धादिङ ।
नीलकण्ठ नगरपालिका–१० का वडा सदस्य हिम बहादुर पाठकलाई जातीय छुवाछुत गरेको कसुरमा जिल्ला अदालत धादिङले १८ महिना कैद तथा एक लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ ।
कुलोपानीको निहुँमा खेतमा पानी लगाउने क्रममा विवाद भएपछि सोही स्थानका ३६ वर्षीय रामबहदुर बिसुंखेलाई जातीय आधारमा विभेदपूर्ण शब्द प्रयोग गर्दै २०८२ असार १९ गते धम्की दिएको आरोपमा पीडितले भदौ १ गते जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दिनुभएको थियो ।
उक्त मुद्दा भदौ १९ गते जिल्ला अदालतमा दर्ता भएको थियो । त्यसको भोलिपल्ट भदौ २० गते अदालतले आरोपित वडा सदस्यलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । जिल्ला न्यायाधीश मनकुमारी जिएम बिकेको इजलासले जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसूर र सजाय) ऐन, २०६८ को दफा ३ र ४ अनुसार ‘जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव गर्न नहुने’ कानुनी प्रावधान उल्लंघन भएको ठहर गर्दै एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको हो ।
साथै, सार्वजनिक पद धारण गरेको व्यक्तिले यस्तो कसुर गरेको भन्दै थप ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना थप गरिएको छ । यससँगै कुल १८ महिना कैद सजाय निर्धारण गरिएको हो । अदालतले दोषीबाट एक लाख रुपैयाँ पीडितलाई क्षतिपूर्तिसमेत दिलाउने आदेश दिएको जिल्ला अदालतका श्रेस्तेदार राजेन्द्र लुइटेलले जानकारी दिनुभयो ।











प्रतिक्रिया