वास्तविक आनन्दको स्रोत हामी आफैँ

940
Shares

यो संसारमा धेरै घटनाह घटित हुन्छन्– राम्रो पनि हुन्छ, खराब पनि हुन्छ । अनि, यो कुरा पनि हामीलाई राम्रोसँग थाहा छ– जे राम्रो हुन्छ, यदि त्यसबाट हामीलाई केही लाभ हुन्छ भने त्यसलाई हामी राम्रो ठान्छौँ । यदि केही यस्तो होओस्, जसबाट हामीलाई हानि हुन्छ भने त्यसलाई हामी खराब ठान्छौँ ।

वास्तविक राम्रो र नराम्रो कुरा के हो ? तपाईंलाई यो मानिसको शरीर प्राप्त भएको छ । तपाईं जीवित हुनुहुन्छ । यो राम्रो कुरा हो । कुनै परिस्थिति कस्तो हुन्छ भने– हुन सक्ला, त्यो तपाईंको इच्छा विपरीत हुन्छ । तथापि, त्यो परिस्थिति एउटै खालको रहिरहँदैन । एउटा समय थियो, त्यस्तो परिस्थिति थिएन । आज त्यो छ । भोलि हुन सक्ला त्यो, नहुन पनि सक्छ । फेरि नयाँ अवस्था सिर्जना हुन सक्छ । पुनः पुरानो अवस्था फर्कन पनि सक्छ । यो सारा कुरा त संसारमा भइरहन्छ नै । तर, हामीलाई यो जुन जीवन प्राप्त भएको छ, योभन्दा ठूलो कुरा अरू केही हुनै सक्दैन ।

कसैले हामीकहाँ आएर यस्तो कुरा ग¥यो भने हामी भन्नेछौँ, ‘हो, तपाईं ठीक भन्दै हुनुहुन्छ ।’ केही समयपछि त्यसको कुनै असर रहँदैन । भन्न त भनियो, ‘हो सबैभन्दा ठूलो कुरा यही हो । मेरो जन्म भएको छ । म जीवित छु तर त्यस कुराबाट खासै प्रभाव रहँदैन ।’ फेरि त्यही दुनियाँदारीको कुरा, त्यही चिन्ता, ‘अब के होला ? यो गर्नु छ, त्यो गर्नु छ ।’ यी सबै कुरामा मानिसको ध्यान गइरहन्छ ।

आज थाहा छैन, कति मानिसहरू यस्तो परिस्थितिलाई देखेर आत्तिएका हुँदा हुन् । तर, कसैले पनि यस्तो सोचिरहेका छैनन्– ‘म जीवित छु ।’ ठीक छ, यस्तो अवस्था छ । जे–जस्तो अवस्था होस् तर म जीवित छु । म जीवित भएका कारणले मैले केही गर्न सक्छु । एउटा त म आफ्नो सुरक्षा गर्न सक्छु किनभने म जीवित छु । अर्को कुरा, म आफ्नो जीवनमा आनन्द ल्याउन सक्छु । कोभिड–१९ जस्तो महामारीबाट म बच्न सक्छु अनि आफ्नो जीवनमा आनन्द प्राप्त गर्न पनि सक्छु । यो सम्भावना– ‘म आफ्नो जीवनमा आनन्दलाई प्राप्त गर्न सकूँ’ भन्ने कुरा त्यो महामारीभन्दा पहिला पनि थियो र त्यसपश्चात् पनि छ । जबसम्म तपाईं जीवित रहनुहुन्छ, तपाईंभित्र यो श्वास आइरहन्छ अनि गइरहेको हुन्छ तबसम्म यो सम्भावना रहिरहन्छ ।

