
गुल्मी ।
गुल्मीमा जारी पाँचौं गुल्मी महोत्सवले स्थानीय उत्पादन, परम्परागत सीप र औद्योगिक वस्तुहरूको प्रवद्र्धनमा विशेष ध्यान दिएको छ । महोत्सवमा विशेष गरी घरायसी प्रयोजनका सामग्रीहरूलाई आकर्षकरूपमा प्रदर्शनमा राखिएको छ, जसले दर्शकहरूको ध्यान खिचिरहेको छ । महोत्सव अवलोकनका लागि आउने आगन्तुकहरूलाई केवल सामग्री हेर्ने मात्र नभई ती सामग्री कसरी तयार गरिन्छ भन्ने प्रत्यक्ष अनुभव दिलाउने उद्देश्यले विभिन्न स्टलहरूमा उत्पादन प्रक्रिया नै देखाइने व्यवस्था गरिएको छ ।
यसै क्रममा काठबाट बनाइने परम्परागत ‘ठेकी’ निर्माण प्रक्रिया महोत्सवको मुख्य आकर्षण बनेको छ । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका–१, हुँगाका स्थानीय सीपयुक्त कालिगढ यमन सुनारले महोत्सव स्थलमै बसेर ठेकी तयार गरिरहेका छन् । काठको छनोटदेखि लिएर आकार दिने, खोक्रो पार्ने र अन्तिम रूप दिने सम्पूर्ण प्रक्रिया दर्शकहरूले प्रत्यक्षरूपमा हेर्न पाउने व्यवस्था मिलाइएको छ । यसले नयाँ पुस्तालाई परम्परागत सीपबारे जानकारी दिने र पुराना सीपको संरक्षणमा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।
सुनारले पुख्र्यौलीरुपमा गिठीको काठबाट उत्पादित सामग्री बिक्री गरेरै जीविकोपार्जन गर्दै आएका छन् । सुनारले ५ सयदेखि १२ हजार रुपियाँसम्मका ठेकी तयार गरेका छन् । उनले महोत्सव स्थलमै काठका ठेकी तयार गरेको प्रत्यक्ष अवलोकन गराउने समेत गरेका छन् । गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष मृगेन्द्रप्रसाद श्रेष्ठका अनुसार, महोत्सवमा आउने दर्शकहरूलाई केवल उत्पादन देखाउने मात्र नभई त्यसको निर्माण प्रक्रिया बुझाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको बताए ।
यसले स्थानीय कालिगढहरूको सीपलाई सम्मान दिनुका साथै बजार विस्तारमा पनि सहयोग पुग्ने विश्वास लिइएको छ । त्यस्तै, महोत्सवमा धातुबाट बनाइने घसायसी तथा घरेलु प्रयोजनका सामग्रीहरू पनि आकर्षणको केन्द्र बनेका छन् । स्याङ्जाको वालिङ–८ बाट आएका सन्तोष विश्वकर्माले फलामबाट उत्पादन गरेका विभिन्न सामग्रीहरू प्रदर्शनमा राखेका छन् । विशेष गरी २० किलो तौल भएको करिब ५५ हजार रुपियाँ मूल्यको ठूलो खुकुरीले दर्शकहरूको ध्यान खिचिरहेको छ । उक्त खुकुरी केवल सजावटी सामग्री मात्र नभई स्थानीय धातु सीपको उत्कृष्ट नमुना मानिएको छ । उनी पनि पुख्र्यौलीरुपमा सामग्री उत्पादन गर्दै आएका छन् । यसैबाट ६ जनाको परिवारको खर्चसमेत जुटाउँदै आएको विश्वकर्माले बताए ।
महोत्सव वैशाख ११ गतेदेखि शुरु भई २३ गतेसम्म सञ्चालन हुनेछ । यस अवधिमा कृषिजन्य उत्पादनहरू, हस्तकला सामग्री, घरेलु उद्योगका वस्तुहरू तथा विभिन्न औद्योगिक उत्पादनहरूसमेत प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन् ।
स्थानीय स्तरमा उत्पादन हुने वस्तुहरूको प्रवद्र्धन, उद्यमशीलता विकास तथा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष ताराप्रसाद भुसालले बताए । महोत्सवले जिल्लाको आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको भुसालले बताए ।
महोत्सव केवल मनोरञ्जनात्मक कार्यक्रम मात्र नभई स्थानीय सीप, उत्पादन र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने महत्वपूर्ण थलोका रूपमा स्थापित हुने अपेक्षा वाणिज्य संघले लिएको छ ।











प्रतिक्रिया