सकल दर्जाको मनोबल र जनताको विश्वास नै वास्तविक उपलब्धि


सशस्त्र प्रहरी बल नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल आफ्नो चार वर्षे कार्यकाल पूरा गरी आगामी हप्तादेखि अनिवार्य अवकाशमा जाँदै गर्दा, उहांको नेतृत्वको समग्र मूल्याङ्कन स्वाभाविक रूपमा चासोको विषय बनेको छ । सीमाना सुरक्षा सुदृढीकरण, विपद् व्यवस्थापनमा सक्रियता र संगठनात्मक सुधारका पहलमार्फत उहांले संस्थालाई गतिशील बनाउने प्रयास गर्नुभएको थियो । तर भदौ २३ र २४ मा देखिएका कार्यगत कमजोरी, समन्वय अभाव र निर्णय प्रक्रियामा देखिएको ढिलासुस्तीले केही प्रश्नसमेत उठाएका छन् । यिनै उपलब्धि र चुनौतीबीच केन्द्रित रहेर नेपाल समाचारपत्रका लागि दीपक रिजालले गरेको कुराकानीको सारसंक्षेप ।

तपाईंको चार वर्षे कार्यकाललाई छोटकरीमा कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
मेरो मुल्यांकन मैले भन्दा पनि संगठनका सकल दर्जा र आम नागरिकले गर्ने हो । तर म बाट नै यो प्रश्नको जवाफ खोज्नु हुन्छ, भने संगठनको हित, आम नेपाली जनता र मुलुकको शान्ति सुरक्षा कामय गर्ने कार्यमा राम्रै काम गरे जस्तो लाग्छ । संगठनमा जवानलाई पीडा हुँदा संगठन प्रमुखलाई दुख्छ र संगठन प्रमुखलाई दुःख पर्दा त्यसमा सबै सकल दर्जाको मन दुख्छ । संगठनमा सामूहिक भावना र आत्मयिताको विकास भएको छ ।

तपाईंको नेतृत्वमा सशस्त्र प्रहरी बलले हासिल गरेको सबैभन्दा ठूलो उपलब्धि के के हुन ?
हरेक नेतृत्वबाट संगठनले केही न केही उपलब्धी प्राप्त गरेको छ । यसमा सबैको उत्तिकै अपनत्व रहन्छ र रहनुपर्छ । उपलब्धी मैले भन्नु भन्दा पनि सकल दर्जाले महशुस गर्ने कुरा हो । सकल दर्जाको मनोवल बृद्धि र सकारात्मकताका कारणले सशस्त्र प्रहरी बल नेपालको छविमा आएको नागरिकको विश्वास र भरलाई मैले उपलब्धिको रुपमा लिएको छु ।

विषम् परिस्थितमा जन्मिएर संगठन प्रमुखसहित सयौं बहादुर राष्ट्रसेवकले रगत बगाउँदै हुर्किएको सशस्त्र प्रहरी बलले मेरो कार्यकालमा रजत महोत्सव मनाउने अवसर पाउँदा र आम नागरिकले संगठनप्रति दर्शाएको माया, विश्वास, भरोसा नै उपलब्धी भन्ने ठानेको छु ।

हिमालको चिसो होस् वा तराईको गर्मी आज जहाँ सशस्त्र प्रहरी बल नेपालको सशक्त उपस्थिती छ, त्यहाँ आम जनता सुरक्षाप्रति ढुक्क हुन सकेका छन् भन्ने मेरो विश्वास छ । त्यही नै हामीले प्राप्त गरेको उपलब्धी हो ।

यस्तै बढुवाको लागि ऐनमा स्पष्ट पारदर्शीताको व्यवस्था गरिएको छ । यसलाई पनि महत्वपूर्ण उपलब्धिको रुपमा लिनुपर्ने हुन्छ । सरुवा प्रणाली व्यवस्थित गर्न पूर्वानूमान प्रणाली लागू गरिएको छ, जुन अन्य निकायमा पनि लागू गर्न सकेमा कर्मचारी सरुवाको गुनासो सवै हट्छन् ।

