विन्ध्यवासिनी म्युजिक अवार्डमा शिव र समीक्षा सर्वाेत्कृष्ट गायक गायिका


राजधानीको सांगीतिक धड्कन शुक्रवार साँझ केही बढी नै तीव्र सुनियो। जमलस्थित राष्ट्रिय नाचघरमा १६औँ संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्ड भव्यता, भावनात्मक क्षण र सांगीतिक ऊर्जाबीच सम्पन्न भयो।

यो केवल अवार्ड प्रदान कार्यक्रम मात्र थिएन, बरु नेपाली संगीतको यात्रालाई सम्झिने, वर्तमानलाई उत्सवमा रूपान्तरण गर्ने र भविष्यलाई संकेत गर्ने एक सांस्कृतिक मञ्च बन्न पुग्यो। विन्ध्यवासिनी फाउण्डेसनको आयोजनामा सम्पन्न विन्ध्यवासिनी म्युजिक अवार्ड २०८२ समारोहमा १२ विधामा प्रतिस्पर्धात्मक अवार्ड र ५ विशिष्ट सम्मान प्रदान गर्दै दशकौ“देखि संगीतमा समर्पित हस्तीदेखि नयाँ पुस्तासम्मलाई एउटै छानामुनि सम्मानित गरियो।

अवार्ड समारोहमा परेली बोलको गीतबाट शिव परियारले सर्वोत्कृष्ट गायकको अवार्ड चुमे भने के हेरेको टुलुटुलुबाट समीक्षा अधिकारीले सर्वोत्कृष्ट गायिकाको अवार्ड उचालिन्। मिर्मिरेमा बासेको भालेबाट शिव हमाल उत्कृष्ट संगीतकार र परदेशी हुनै मन छैनबाट भुपेन्द्र बुढाथोकी उत्कृष्ट गीतकार भए। लोकदोहोरीतर्फ झलीकोबाट अर्जुन सापकोटा र भ्याप्पै आए बाहुन दाइबाट ज्योति मगरले विधागत उत्कृष्टता स्थापित गरे। म्युजिक भिडियोतर्फ कता हिँडेयौ साइँलाबाट प्रभात पल ठकुरी र गीता ढुंगाना उत्कृष्ट मोडल जोडी बने भने मायालाई पानको पातका विक्रम चौहान उत्कृष्ट निर्देशक चुनिए। त्यस्तै ए आमा जाम भन्यो मलाईबाट बुद्ध थापा उत्कृष्ट छायाँकार, वैशले जुरुक्क पा¥योबाट दीपक विष्ट उत्कृष्ट म्युजिक भिडियो सम्पादक तथा पैसा जोगाउनबाट ऋतु बोहरा नवप्रतिभाको रूपमा पुरस्कृत भइन्। समारोहमा सबै विधाका विजेतालाई जनही ५ हजार रुपैयाँ प्रदान गरिएको थियो।

कार्यक्रमको भावनात्मक शिखर भने विशेष सम्मानहरू रहे। ख्यातिप्राप्त संगीतकार, गीतकार तथा गायक शम्भुजीत बासकोटालाई १ लाख रुपैयाँसहित विन्ध्यवासिनी लाइफ टाइम अचिभमेन्ट अवार्ड २०८२ प्रदान गर्दा हल तालीले गुन्जायमान बन्यो। गीतकार विजय शिवाकोटीलाई ५० हजार रुपैयाँका साथमा तथा गायिका रचना रिमाल, लोकगायक पशुपति शर्मा र पत्रकार पवन आचार्यलाई जनही २५ हजार रुपैया“का साथमा क्रमशः विन्ध्यवासिनी संगीत साधना, प्रेमध्वज संगीत रत्न, झलकमान लोक संगीत तथा विन्ध्यवासिनी कला पत्रकारिता सम्मान प्रदान गरियो, जसले नेपाली संगीतको विविध आयामलाई समेट्यो।

कार्यक्रम राष्ट्रिय गानबाट सुरु भई गुरुआमाको समूह नृत्यले रंगीन बन्यो। त्यसपछि समीक्षा अधिकारी, रचना रिमाल र पशुपति शर्माका प्रस्तुति केवल मनोरञ्जन मात्र नभई दर्शकसँग भावनात्मक संवाद बन्न पुगे। विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित शम्भुजीत बासकोटाको सम्मानमा गायक सुमनकुमार श्रेष्ठले बासकोटाद्वारा संगीतबद्ध कालजयी गीत प्रस्तुत गर्दा समय केही क्षणका लागि अतीततर्फ फर्किएको अनुभूति भयो। गायक श्रेष्ठलाई विन्ध्यवासिनी फाउण्डेसनका सञ्चालक सुवास रेग्मीले केही समय गायनमा साथ दिए। त्यस्तै विजय शिवाकोटीका सिर्जनामा अजर जंगमको प्रस्तुति पनि उत्तिकै मन छुने रह्यो।

कार्यक्रमको समापनतर्फ अध्यक्ष लीना शर्मा रेग्मीले संगीत सर्जकको सम्मान, संरक्षण र प्रोत्साहन नै फाउण्डेसनको मूल उद्देश्य रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताइन्।