
पत्थर पनि पगाली यहाँ पिरती लाइन्छ,
नौलाख तारा जडेको गीत यही देशभित्र छ ।
–गीतकार ध्रुवकृष्ण दीप
स्मृतिको आँखीझ्यालमा समयको प्रवाहले धेरै वसन्तहरूलाई पछिल्तिर धकेलिसक्यो । तर मङ्गलबजारको त्यो साँघुरो ममरू गल्ली र त्यहाँको सानो कोठामा बिताएका ती पलहरू आज पनि मेरो मानसपटलमा ताजै छन् । संस्कृतिविद्, कवि एवं बालसाहित्यकार ध्रुवकृष्ण दीपसँगको त्यो आत्मीय भलाकुसारी संवाद, ज्ञान र बात्सल्यको एउटा अनौठो सङ्गम थियो ।
उहाँसँगको तस्वीर देखेर आज फेरि त्यही कोठाको न्यानोपन र उहाँको सौम्य उपस्थितिको याद दिलाएको छ ।
साहित्यका अथाह सागर उहाँका शब्दहरू र संस्कृतिका पत्र–पत्र केलाउने उहाँको त्यो जाँगर साथै बालसुलभ लेखनका मीठा–मीठा शब्द–कोसेली लेख्न सिपालु उहाँको सीप सम्झिँदा भौतिक रूपमा हामीमाझ नरहे पनि आफ्ना कालजयी सिर्जना र स्नेहका माध्यमबाट उहाँ सधैँ बाँचिरहनुभएको छ । गल्लीका मोडहरू फेरिए होलान्, समयको रङ्ग धमिलियो होला, तर उहाँसँगको त्यो सामीप्य र बौद्धिक सुगन्ध मेरो हृदयको भित्तामा एउटा अमूल्य नासो बनेर सुरक्षित रहिरहेकोे छ ।
कहिलेकाहीँ म केही दिन ढिला गरेर उहाँकहाँ पुग्थेँ । त्यतिखेर उहाँ अलिकति चित्त दुखाउनुहुन्थ्यो । अनुहार निन्याउरो पारेर, हल्का गुनासो मिसिएको स्वरमा भन्नुहुन्थ्यो– ‘ज्ञानू, मकहाँ आउनलाई सधैँ ढोका खुल्ला छ । यता आउने बाटो नबिर्सनु ।’ त्यो गुनासोमा रिस थिएन, बरु माया थियो– एक प्रकारको आत्मीय अपेक्षा ।
‘केही त खाएर जानुहोस्’ भन्ने उहाँको प्रेमपूर्ण आग्रह पनि कति अर्थपूर्ण हुन्थ्यो ! त्यो भोजनको निम्तो हुँदैनथ्यो । त्यसमा कविताका केही टुक्राहरू मिसिएका हुन्थे, संवादका सुसेलीहरू हुन्थे । कहिले उहाँ आफ्नै लेखका पङ्क्ति सुनाउनुहुन्थ्यो, कहिले नयाँ लेखका योजना बताउनुहुन्थ्यो ।
त्यसै बीच पत्रिकाका कुरा पनि आउँथे– सम्पादकहरूको व्यवहार, प्रकाशकहरूको प्रवृत्ति र राज्यसत्ताले साहित्यकारप्रति देखाएको उपेक्षाको प्रसङ्ग । उहाँ ती विषयहरूमा बोल्दा गम्भीर हुनुहुन्थ्यो, तर कटूता थिएन । बरु एउटा सर्जकको पीडा र सचेत दृष्टिकोण मात्र हुन्थ्यो ।
स्मृतिहरू कहिलेकाहीँ उकुसमुकुस साँघुरो गल्लीबाट फुत्त निस्केर फेरि हिँड्न थालेझैँ लाग्छन् । ध्रुवकृष्ण दीपसँगको मेरो चिनाजानी पनि यस्तै एउटा गल्लीबाट शुरु भएको थियो– पाटनको ऐतिहासिक मठमन्दिर, पाटीपौवा, डबलीको वातावरणले भरिएको ठाउँमा ।
लाग्थ्यो– त्यो एउटा सानो साहित्यिक संसार हो । काठका भ¥याङ चढेर माथिल्लो तलामा पुग्दा प्रायः उहाँ लेखपढमै तल्लीन भेटिनुहुन्थ्यो । टेबलमा कागजका थुप्रा, पत्रपत्रिकाका पानाहरू, कतै लेख्दै गरेको हस्तलिपि । त्यसै बीच उहाँको सरल मुस्कानयुक्त मायालु अनुहारसँग जम्काभेट हुन्थ्यो ।
म पुग्नेबित्तिकै उहाँको अनुहार उज्यालो हुन्थ्यो । ‘आउनुभयो !’ भन्दै उहाँ खुशीले रमाउँदै के भनूँ र के खुवाऊँ भन्ने हतारोमा लाग्नुहुन्थ्यो । त्यो आत्मीयता औपचारिक आतिथ्य होइन, त्यो त एकजना सर्जकले अर्को सर्जकलाई दिएको स्नेहपूर्ण स्वागत थियो ।
उहाँ विगत खोतल्नुहुन्यो– ‘२०१७ सालतिर मैले कवि भूपी शेरचनसँग मिलेर ‘संगम’ नामको एउटा पत्रिका निकालेँ । त्यसमा नेपाली, अंग्रेजी र नेपाल भाषाका रचनाहरू समेटिएका थिए ।’