यति राम्रो कुरा– ‘तपाईंभित्र यो श्वास आइरहेको छ अनि गइरहेको छ ।’ यो सन्देशलाई बुझ्न त बुझियो तर हाम्रो जीवनमा यसको कुनै प्रभाव त हुनुपर्छ नि ! तथापि, मानिसहरू आफ्नो समस्यामा नै तल्लीन भइरहन्छन् अनि यो श्वासको मूल्यलाई बुझ्नै सक्दैनन् ।

यदि तपाईंसँग समय छैन भन्ने लाग्छ भने तपाईंको जीवनमा यो समयको अर्थ के भयो ! जुन चीज अत्यावश्यक छ, जब तपाईंसँग त्यसैका लागि समय छैन भने तपाईंसँग समय होस् या नहोस्, त्यसको फाइदा नै के भयो र ! तपाईं जीवित हुनुहुन्छ, त्यसकारण तपाईंले आफ्नो जीवनमा निर्णय लिन सक्नुहुन्छ । तपाईंले के निर्णय लिनुभयो ? के तपाईं त्यो चीजलाई बुझ्नुहुन्छ ! यो हृदयलाई तपाईं आनन्दले, साँचो आनन्दले भर्नुहुन्छ या केवल धन कमाउन चाहनुहुन्छ !

तपाईंले धन कमाउनु हुँदैन भनेर म भनिरहेको छैन । तर, धनका बारेमा तपाईंले के कुरालाई बोध गर्नुपर्छ भने– चाहे तपाईं जतिसुकै धन कमाउनुहोस्, जतिसुकै भण्डारण गर्नुहोस् तर त्यसबाट एक पैसा, आधा पैसा पनि तपाईं आपूmसँग लिएर जान सक्नुहुन्न । तपाईं एउटै चीजलाई मात्र आफ्नो साथमा लिएर जान सक्नुहुन्छ र त्यो हो ‘आनन्द’ । मानिस आफ्नो जीवनमा त्यो आनन्दले भरिपूर्ण भएपछि उसको जिन्दगी बदलिनेछ । उसका लागि सबै कुरा सफल हुन्छ ।

जब उसले आफ्नो जीवनलाई हेर्छ अनि यो संसारलाई हेर्छ, त्यसपछि उसलाई लाग्छ– म कति भाग्यशाली छु । तब उसले कसैको नराम्रो होस् भन्ने चाहँदैन ।

यदि वास्तवमा संसारमा यस्तो भएको भए– ‘कसैले कसैको कुभलो नचाहोस्, सबै राम्रो होओस् । सबैको भलाइ होओस् ।’ केवल यस्तो भन्ने होइन– ‘मेरो साथीको राम्रो होओस् या यस्तो हुनै पर्छ, यसैमा मेरो फाइदा हुन्छ ।’ होइन, त्यो फाइदा जसमा सबैका लागि हित होओस् । त्यसो हुँदो हो त आज जुन गरिबीको समस्या छ, त्यो पनि समाप्त हुनेथियो ।

कैयौँ मानिसहरू दान गर्छन् । यदि दान नै गर्नु छ भने त्यस चीजको दान गर्नुहोस्, जसद्वारा साँच्चै हृदय प्रसन्न होओस् । सानो बालक छ । एक वर्षको छ या दुई वर्षको छ, उसलाई तीन–चार हजार रुपैयाँ दियौँ भने उसले त्यो रकमलाई के गर्छ ! केही गर्दैन । किनभने, उसलाई त्यो पैसा कुनै काम आउने वस्तु हो भन्ने नै लाग्दैन । उसलाई त माया चाहिएको हुन्छ । उसलाई आनन्द चाहिएको हुन्छ, जसबाट ऊ खुशी होओस् । यही कुरालाई हामी बिर्सन्छौँ । हामी आफ्नो जीवनमा त्यो प्रेमको, त्यो वास्तविकताको, त्यो आनन्दको एउटा स्रोत बन्न सक्छौँ । त्यो आनन्दको स्रोत बन्न सक्छौँ भन्नुभन्दा पनि वास्तवमा हामी त त्यसैको स्रोत हौँ । तर, हामी त्यो आनन्दको स्रोत हौँ भनेर सोच्दैनौँ ।