संगठन सुधारका लागि तपाईंले ल्याएका मुख्य नीतिगत परिवर्तनहरू के–के हुन् ?
हामीले संगठनको बृत्तिविकासका लागि सामूहिक भावनाले काम गर्यौ । हाम्रा आवश्यकता र श्रोत साधन बीचको दुरी घटाउँदै संगठनको नीतिगत र व्यावहारिक पक्षलाई पूर्ण आत्मसाथ गर्दै काम भएका छन् ।

नीतिगत सुधार र संस्थागत विकास
संगठनको कामकारबाहीलाई व्यवस्थित बनाउन १०९ वटा विभिन्न कार्यविधि, निर्देशिका, मापदण्ड, स्थायी आदेश र कार्ययोजनाहरू तयार गरी लागू गरिएको छ । सशस्त्र प्रहरी कर्मचारीहरूको वृत्तिविकासका लागि नयाँ संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्ष गरी पदोन्नति गरिएको छ । सशस्त्र प्रहरी कर्मचारीहरूको सरुवा,बढुवा र पदस्थापनालाई थप पारदर्शी र पुर्वानुमान योग्य बनाईएको छ ।

सीमा सुरक्षा र आन्तरिक सुरक्षा
सीमा सुरक्षालाई प्राथमिकता दिँदै सीमा सुरक्षा विभागको पुनस्थापना गरिएको छ । ३,७५७ वटा सीमा स्तम्भहरुको निर्माण, मर्मत संभार तथा रंगरोगन गरिएको छ । नेपाल–भारत सीमाका स्टिप म्याप १८२ थान समेत प्राप्त गरिएको छ । सीमा क्षेत्रमा ११० स्थानमा ३८८ वटा सीसी क्यामेरा जडान गरी निगरानी बढाइएको तथा ४५ वटा प्रस्तावित सीमा सुरक्षा गुल्मलाई स्तरोन्नति गरी स्थायी संरचनामा लगिएको छ ।

तालिम तथा क्षमता अभिवृद्धि
एक सिपाही एक सीप भएर घर जाने अवस्थाको शुरुवात गरिएको छ । सोही नीति अनुरूप २ हजार २ सय १९ जनाले विभिन्न सीपमूलक तालिम प्राप्त गरिसकेका छन् । विपद् व्यवस्थापनका लागि १ सय ३४ जना गोताखोर तयार गरी सबै प्रदेशहरूमा परिचालन गरिएको छ । प्रतिविद्रोह तथा प्रतिआतंकवाद सम्बन्धी विशिष्टीकृत तालिमहरू आफ्नै संगठनभित्र सञ्चालन गर्न थालिएको छ ।

विपद् व्यवस्थापन
देशभर ९ स्थानमा नयाँ विपद् व्यवस्थापन बेशहरू थप गरिएको छ । विपद् राहत कोषको स्थापना गरिएको छ ।

कल्याणकारी कार्यहरू
सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई बेडिङ्ग व्यवस्थापन तथा स्थायी यूनिटहरुमा शिशु स्याहार केन्द्र स्थापना गरिएको छ । वीरगति प्राप्त कर्मचारीका परिवार र अवकाशप्राप्त कर्मचारीहरूलाई परिचयपत्र वितरण सुरु गरिएको छ । कर्मचारीका अपाङ्गता भएका सन्ततिहरूलाई राहत भत्ता, आवास कर्जाको दायरामा वृद्धि गरिएको छ ।

