काठमाडौँ ।
विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३, २०२६) को अवसरमा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि सबै सरोकारवालालाई एकजुट हुन आह्वान गरेकी छन्। उनले पछिल्लो एक वर्षमा १३१ वटा प्रेस स्वतन्त्रता हननका घटना भएको उल्लेख गर्दै पत्रकारमाथि दुर्व्यवहार, आक्रमण र असुरक्षा बढेकोप्रति चिन्ता व्यक्त गरिन्।
शर्माले लोकतान्त्रिक संविधान लागू भएको दशक बितिसक्दा पनि प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप बढ्नु गम्भीर विषय भएको बताइन्। सरकारी विज्ञापनमा विभेद, नीतिगत बन्देज तथा सञ्चारमाध्यममाथि भएका आक्रमणले अवस्था झनै चुनौतीपूर्ण बनेको उनको भनाइ छ।
महासंघले पत्रकार सुरक्षाका लागि पहल जारी राख्ने प्रतिबद्धता जनाउँदै अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न नागरिक समाज र पेशागत संगठनहरूको साथ आवश्यक रहेको उल्लेख गरेको छ।
नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको शुभकामना सन्देश
मिति : २०८३।०१।१९ विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३, २०२६) को अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको शुभकामना सन्देश विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा म नेपालका सम्पूर्ण श्रमजीवी पत्रकार, व्यावसायिक सञ्चारगृहहरू तथा विचार र अभिव्यक्ति स्वतन्त्रता पक्षधर जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछु । आजको दिनले हामीलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवी पत्रकारको हितमा अविचलित रूपमा लड्न प्रेरणा दिनेछ ।
आगामी दिनमा पनि नागरिकको बोल्न पाउने अधिकारका पक्षमा महासंघ अनवरत रूपमा सक्रिय रहने प्रतिवद्धता पुनः व्यक्त गर्दछु । इतिहासदेखि नै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि राज्यका कुनै अंग, तह वा अरू कुनै संगठित र असंगठित क्षेत्रबाट संकुचन वा नियन्त्रण गर्ने प्रयास भएमा हामीले सशक्त प्रतिवाद गर्दै आएका छौं । अब पनि त्यस्तो प्रतिवाद गर्नुपर्ने अवस्था आइलाग्छ भन्नेमा महासंघ स्पष्ट छ ।
लोकतान्त्रिक संविधान लागू भएको दशक बितिसक्दा पनि मुलुकमा प्रेस स्वतन्त्रता हननका घटनाहरू बढ्दो क्रममा रहेको देखिनु हाम्रा लागि गम्भीर चिन्ताको विषय हो । विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने क्रमको सुरुवात सन् १९९१ मा नामिबियाको विन्डहोकमा आयोजित युनेस्कोको सेमिनारबाट भएको हो ।
उक्त सेमिनारले ‘विन्डहोक घोषणापत्र’ जारी गरेको थियो । यही घोषणापत्रको स्मरण गर्दै सन् १९९३ मा संयुक्त राष्ट्रसंघको महासभाले युनेस्कोको सिफारिसमा मे ३ लाई ‘विश्व प्रेस स्वतन्त्रता दिवस’ का रूपमा मनाउने निर्णय गरेको हो । त्यसयता, हरेक वर्ष मे ३ का दिन प्रेस स्वतन्त्रताको रक्षा र प्रवद्र्धन गर्ने उद्देश्यले यो दिवस विश्वभर मनाउने गरिन्छ ।
यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवसको नारा ‘शान्तिपूर्ण भविष्यको निर्माणः मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रता प्रवद्र्धन’ रहेको छ । युनेस्कोले यस वर्षको कार्यक्रम जाम्बियाको लुसाकामा मे ४ र ५ का दिन विभिन्न कार्यक्रम गरी मनाउदै छ । अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) ले ४ मे देखि ७ मे सम्म पेरिसमा हुने महाधिवेशनमा विश्वका पत्रकारहरु सहभागी हुने सम्मेलनमा यो दिवस मनाउदै छ ।
महासंघले पनि लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकार सुरक्षाको क्षेत्रमा सक्रिय विभिन्न पेशागत संगठनको सहभागितामा माइतीघर मण्डलाबाट र्याली आयोजना गर्दैछ । पछिल्लो समय सरकारले गरेको सरकारी विज्ञापनमा विभेदपूर्ण व्यवहार, लोककल्याणकारी विज्ञापनको संकुचन र अभिव्यक्ति स्वतन्त्रता माथिकै अंकुशका प्रक्रियाहरू हुन भन्ने महासंघको बुझाइ छ ।