त्यो कुरा सुनाउँदा उहाँको अनुहारमा एउटा अलग्ग चमक देखिन्थ्यो । मानौँ, त्यो पत्रिका प्रकाशनको कुरा विविध भाषाको साहित्यलाई एउटै धारामा जोड्ने सांस्कृतिक सेतु निर्माणको उत्साह थियो । त्यो दिन उहाँका ती कथाहरू सुन्दा मैले महसुस गरेको थिएँ– साहित्यकारहरूको जीवन अक्षर लेख्ने काम मात्र होइन, त्यो त संघर्ष, विश्वास र समर्पणको लामो यात्रा पनि हो ।
त्यो सानो कोठाभित्र भएका ती संवादहरू जीवित साहित्यिक मञ्च थिए, जहाँ अनुभवहरू बोल्थे, संवेदनाहरू बाँडिन्थे । जीवनका अनेक पाटाहरू खुल्दै जान्थे ।
आज ती सबै दृश्यहरू स्मृतिमा बाँकी छन् । उहाँको निन्याउरो अनुहार, उहाँको माया मिसिएको गुनासो, उहाँको ‘बसौँ न’ भन्ने आग्रह– सबै कुरा समयको दूरीमा हराउँदै गएका छन्, तर मनबाट मेटिएका छैनन् ।
ध्रुवकृष्ण दीप पनि आज यही रूपमा मेरो मनमा जीवित हुनुहुन्छ– कहिले गुनासो गर्दै, कहिले मुस्कुराउँदै, कहिले कविताका टुक्रा सुनाउँदै, अनि कहिले ‘एकछिन बसौँ न’ भनेर मृदु मुस्कानले बोल्दै । शायद यही हो साँचो स्मरण, जहाँ अनुपस्थित व्यक्ति पनि उपस्थित भएजस्तै लाग्छ ।
समय कति चञ्चल हुन्छ ! एकदिन यस्तै लाग्थ्यो– उहाँसँग अझै धेरै भेटहरू हुनेछन्, अझै धेरै साहित्यिक कुरा हुनेछन्, अझै धेरै हाँसो र संवादहरू बाँडिनेछन् । तर जीवनले अचानक आफ्नो नियम देखायो ।
उहाँ बी एन्ड बी अस्पतालको आईसीयु कोठाभित्र हुनुहुन्थ्यो । सिसाको त्यो पर्खालले कोठा मात्र छुट्याएको थिएन, मानौँ जीवन र मृत्युबिचको सीमारेखा पनि त्यहीँ कोरिदिएको थियो । उहाँले हामीलाई हेर्नुभयो । त्यो दृष्टिमा धेरै कुरा थियो– बोल्न नसकिने पीडा, बाँच्छु कि भन्ने आशा, अनि जीवनप्रतिको अदम्य मोह । तर शब्दहरू थिएनन् । आवाज हराइसकेको थियो । मात्र आँखाले धेरै कुरा बोलिरहेको जस्तै लाग्थ्यो । २०६३ साल वैशाख ११, सोमबारको त्यसदिन उहाँले यस संसारबाट सदाका निम्ति बिदा लिनुभयो ।
मानिसलाई बाँच्ने कति धोको हुन्छ ! जीवनका कति सपना हुन्छन् ! कति योजनाका चाङ हुन्छन् । उहाँका पनि कैयौँ योजना थिए, कैयौँ चाहनाहरू थिए– साहित्य, संस्कृति, समाजका । तर रोगले शरीरलाई थिचेपछि ती सबै सपना एकाएक अधुरा रहन पुगे । अन्ततः जीवनको अन्तिम ढुकढुकीले थाकेर विश्राम लियो ।
तर के साँच्चै उहाँ जानुभयो त ? कहिलेकाहीँ लाग्छ– उहाँ शारीरिक रूपमा मात्र टाढा हुनुभएको हो । उहाँका विचारहरू, उहाँका लेखहरू, उहाँका कृतिहरू अझै पनि हामीसँगै छन् । लेखकहरू शायद त्यसैले अमर हुन्छन् । किनकि उनीहरू आफ्नो जीवन अक्षरमा छोडेर जान्छन् ।
आज यस्ता बहुआयामिक र आत्मीय साहित्यकार हाम्रो बीचमा हुनुहुन्न । समयले उहाँलाई हामीबाट टाढा लगिसकेको छ । तर उहाँको सम्झना भने बारम्बार मनमा आइरहन्छ– कहिले पाटनका पुराना गल्लीहरू सम्झँदा, कहिले उहाँको हस्ताक्षरमा लेखिएको स्नेहपूर्ण वाक्य पढ्दा र कहिले उहाँका कृतिहरू पल्टाउँदा ।
साँचो अर्थमा भन्नुपर्दा, ध्रुवकृष्ण दीपको अनुपस्थिति एउटा व्यक्तिको अभाव होइन, त्यो एउटा सिर्जनशील युगको स्मृति हो । तर उहाँका लेख, विचार र उहाँले छोडेर जानुभएका साहित्यिक, सांस्कृतिक चिनारीहरू आज पनि जीवित छन् । ती अक्षरहरूकै उज्यालोमा म उहाँलाई आदरका साथ, ममताका साथ र कृतज्ञताका साथ सम्झिरहन्छु ।











प्रतिक्रिया