सबै प्रदेशहरूमा ब्याण्ड टोलीको परिचालन गरिएको छ । नेपाल एपीएफ अस्पताललाई ११० शैयाबाट ३०० शैयामा विस्तार गर्ने प्रक्रिया अघि बढाई हाल २१८ शैया सञ्चालनमा ल्याइएको छ । अस्पतालमा डायलाइसिस, प्रसुती सेवा, र अनकोलोजी (क्यान्सर) युनिट जस्ता सेवाहरू थप गरिएको छ । ५६ स्थानमा अमर सशस्त्र प्रहरीका नाममा शिलालेख स्थापना गरिएको छ । तल्लो दर्जाका कर्मचारीहरूलाई लक्षित गरी आवास कर्जा र सामाजिक व्यवहार कर्जाहरूको सुरुवात गरिएको छ ।

आफ्नो कार्यकालमा भएका कमजोरी वा अपूर्णता के–के रहन पुगे भन्ने लाग्छ ?
कार्यकालमा अझ राम्रो गरौं भन्ने प्रत्येक नेतृत्वको चाहना हुन्छ तर त्यसमा संगठनको सिमितता र आवश्यकता वीचमा तारतम्य मिलाउँदै अघि बढ्नुपर्छ । आफूले सोचे जस्तो र गर्न खोजेको सबै पूरा गर्न साधनश्रोत र जनशक्तिको सिमितता छ । जाने बुझेसम्म कुनै कमजोरी भएजस्तो लाग्दैन । जहाँसम्म अपूर्णताको सवाल छ, त्यसमा पूर्णताको मापन कसरी गरिन्छ, भनेर भन्न सकिदैन । यति नै हुँदा पूर्णता हुन्छ भन्ने कुनै सिमाना छैन । मानिस होस् वा संगठन यसका असिमित चाहना हुन्छन् । ती सबै पूरा गर्न विभिन्न कारणले सम्भव पनि हुँदैन त्यसकारण मैले अपर्याप्त जनशक्ति, सिमित श्रोतसाधन बीच पनि कमिकमजोरी नगरिकन काम गरेजस्तो लाग्छ ।

गत बर्षको भदौ २३–२४ मा भएको जेन्जी आन्दोलनमा सशस्त्र प्रहरीको भूमिकामाथि उठेका प्रश्नलाई कसरी हेर्नुहुन्छ ?
प्रश्न उठ्नु र नागरिकले यस्तो भइदिएको भए हुन्थ्यो भन्ने चाहना राख्नु स्वाभाविक हो तर सुरक्षात्मक कारवाहीको पनि आफ्नै तौरतरिका हुन्छ । सो सन्दर्भमा सशस्त्र प्रहरी ऐनमा नै नेपालको कुनै भागमा भएको वा हुनसक्ने दंगा नियन्त्रण गर्ने भन्ने दफाले हामीलाई स्पष्ट म्याण्डेट दिएको छ ।

कुनै पनि आन्दोलनमा क्षतिको मूल्यांकन गर्दा जोगिएको जनधनको मूल्यांकन हुने दिन आउँदा हाम्रो भूमिकाको सान्दर्भिकता स्पष्ट हुने छ । सशस्त्र प्रहरी बल नेपाल सधैं गम्भिरताकासाथ व्यावसायिक हिसावले काम गर्दछ ।

यसको व्यावसायिकता हिजो थियो, आज छ र भोलि पनि रहिरहने छ । नेपालमा विगतमा पनि थुप्रै आन्दोलन भएका थिए । ती आन्दोलनमा कही न कही मानवीय र भौतिक क्षति भएका छन् । त्यसमा क्षति कम गर्दै नागरिक र भौतिक संरचना जोगाउने कार्यमा सुरक्षाकर्मी सधै नै तत्पर रहन्छन् । प्रश्न उठ्नु भन्दा पनि नीतिगत र व्यावहारिक भ्याकुम कहाँ–कहाँ छ भनेर खोज्नु र त्यसको समाधानतर्फ लाग्नु चाहीँ आजको मुख्य आवश्यकता हो ।

