काठमाडौं ।
नेपालमा आधुनिक न्युरो सर्जरी सेवाको जग बसाल्ने अग्रणी चिकित्सक प्राडा. दिनेशनाथ गंगोलको ९२ वर्षको उमेरमा मंगलवार बिहान आफ्नै निवासमा निधन भएको छ ।
उहाँको निधनसँगै नेपालको न्युरो सर्जरी चिकित्सा क्षेत्रमा अपुरणीय क्षति भएको चिकित्सकहरू बताउँछन् । वरिष्ठ न्युरोसर्जन डा. प्रकाश विष्टले प्राडा गंगोलको निधनले नेपाली चिकित्सा क्षेत्रले आफ्नो एक मार्गदर्शक गुमाएको बताउनुभयो ।
प्राडा. गंगोललाई नेपालमा पहिलोपटक न्युरो सर्जरी सुरु गर्ने चिकित्सकका रूपमा मात्र होइन, जटिल शल्यक्रियालाई देशभित्रै सम्भव बनाउने अग्रदूतका रूपमा सम्झिने गरिन्छ । उहाँले आफ्नो सेवा अवधिभरि पिट्युटरी ट्युमर, स्पाइनल इन्जुरीका लागि ल्यामिनेक्टोमी, फोक्सोको न्युमोनेक्टोमी, मुटुको माइट्रल भाल्भोटोमी लगायतका जटिल शल्यक्रिया नेपालमै पहिलोपटक सफलतापूर्वक सम्पन्न गर्नुभएको थियो ।
नेपालमा आधुनिक शल्यचिकित्साको प्रारम्भिक चरण अत्यन्तै चुनौतीपूर्ण थियो । उपकरण, दक्ष जनशक्ति र पूर्वाधारको अभावका बीच प्रा.डा. गंगोलले सन् १९६० को दशकतिर वीर अस्पतालमा पहिलोपटक मस्तिष्कको शल्यक्रिया गरेर इतिहास रच्नुभएको थियो । त्यसपछि उहाले मुटु, फोक्सो र पेटसम्बन्धी जटिल शल्यक्रियामा समेत अग्रणी भूमिका निर्वाह गर्नुभएको थियो । उहाँकै नेतृत्वमा नेपालमा कार्डियोथोरासिक तथा भास्कुलर सर्जरी (सीटीभीएस) सेवासमेत सुरु भएको थियो, जसले देशको स्वास्थ्य प्रणालीमा नयाँ आयाम थपिएको वीर अस्पतालका चिकित्सकहरू बताउँछन् ।
वीर अस्पतालमा करिब चार दशक सेवा दिनुभएका उहाँले आफ्नो जीवनकालमा ४० हजारभन्दा बढीको शल्यक्रिया गर्नुभएको थियो । जुन आफैंमा एउटा अभूतपूर्व कीर्तिमान हो । प्रा.डा. गंगोल चिकित्सकमात्र नभई एक संस्थापक र मार्गनिर्देशक पनि हुनुहुन्थ्यो । उहाँले चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को स्थापना र विकासमा नेतृत्वदायी भूमिका खेल्नुभएको थियो ।
नेपालमा विशेषज्ञ चिकित्सक उत्पादन गर्ने आधार तयार गर्न पनि उहाँको योगदान महत्वपूर्ण छ । आज देशभर फैलिएको न्युरोसर्जरी सेवा र विशेषज्ञ चिकित्सकहरूको पुस्ता उहाँकै मार्गदर्शनको निरन्तरता मानिन्छ ।
काठमाडौंमा जन्मिएका गंगोलको पुख्र्यौली घर पाल्पाको तानसेन हो । जुद्धोदय स्कुलबाट प्रारम्भिक शिक्षा हासिल गर्नुभएका उहाँले त्रिचन्द्र कलेजबाट आईएस्सी र बीएस्सी अध्ययन पूरा गर्नुभएको थियो । त्यसपछि भारतको दरभंगा मेडिकल कलेजबाट एमबीबीएस तथा मुम्बईको ग्रान्ट मेडिकल कलेजबाट एमएस गर्नुभएको थियो । विदेशमा सिकेको सीप र ज्ञानलाई स्वदेशमा प्रयोग गर्ने उहाँको दृढ संकल्पले नेपालमै जटिल उपचार सम्भव बनायो ।
उहाँको पार्थिव शरीरमा मंगलवारै श्रद्धाञ्जली गर्नुका साथै दाहसंस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।











प्रतिक्रिया