शिक्षा विभागले विद्यार्थी र अभिभावकसँग परामर्श गरेर शैक्षिक क्रियाकलापको निरन्तरता सम्बन्धी कार्यक्रम बनाउँदै
काठमाडौँ ।
राधास्वामी सत्संग व्यास आश्रममा रहेका बालबालिकामध्ये ५२ जना बालबालिका आजदेखि विद्यालय जाने भएका छन् । महानगरपालिकाको शिक्षा विभागले हिजो (सोमबार) विद्यार्थी र अभिभावकसँग परामर्श गरेर उनीहरुको रुचि र आवश्यकता पहिचान गरेपछि आजदेखि वडा नं. १४ मा रहेको जनकल्याण माध्यमिक विद्यालयमा पठाउन लागिएको हो । यो विद्यालय, बालबालिका रहेको ठाउँबाट पैदल दुरीमा छ ।
नदी किनारामा अव्यवस्थित बसोबास गरिरहेका घर टहरा खाली गराउने क्रममा थापाथली, गैरीगाउँ र सिनामंगलसहित विभिन्न स्थानबाट ल्याइएका ६६ परिवारका २०३ जना अहिले राधास्वामी सत्संग आश्रममा हुनुहुन्छ । उहाँहरुमध्ये अपाङ्गता भएका १ जना सहित ६२ जना पुरुष, ३ जना सुत्केरी र २ जना गर्भवती सहित ८० जना महिला, ३१ जना बालिका र ३० बालक हुनुहुन्छ ।
यी परिवारमा रहेका बालबालिकामध्ये ५२ जना बालबालिका विद्यालय उमेरको हुनुहुन्छ । ४ जनाले यस वर्ष एसईई दिनुभएको छ । उहाँहरु कम्प्युटर, सिलाइ बुनाइ जस्ता सिप सिक्न चाहनुहुन्छ । महानगरपालिकाले उहाँहरुले चाहेको सिपमूलक तालिमको प्रबन्ध गर्ने योजना बनाएको शिक्षा अधिकारी नमराज ढकालले बताउनुभयो ।

विद्यालय उमेरका विद्यार्थीमध्ये ३० जना छात्रछात्राका अभिभावकले आफ्ना नानीबाबुलाई छात्राबासमा राखेर पढाउने चाहना राख्नुभएको छ । अभिभावकको चाहना बुझ्न भराइएको फाराममा ५ जना छात्रा र ६ जना छात्रले छात्राबासमा बस्न अनिच्छा व्यक्त गर्नुभयो । अन्य अभिभावकबाट स्पष्ट धारणा प्राप्त हुन सकेको छैन । शिक्षा विभागका वरिष्ठ शाखा अधिकृत सुशिल सुवेदीका अनुसार छात्राबास बस्न इच्छुकहरुमा ११ जना छात्रा र १९ जना छात्र हुनुहुन्छ । सुवेदीका अनुसार विद्यार्थीहरुलाई आवश्यक पर्ने पोशाक तथा शैक्षिक सामग्री सम्बन्धी आवश्कयता समेत माग गरिएको छ ।
छात्राबासमा राखेर आवास सुविधासहितको अध्ययनका लागि हामीले प्याब्सन, एनप्याब्सन र हिसानमार्फत अनुरोध गरेका छौँ । महानगरपालिकाका निर्देशक वसन्त आचार्यका अनुसार १० वर्ष उमेर भएका बालबालिकालाई मात्र छात्राबासमा राख्न उपयुक्त हुने सुझाव प्राप्त भएपछि हामीले त्यही अनुरुप व्यवस्थापनको प्रयास गरिरहेका छौँ । निजी तथा संस्थागत विद्यालयहरुबाट खवर प्राप्त भएपछि हामी इच्छुक र योग्य बालबालिकालाई छात्राबास पठाउँछौँ ।
महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले आइतबार प्याब्सन र एनप्याब्सनका पदाधिकारीसँग बसेर होल्डिङ् सेन्टरमा रहेका बालबालिकाका लागि संस्थागत विद्यालयमा आवास सुविधासहित निःशुल्क अध्ययनको व्यवस्था मिलाउन आग्रह गर्नुभएको थियो । उहाँको आग्रहपछि वैठक बसेर हाइयर इन्स्टिच्युसन्स एण्ड सेकेण्डरी स्कूल्स एशोसिएसन (हिसान), प्राइभेट एण्ड वोर्डिङ स्कूल्स अर्गनाइजेसन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन) र एशोसिएसन अफ प्रिस्कूल एजुकेटर्स नेपाल (एपेन) ले संयुक्त विज्ञप्ति जारी गर्दै वास्तविक सुकुम्बासीका बालबालिकाको शिक्षालाई निरन्तरता दिन, सहयोग र सहजीकरणका लागि तत्पर रहेको बताएका छन् । यसरी जारी गरिएको विज्ञप्तिमा संस्थाका अध्यक्षहरु क्रमशः युवराज शर्मा, कृष्णप्रसाद अधिकारी, सुवास न्यौपाने र बद्रीप्रसाद दाहालले हस्ताक्षर गर्नुभएको छ ।











प्रतिक्रिया