भदौ २३ र २४ को आन्दोलनमा पनि सशस्त्र प्रहरी बलले पूर्ण व्यावसायिक ढंगले आफ्नो कर्तव्य पूरा गरेको छ । यसमा हाम्रो भूमिका माथि प्रश्न भन्दा सुरक्षा संगठनको स्पष्ट परिचालन थप महत्वपूर्ण पाटो हो । यसलाई एउटा दुर्घटना वा भवितव्यको रुपमा लिएर भविष्यमा सिक्दै जानुपर्दछ । मानवीय जीवनको सवालमा सुरक्षा फौजले कदापी गल्ती गर्दैन र यदि कोही कसैले त्यस्तो गर्यो भने तत्काल कारवाही हुन्छ । यही क्षमताले नै हामीमाथि नागरिकको विश्वास रहँदै आएको छ ।

उक्त घटनाबाट संगठनले के सिक्यो र भविष्यमा यस्ता परिस्थितिमा के गर्नुपर्छ भन्ने सुझाव छ ?
हाम्रा केही नीतिगत कुरामा परिवर्तनको जरुरी छ । अर्धसैनिक बलको उपस्थिती र परिचालन कसरी गर्ने भन्नेमा थप स्पष्टता जरुरी छ । कुनै पनि घटनाबाट ज्ञान प्राप्त हुन्छ । त्यही ज्ञानले नै आगामी दिनको मार्गनिर्देशन गर्ने हो । हरेक घटना क्रमबाट केही न केही पाठ सिकिन्छ । विगतदेखि हेर्ने हो भने आज जनताको चाहना, आवश्कयता र आन्दोलनका प्रकृती फरक–फरक छन् । त्यसलाई बुझेर अघि बढ्न जरुरी छ । जबसम्म कुनै पनि सुरक्षा संगठनको परिचालन सम्बन्धमा स्पष्ट नीतिको अभाव रहन्छ तबसम्म त्यसबाट सोचेजस्तो परिणाम आउँदैन । नीतिगत स्पष्टताले व्यवहारिकतासम्म फरक पर्ने र सहजता ल्याउने हो । यति भन्दै गर्दा तपाईले पनि केही बुझ्नु नै भयो होला ।

कुनै पनि आन्दोनलाई व्यवस्थापन गर्न होस् वा शान्ति सुरक्षा कायम गर्न नेपालका चारवटै सुरक्षा निकाय आ–आफ्नो क्षेत्रमा अब्बल छन् । समन्वय र सहकार्य पनि उच्चस्तरको छ । वाहिरियाहरुले वेला वेलामा भ्रम फैलाउछन् त्यसको पछि जनता लाग्नु हुदैन, यो राष्ट्रिय सुरक्षाकालागि खतरा हुन सक्छ त्यसैले विगतदेखि भविष्यमा हुनसक्ने जुनसुकै प्रकारका आन्दोलनहरुमा एउटा मात्र होईन सबै सुरक्षा संगठन बीचको समन्वय र सहकार्य यस्तै प्रकारले अघि बढ्नुपर्छ ।

राजनीतिक दबाब र पेशागत जिम्मेवारीबीच सन्तुलन कसरी कायम गर्नुभयो ?
पेशागत व्यावसायिकता बलियो भयो भने राजनैतिक हस्तक्षेप गौण हुन्छ । नेतृत्वले गर्ने निर्णय पारदर्शी, न्यायसंगत र स्पष्ट छ भन्ने देखाउँदा दवाव आफैं निस्तेज हुने अनुभव भयो । जब नेतृत्व व्यक्तिगत नभई सामूहिक भावनाले चल्दछ र माया होइन न्यायले अघि बढ्छ भने त्यहाँ दवाव झेल्नु पर्दैन ।

आफ्ना कर्मचारीप्रति न्याय र आम जनताप्रति भरोषा कायम गरिन्छ भने व्यावसायिकता बढी र दवाव कम हुने हो । यसले सन्तुलित काम गर्न समस्या आउंदैन । पेशागत रुपमा आफ्ना जिम्मेवारी कुन ढंगले पुरा गरिन्छ भन्नेमा पनि भर पर्दछ । व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर संगठन र मुलुकको हित सोचेर अगाडी बढ्दा सन्तुलन कायम हुन्छ । त्यही सन्तुलन कायम गर्न सकेको मेरो आत्मविश्वास छ र यसलाई मेरो नेतृत्वमा रहँदा सकल दर्जाले राम्रोसँग बुझेको छ भन्ने दावी गरेको छु ।