मानिसहरू छुवाछुतलाई मान्यता दिन्छन्, जातपातको भेदलाई हेर्छन् । म जातपातको अन्तरलाई तब मात्रै मान्छु, जब तल्लो जातिको मानिस गंगास्नानमा जाँदा ‘उसले आउन मिल्दैन’ भनेर गंगा नदीको गति नै रोकियोस् । जब गंगाले अस्वीकार गरिरहेकी छैनन् भने हामीहरू किन भेदभाव गरिरहेका छौँ ? जब मानिस नै मानिससँग रहन सक्दैन भने ऊ प्रकृतिका साथमा कसरी रहन सक्ला ! यदि ऊ प्रकृतिका साथमा रहन सक्दैन भने एउटा कुरा मानिसलाई थाहा हुनुपर्छ, सदैव यो कुराको हेक्का हुनुपर्छ– ‘प्रकृति मानिसभन्दा ठूलो छ ।’ जस्तोे कोरोना भाइरस जसलाई आँखाले देख्न सकिँदैन । त्यसका लागि त माइक्रोस्कोप (सूक्ष्मदर्शक यन्त्र) को आवश्यकता पर्छ । त्यो यति सूक्ष्म हुन्छ । त्यति धेरै सानो भाइरसले सारा संसारलाई नै आफ्नो नियन्त्रणमा राख्यो । किनभने, त्यो प्रकृति हो अनि त्यो मानिसभन्दा ठूलो छ ।

एउटा समयमा के आवश्यक थियो भने, मानिसले त्यो कुरा बुझ्न सकोस्, जुन बुझेर उसले आफ्नो जीवन सफल पार्न सकोस् । मानिसहरूको बुझाइ के थियो भने, यो मानिसको शरीर प्राप्त हुनुको तात्पर्य नै जीवन सफल पार्ने द्वार प्राप्त भएको हो । ठूला–ठूला विद्वान्हरूले त सुझाएका छन्– जे गर्नु छ, त्यसलाई हेरेर गर्नुहोस्, बुझेर गर्नुहोस् ।

यो धर्तीमा, यो जीवनमा हामीलाई यो समय प्राप्त भएको छ । के हामीले हाम्रो आफ्नो र अरूको जीवन पनि सुखमय बनोस् भनेर जीवन चलाएका छौँ ! वास्तवमा हामीले एक–अर्कोलाई ठेस नपु¥याऊँ । हामीले यस्तो गर्न थालेपछि त सबै समस्या सकिन्छ । मानिसहरू भन्ने गर्छन् नि– ‘शान्ति चाहियो, शान्ति चाहियो !’ कहिले भन्छन् भन्दा जब अशान्तिले उनीहरूलाई सताउन थाल्छ । त्यसभन्दा पहिला यदि कसैलाई ‘के तपाईंलाई शान्ति चाहिएको छ’ भन्यो भने उसले भन्नेछ– ‘चाहिँदैन ।’ तपाईं आपूmले आपूmलाई चाहे जतिसुकै बुद्धिमान् छु भनेर ठाने पनि या तपाईं जतिसुकै जानकार हुनुहोस्, यथार्थमा यो त तपाईंलाई सुनाइएको कुरा हो ।

सानो बच्चालाई नर्क के हो अर्थात् स्वर्ग के हो भनेर थाहै हुँदैन । सानो बच्चालाई शान्ति के हो, अशान्ति के हो भनेर पनि थाहा हुँदैन । उसलाई केही थाहा छैन । उसलाई ‘एक’ के हो भनेर थाहा हुँदैन । ‘एक’ के हो भनेर त तपाईंलाई पनि थाहा छैन । यदि थाहा नभएर तपाईंले कसैलाई सोध्ने कोशिश गरे पनि ‘एक’ के हो अर्थात् ‘दुई’ के हो भनेर बुझाउने व्यक्ति पाउनुहुन्न । त्यसका बारेमा तपाईंले सिक्नुपर्छ । जब–जब दिन बित्दै जान्छ, तब–तब बच्चाले सिकिरहेको हुन्छ ।

