्षा गरिएको छ। यसले विशेषज्ञ सेवा विस्तार, स्वास्थ्य संस्थामा नियमित जनशक्ति उपलब्धता तथा आकस्मिक सेवा प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त भइसकेकाले अब मन्त्रिपरिषद्बाट अन्तिम निर्णय भएपछि लोक सेवा आयोगमार्फत पदपूर्तिका लागि विज्ञापन खुला गरिने तयारी छ। स्वास्थ्य क्षेत्रमा लामो समयदेखि रिक्त दरबन्दी, अस्थायी व्यवस्थापन तथा करार सेवामा निर्भरता बढिरहेका बेला स्थायी जनशक्ति थप्ने निर्णयलाई स्वास्थ्य क्षेत्र सुधारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

स्वास्थ्य विज्ञहरूले पनि जनसंख्या वृद्धि र बढ्दो स्वास्थ्य सेवाको मागअनुसार जनशक्ति विस्तार आवश्यक रहेको बताउँदै आएका छन्। उनीहरूका अनुसार पर्याप्त जनशक्ति बिना गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न कठिन हुने भएकाले सरकारको पछिल्लो निर्णयले स्वास्थ्य प्रणालीलाई दीर्घकालीन रूपमा बलियो बनाउन सहयोग पुग्नेछ।