सशस्त्र प्रहरी बलभित्र अनुशासन र मनोबल मजबुत बनाउन के कस्ता कदम चाल्नुभयो ?
यसमा तल्लो दर्जादेखि माथिल्लो दर्जाका कर्मचारीहरुको आवश्यकता र त्यसलाई समाधान गर्न विभिन्न ढंगले काम भएका छन् । सुरक्षाकर्मीसँग उच्च अनुशासन रहन्छ । कहिले काहीं एकाध व्यक्तिबाट हुने कमिकमजोरीलाई सिंगो संगठनसँग जोडेर हेर्न त्यति उपयुक्त हुँदैन । सकल दर्जाको बृत्तिविकास, कल्याणकारी कार्य,पिरमर्का र गुनासोको ठिक समयमा उचित समाधान हुने हो भने मनोवल उच्च हुन्छ । त्यसमा भएका प्रयास र कार्य यो वा त्यो भनेर थोरै पनि व्याख्या गर्न सक्ने अवस्था छैन । धैरै काम भएका छन् भन्ने मैले विश्वास लिएको छु । लामो समयसम्म रहेको बृत्तिविकासको विकराल समस्यालाई धेरै हदसम्म समाधान गरिएको छ । नीतिगत कुराहरुमा विशेष जोड दिएर सकल दर्जाले महशुस गर्ने गरी व्यावहारिक रुपमा नै त्यसलाई लागू गरिएको छ ।

हामीले मस्यौदा तयार पारेको ऐनले विल्लदार जावनको १६ वर्ष पेन्सन अवधि, सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा खुल्ला बढुवा नहुने लगायत अधिकृतको बृत्तिविकासको धेरै प्रावधानहरु राखिएको छ । आगामी संसदबाट यो ऐन आउँदा संगठन कानूनी रुपमा बलियो भई सबैको काम गर्ने मनोवल अझ बढ्दै जानेछ ।

जनतासँग सशस्त्र प्रहरीको सम्बन्ध सुधार्न तपाईंको प्रयास कत्तिको सफल भयो ?
जनतासँग सशस्त्र प्रहरी बल नेपालको सम्बन्ध सुमधुर भएको बुझ्न जरुरी छ । प्रकोप होस् वा सीमा सुरक्षामा सशस्त्र प्रहरीप्रति भरोषा गर्ने अवस्था श्रृजना भएको छ । जनताले खोजेको सुरक्षा र सेवा प्रदानमा कहींकतै सम्झौता गरिएको छैन । यसमा पनि म के भन्छु भने मेरो प्रयास सफल भयो,भएन भनेर आम जनताले महशुस गर्ने हो ।

सडक दुर्घटना, भूकम्प होस् वा सीमा सुरक्षामा भनांै जनताको दैनिक जनजिविकाको सवालमा हामीले प्रदान गरेको सेवा,सुरक्षा र प्रतिवद्धताले गर्दा हामी माथिको विश्वास जसरी बढेको छ त्यसलाई सफल भएको रुपमा मान्नु पर्दछ । यसैगरी विपद् जोखिम न्यूनिकरणका लागि आम जनतासँग सहकार्य गर्न संगठनले सामुदायिक विपद् स्वयंसेवक तयार गरेको छ । विपद् पूर्व प्राप्त हुने सूचनाले परिचालन, उद्धार र राहतमा प्रभावकारी काम गर्न सकियोस् भन्ने उद्देश्यले देशभरका ६ हजार ७ सय ४५ वडामा २५ जनाको दरले १ लाख ६८ हजार ५ सय ७५ जना विपद् सूचक तयार गरिएको छ ।