तपाईंलाई हितकारी कुरा के हो, अहितको कुरा कुन हो, कुन कुरा गरेमा तपाईंको भलो हुन्छ ? भन्ने कुराका बारेमा थाहा हुनु अत्यावश्यक छ । वास्तवमा यो जीवन त एउटा सङ्घर्ष हो । हरेक दिन केही न केही गर्नुपर्छ । यो जीवन त लडाइँजस्तै भएको छ । लडाइँजस्तै– कुनै दिन हार हुन्छ भने कुनै दिन अलिकति जित हासिल हुन्छ ।

यो जीवनमा यदि यो लडाइँ चलिरहेको छ भने सबैभन्दा पहिला कुन चीजलाई जित्नु आवश्यक छ ! किनभने, तपाईं त आफ्ना समस्याहरूमाथि विजय हासिल गर्न चाहनुहुन्छ । एकातिर तपाईं हुनुहुन्छ अनि अर्कातिर तपाईंका समस्याहरू छन् । सबैभन्दा पहिला कसको जित हुनुपर्छ ! कसमाथि जित हासिल हुनुपर्छ ! किनभने, यदि तपाईंले आपूmले आपूmलाई नै जित्नुभएको छैन भने त तपाईंले कुनै पनि चीजमा जित हासिल गर्न सक्नुहुन्न । ‘मैले जित हासिल गरेँ’ भन्ने लागे पनि जित्न सक्नुहुन्न । त्यो तपाईंको जित होइन, किनभने तपाईं त स्वयं नै हार्नुभएको छ । यसर्थ यस जीवनमा सबैभन्दा पहिला जित हासिल गर्नुपर्छ भने आफूले आफूमाथि नै जित हासिल गर्नुपर्छ । यदि आफूमाथि जित हासिल भएन भने कुनै चीजमाथि तपाईंले जित हासिल गर्न सक्नुहुन्न । समस्याहरू आइरहन्छन् अनि तपाईं त्यससँग लडिरहनुहुन्छ र समस्यासँग लड्दा–लड्दै एकदिन तपाईं यो संसारबाटै बिदा हुनुहुन्छ ।

यो शरीर पनि तपाईंको आफ्नो रहनेछैन । यसको अर्थ तपाईंसँग ‘यो मेरो हो’ भन्ने कुनै चीज नै हुँदैन । यदि आपूmमाथि जित हासिल गर्नुभएन भने यो शरीरबाट तपाईंले गर्न चाहनुभएको कुरा पूरा हुन सक्दैन ।

जीवनको महाभारतबाट कसले मुक्ति दिलाउँछ ? किनभने, महाभारत त भइरहेको छ अनि हरेक दिन भइरहेको हुन्छ । बिहानदेखि बेलुकासम्म । जुन चीजले तपाईंलाई दिनभरि सताइरहेको हुन्छ, त्यसै कुराले तपाईंलाई रातमा पनि दुःख दिन्छ । त्यसैले राति पनि ब्युँझाउँछ, त्यसैले दुःखी तुल्याउँछ । यदि यो जीवन र तपाईंले प्राप्त गर्नुभएको कुरासँग प्रेम छैन भने कुनै पनि चीज प्राप्त हुनुको सार्थकता बाँकी रहँदैन । कुनै पनि चीज हुनुको अर्थ रहँदैन । यसका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, हामीले हाम्रो जीवनको लक्ष्यलाई बिर्सनुहुँदैन ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता डा. प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण ः डा. प्रेमराज ढुङ्गेल । थप जानकारीका लागि www.premrawat.com)