महासंघ सञ्चार अनुगमन इकाईले मे ४ सन् २०२५ देखि ३० अप्रिल २०२६ सम्म संकलन गरेको विवरणमा यो वर्ष १ सय ३१ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका छन् । गत वर्ष ७३ वटा यस्ता घटना भएका थिए । योभन्दा अघिल्लो वर्ष ६२ वटा थिए । तुलनात्मक विश्लेषण गर्दा यो वर्ष प्रेस स्वतन्त्रता हननका घटना बढिरहेको तथ्याङ्कहरूले देखाउछन् ।
पछिल्लो एक वर्षका १ सय १३१ वटा प्रेस स्वतन्त्रतता हननका घटनामा पत्रकारमाथि दुर्व्यवहार तथा धम्कीका ५१ वटा घटना छन् । त्यसैगरी पत्रकार तथा सञ्चार सामग्रीमाथिको आक्रमणका ३० वटा घटना छन् । पेशागत असुरक्षा १८ र कब्जा तथा अवरोधका २६ वटा घटना रहेका छन् । नीतिगत बन्देज ३ वटा, पत्रकार पक्राउ २ जना र १ जना पत्रकारको शंकास्पद मृत्यु भएको अभिलेखबाट देखिन्छ ।
२०८२ भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा २६ वटा प्रेस स्वतन्त्रता हननका घटना हुँदा एकसय भन्दा धेरै पत्रकार तथा सञ्चारगृह प्रत्यक्ष प्रभावित भएका थिए । २३ गतेको आन्दोलन र २४ गतेको हिंसात्मक घटनामा सञ्चारगृहमा आगजनी, लुटपाट र तोडफोड भएको थियो । उक्त घटनामा संस्थागततर्फ करिव ६० करोड रुपैयाँ बराबरको क्षति भएको छ भने पत्रकार तथा सञ्चार उद्यमीको निजी सम्पत्तितर्फ करिव १८ करोड रुपैयाँ बराबरको क्षति भएको छ । पाँच जना पत्रकार गोली लागेर घाइते भएका थिए ।
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल, नेपाल टेलिभिजन, कान्तिपुर पब्लिकेशन, अन्नपूर्ण पोस्ट, थाहा खबर, बुटवलस्थित रेडियो जागरण, इलाममा नेपालवाणी एफएम र इलाम एक्सप्रेस, चितवनका विभिन्न सञ्चारगृह, सप्तरीमा महासंघ शाखा कार्यालयसहितका सञ्चारगृहमा आगजनी, तोडफोड तथा लुटपाट गरिएको थियो । नीतिगत रूपमा गएको वर्ष पनि प्रेस स्वतन्त्रता संकुचन गर्ने प्रयास भएको छ ।
महासंघको विरोधका बाबजुद संघीय संसद्मा मिडिया काउन्सिल विधेयक, सामाजिक सञ्जाल सञ्चालन तथा नियमन विधेयक, सूचना प्रविधि ऐनलगायत विभिन्न सञ्चारसम्बन्धी विधेयकहरू समितिहरूमा छलफलमा थिए । तर, अकस्मात भएको जेनजी विद्रोह र त्यसपछिको राजनीतिक परिवर्तनले संघीय संसद् नै विघटन भयो ।
त्यसपछि बनेको अन्तरिम सरकारले ल्याएको छापाखाना तथा प्रकाशनसम्बन्धी नियमावलीका कतिपय प्रावधान प्रेस स्वतन्त्रतामा असर पार्ने खालका देखिएका छन् । समग्रमा यो वर्ष प्रेस स्वतन्त्रता उल्लंघनका घटना वृद्धि हुनुका साथै कानुन र नीतिगत सुधारमा निष्क्रियता देखियो । पत्रकारविरुद्ध भएका अपराधमा दण्डहीनता, सञ्चारमाध्यमको आर्थिक अवस्थामा गिरावट, पत्रकारको पेसागत र भौतिक सुरक्षामा जोखिम जस्ता कारणले प्रेस स्वतन्त्रता झनै चुनौतीपूर्ण बन्दै गएको महासंघको ठहर छ ।
अतः सञ्चार क्षेत्रको आर्थिक संकट समाधान, पत्रकार पलायन, निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन तथा सूचनामा लगाइएको रोक, सामाजिक सञ्जालमा बढ्दो मिथ्या सूचनाको प्रतिरक्षा गर्नु महासंघका सामु चुनौती छन् । २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा नयाँ सरकार गठन भएको छ ।
तर, यो सरकारले पनि संविधानमा भएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, जनताको मौलिक हकको प्रत्याभूति र लोकतान्त्रिक संस्कृतिको सरक्षण गर्छ भन्नेमा महासंघ सशंकित छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासंघ सम्पूर्ण सञ्चाकर्मी, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूमा पुन एक पटक शुभकामना व्यक्त गर्दछ ।
तसर्थ प्रेस स्वतन्त्रता पेचिलो बन्दै गएको अहिलेको अवस्थमा मुलुकका विभिन्न पेसागत संगठन र नागरिक अगुवाहरूसँग अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि महासंघ ऐक्यवद्धताको अपेक्षा गर्दछ ।











प्रतिक्रिया