२०८३ को क्षितिज : सद्भाव र सन्तुष्टिको आयाम

1.22k
Shares

समयको रथ फेरि एकपटक नयाँ मोडमा आइपुगेको छ । भित्ताका पात्रोहरू फेरिएका छन्, तर तीभन्दा बढी मानिसका आकाङ्क्षा र सपनाहरू फेरिने तरखरमा छन् । वि.सं. २०८३ सालको यो पावन सँघारमा उभिएर म कामना गर्छु– यो वर्ष अङ्कहरूको परिवर्तन नभई मानवीय संवेदना र आत्मिक शान्तिको एउटा नयाँ युग बनोस् । सद्भावको सुवास र खुलेको आकाश सधैँ देख्न पाइयोस् ।

नयाँ वर्ष यस्तो होस्, जहाँ कसैको बोलीमा विष नघोलियोस् । शब्दहरूले कसैको मनलाई घोचपेच गर्ने होइन, घाउमा मलम लगाउने सामथ्र्य राखून् । हरेकको आँखामा अर्काका लागि ईष्र्या होइन, माया र ममताको एउटा कञ्चन प्रतिविम्ब देखियोस् । ओठमा मीठो मृदु मुस्कानले सधैँ बास गरिरहोस् । बाहिरको मौसम जसरी खुलेको र घमाइलो हुन्छ, मानिसको मन पनि त्यसरी नै सधैँ हाँसिरहेको देख्न पाइयोस् । ओठमा कृत्रिम मुस्कान होइन, हृदयदेखि फुटेको सन्तोषको लाली सधैँ नाचिरहोस् ।
हाम्रा पाइलाहरू जहाँ पुगुन्, त्यहाँ ‘शुभ यात्रा’ को आशिष गुन्जिरहोस् । यात्रा बाटो काट्नु मात्र नभएर नयाँ अनुभूतिहरूको माला उन्नु बनोस् । जब हामी साँझमा घर फर्किन्छौँ, तब गन्तव्यले हामीलाई रित्तो हात होइन, अनेकौँ सुखद स्मृतिका उपहारहरू प्रदान गरोस् । ‘शुभ यात्रा’ ले ‘शुभ लाभ’ हात पारोस् ।

दिनभरिका कर्महरूको लेखाजोखा गर्दै ‘शुभ रात्रि’ भन्नुअघि मनमा कतै आत्मग्लानि नहोस् । सिरानीमा टाउको राख्दा एउटा निस्फिक्री आनन्द होस् र सपनाहरू पनि बिहानीको शीतजस्तै मीठा र शीतल होऊन् । फेरि भोलिपल्ट जब सूर्यको सुनौलो किरणसँगै ‘शुभ बिहानी’ हुन्छ, तब हरेक पाइलाले खुशी र सन्तुष्टिलाई न्यानो अँगालो हाल्न पाओस् ।

चाहनाको सीमा र कर्मको अठोटले मन दृढ रहिरहोस् । कसैको दोष, कसैको लोभ र कसैका घृणाले मन भत्भती नपोलोस् । मन कहिल्यै नपिरोलियोस् । बरु शान्त, सुखद र समुन्नत भावना सँगालेर अरूको ‘आँखाको कसिङ्गर’ होइन, ‘आँखाको नानी’ बन्न सकियोस् ।

मानवीय स्वभाव हो– चाहनाका चाङहरू थुप्रिनु । तर मेरो कामना छ, ती चाहनाहरूले माकुराको जालो बनेर हाम्रो जीवनलाई अल्झाउने काम नगरून् । ती चाहनाहरू स्पष्ट र साकार होऊन् । हिँड्दाहिँड्दै बाटोमा अलमल्याउने र अवरोध गर्नेहरू हुन सक्छन् तर गन्तव्य बिर्साउने होइन, थप सचेत भएर लक्ष्यमा पुग्ने ध्याउन्न सिकाओस् ।

मेरा आँखाले प्रकृतिको सुन्दरता र सत्यलाई अघाउन्जेल हेर्न सकून् । मनले अनन्त आकाशझैँ विशाल भएर सोच्न पाओस् । विशेष गरी, एउटा सर्जक र पाठकको नाताले मेरो पढ्ने मुड र लेख्ने मनमा कहिल्यै ‘अल्छी’ को ग्रहण नलागोस् । सिर्जनाका ढोकाहरू सधैँ खुला रहून् र ओछ्यानमा ‘सुतेर’ होइन, कर्मक्षेत्रमा ‘डटेर’ समय बितोस् ।

नयाँ वर्ष २०८३ को आगमनलाई एउटा उत्सवका रूपमा स्वागत गरौँ । मनभित्रका पवित्र र कल्याणकारी भावनाहरूलाई कलात्मक र भावपूर्ण शैलीमा प्रस्तुत गराँै । त्यही प्रस्तुतिले जीवन बुझ्न र बुझाउन पर्याप्त होस् ।
समयको प्रवाहसँगै क्षितिजमा २०८३ सालको नयाँ घाम झुल्किएको छ । यो एउटा अङ्कको परिवर्तन होइन, हाम्रा नयाँ आशा, नयाँ उमङ्ग र नयाँ सङ्कल्पहरूको पुनर्जन्म हो । यस पावन अवसरमा हृदयको गहिराइदेखि नै नयाँ वर्ष २०८३ साललाई हार्दिक स्वागत गरौँ‘ । सन्तुष्टि र समृद्धिको प्रार्थना गरौँ ।

हाम्रा हातहरूले भौतिक वस्तु मात्र नसमातुन् । ती कर्ममा लीन होऊन्, जसले हृदयको तृष्णा मेट्ने आत्मिक सम्पत्ति प्रदान गरोस् । प्रगति यस्तो होस्, जहाँ शिखरमा पुग्दा एक्लोपन होइन, सन्तुष्टि भेट्ने वास्तविक उन्नति महसुस होस् । धनको मात्र होइन, मनको पनि वैभव बढोस् । शान्ति र सद्भावको विस्तार स्वतः भइरहोस् ।
२०८३ सालको हावाले शान्तिको शीतल सुवास चारैतिर फैलाओस् । घर–घरमा सुखको दीप बलोस् र समाजको हरेक कुनामा समृद्धिको हरियाली छाओस् । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सर्वत्र शान्ति, सुख र समृद्धिको एउटा सुन्दर बगैँचा निर्माण होस् भन्ने मेरो अटुट अभिलाषा छ ।

यो वर्ष केवल ‘म’ र ‘मेरो’ मा सीमित नरहोस् । हाम्रो सोच र प्रार्थनाले ब्रह्माण्डका हरेक जीवलाई समेट्न सकोस् । प्राचीन ऋषिमुनिको उदात्त भावनालाई आत्मसात् गर्दै म हृदयदेखि पुकार्छु– सबैको जय होस्, सफलताको स्वाद चाख्नबाट कोही पनि वञ्चित हुनु नपरोस् । सबैको मङ्गल होस्, हरेकको जीवनमा मङ्गलमय पलहरूले मात्र बास गरून् । सबैको कल्याण होस्, कसैले पनि दुःखको आँसु झार्नु नपरोस् र सबैको हितमा हाम्रो समय व्यतीत होस् ।

नयाँ वर्षले हामी सबैलाई प्रेमको भाषा बोल्न, सेवाको भाव राख्न र सत्यको बाटोमा हिँड्न थप प्रेरणा प्रदान गरोस् । नयाँ वर्ष समयको परिवर्तन होइन– यो मनकै पुनर्जन्म हो । त्यसैले, यो वर्ष हामी सबैका लागि यस्तो होस्, जहाँ हामी आफैँसँग नजिक हुन्छौँ, अरूसँग अझ आत्मीय बन्छौँ । जीवनसँग अझ गहिरो सम्बन्ध गाँसेर जीवनलाई खुशीको उत्सवमा रूपान्तरण गर्न सक्छौँ ।

नयाँ वर्ष सधैँ मात्रै पात्रो फेरिने क्रमसँगै मनभित्रका अँध्यारा कुनाहरूमा उज्यालोको पहिलो किरण पस्ने एउटा सुन्दर बहाना होस् । समयको नदीले अर्को मोड लिएर भँगालो फाट्दा त्यसले अनायासै बित्यासको विनाश ननिम्त्याओस् । सधैँ सबैलाई बधाई ज्ञापन गर्ने अवसर आइरहोस् । कहिल्यै शोक, समवेदना र श्रद्धाञ्जलि प्रकट गर्नुपर्ने अवस्था नआओस् ।

अन्ततः २०८३ साल पात्रोको पानामा मात्र सीमित नरहोस् । शारीरिक रूपमा स्वस्थ, मानसिक रूपमा तन्दुरुस्ती र आत्मिक रूपमा उल्लास नै यो वर्षको मुख्य पूँजी बनोस् । हरेक पल यस्तो ऊर्जाले भरियोस् कि वर्षका १२ महिना र ३६५ दिन नै ‘शुभ मङ्गल’ को मन्त्रले परिपोषित होऊन् । नयाँ वर्ष २०८३ सालको उपलक्ष्यमा समस्त नेपालीजनमा हार्दिक मङ्गलमय शुभकामना !