यो कार्य सम्बन्ध सुधार मात्र नभई जोखिमको समयमा सुरक्षा फौज र जनता सँगसँगै छन् भन्ने अब्बल उदाहरण पनि हो । सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम मार्फत सीमा क्षेत्रका वासिन्दाहरुलाई प्रत्यक्ष लाभ पुग्ने गरी विभिन्न सीमा मूलक तालिम प्रदान गर्नुकासाथै विपन्न र जेहेन्दार वालवालिकालाई निःशुल्क शिक्षा प्रदान गरिएको छ । स्थानीय निकायसँगको सहकार्यमा मात्र व्यवस्थित र सुरक्षित सीमा बनाउन सकिन्छ भन्ने उद्देश्यले सीमा क्षेत्रका वडा अध्यक्षहरुसँग निरन्तर छलफल गर्ने गरिएको छ । यसलाई पनि जनता र सशस्त्र प्रहरी बल बीचको समन्वय र सहकार्यमा महत्वपूर्ण प्रयासको रुपमा लिनुपर्ने हुन्छ ।

संगठनको मुख्य–मुख्य चुनौती के देख्नुभयो र अबको भविष्य कस्तो देख्नुहुन्छ ?
चुनौती हरेक संगठनमा हुन्छन् । त्यसलाई क्रमशस् समाधान गर्ने हो । हामीले बाच्ने आधार ईमान्दारिता र व्यावसायिकता हो । यसमा अडिग रहेसम्म भविष्य सुनौलो हुन्छ, गर्व हुन्छ । हाम्रा सामु चुनौती नभएको होइन तर ती चुनौतीका अप्ठ्यारा पहाड छिचोल्दै बहादुरीपूर्वक संगठन अघि बढिरहेको छ ।

विगतदेखि नै बृत्तिविकासमा देखिएको समस्या, श्रोतसाधनको सिमितता, पर्याप्त श्रोतसाधन भएमा हामीले दिनसक्ने सेवा आदिलाई चुनौतीका रुपमा हेर्नुपर्ने हुन्छ । हाम्रो जस्तो प्राकृतिक प्रकोप भइरहने र खुल्ला सीमाना समेत भएको मुलुकमा अर्धसैन्य बलको बलियो उपस्थिती र स्पष्ट परिचालनको नीतिले भविष्यमा यसको कामकारवाही थप प्रभावकारी रुपमा अघि बढ्ने देख्छु ।

आफ्नो उत्तराधिकारीलाई तपाईं के सन्देश दिन चाहनुहुन्छ ?
जहाज यात्राको तीन अवस्था हुन्छन् । उडान भर्नु, आकाशमा उड्नु र अवतरण गर्नु हो यस्तै नै संगठनमा पनि तीनै अवस्थामा सतर्कता आवश्यक छ । पाइलटले कुनै एउटा जहाज उडान रुटमा उडाउनु र अवतरण गर्ने स्थानसम्मको मौसम र यान्त्रिक अवस्थाको पूर्ण ज्ञान राखेर सतर्क हुनुपर्दछ ।

त्यो भन्दा बढि जहाजको यात्रुको सहजता र मनोभावनासँग परिचित हुनुपर्दछ । त्यसैगरी कुनै एउटा फौजी संगठनमा जुनियरलाई माया र सिनियरलाई सम्मान गर्ने सिद्धान्तलाई सधै पालना गर्नुपर्दछ । सबैको लक्ष्य संगठन सुधार, मुलुक र आम जनताप्रतिको उत्तरदायित्वमा अडिनु जरुरी छ । तसर्थ म बाँचेसम्म संगठनको हितको खातिर लागिरहने छु र मेरो अवकाश पछिको जीवन संगठन सुधारको उद्देश्य पुरा गर्न तथा नयाँ संगठन प्रमुखकलाई आवश्यकता परेको बेला सहयोग गर्न सधैँ तत्पर रहनेछु ।