काठमाडौँ ।
मन्त्रिपरिषद् बैठकको सिफारिसबमोजिम बैशाख १७ गतेबाट आह्वान गरिएको संघीय संसद्को अधिवेशन स्थगन भएको छ । मन्त्रिपरिषद् सचिवालय स्रोतका अनुसार संसद अधिवेशन सुरु हुनु अगावै जारी गर्न खोजिएका अध्यादेशमा बाधा पुग्ने कारण देखाउँदै मन्त्रिपरिषद्ले अधिवेशन स्थगनको सिफारिस गरेको हो ।
राष्ट्रपति कार्यालय, शीतल निवासले पनि विज्ञप्ति जारी गर्दै ‘विशेष कारणवश’ संसद् अधिवेशन स्थगन गरिएको जनाएको छ । प्रधानमन्त्रीको सचिवालयले राष्ट्रपति कार्यालयसँगको परामर्शपछि उक्त निर्णयमा सहमति बनेको स्रोतले जनाएको छ । स्रोतका अनुसार बैशाख महिनाको अन्तिम साता पुनः संसद बैठक आह्वान गर्ने तयारीसहित हालका लागि अधिवेशन स्थगन गरिएको हो ।
सरकारले केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२ सहित अन्य कानुन संशोधनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहेको बताइएको छ । ती अध्यादेशहरू संसद् अधिवेशन चलिरहेको अवस्थामा ल्याउन कानुनी तथा प्रक्रियागत चुनौती हुने भएकाले सरकार तत्काल अधिवेशन स्थगनतर्फ गएको बुझिएको छ ।
यद्यपि, कुन–कुन विषयमा अध्यादेश ल्याउने तयारी भइरहेको हो भन्नेबारे मन्त्रिपरिषद् सचिवालयले औपचारिक रूपमा केही खुलाएको छैन । आगामी दिनमा नयाँ मितिमा संसद् अधिवेशन आह्वान हुने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया