५ वर्षपछि यूएफसीमा फर्कंदै कोनर म्याकग्रेगोर


लन्डन, (एजेन्सी)

मिक्स्ड मार्सल आट्र्स (एमएमए) का विश्वप्रसिद्ध आइरिस फाइटर कोनर म्याकग्रेगर पाँच वर्षको लामो अन्तरालपछि आगामी जुलाई ११ मा यूएफसीको अक्टागनमा फर्किने भएका छन् ।

अमेरिकाको लास भेगासस्थित टी–मोबाइल एरेनामा आयोजना हुने ‘यूएफसी ३२९’ को मुख्य भिडन्त (मेन इभेन्ट) मा ३७ वर्षीय म्याकग्रेगरले पूर्व च्याम्पियन म्याक्स हलोवेसँग प्रतिस्पर्धा गर्ने तय भएको छ । यूएफसीका अध्यक्ष ड्याना ह्वाइटले ‘इन्टरनेसनल फाइट वीक’ अन्तर्गत वेल्टरवेट (१७० पाउन्ड) विधामा यो खेल हुने आधिकारिक घोषणा गरेका हुन् । सन् २०२१ मा डस्टिन पोइरियरसँगको फाइटका क्रममा खुट्टा भाँचिएपछि म्याकग्रेगर पहिलो पटक आधिकारिक रूपमा रिङमा उत्रन लागेका हुन् । यसअघि सन् २०२४ मा माइकल च्यान्डलरविरुद्ध उनको पुनरागमनको तयारी भए पनि खेलको दुई हप्ताअघि बुढीऔंला भाँचिएपछि उनी प्रतिस्पर्धाबाट बाहिरिएका थिए ।

म्याकग्रेगर र हलोवेबीच यसअघि सन् २०१३ मा फेदरवेट विधामा पहिलो भेट भएको थियो, जसमा म्याकग्रेगर सर्वसम्मत निर्णयका आधारमा विजयी भएका थिए । हालको अवस्थामा ३४ वर्षीय हवाइयन फाइटर हलोवे लगातार उच्च स्तरको प्रतिस्पर्धामा रहेका कारण म्याकग्रेगरका लागि यो पुनरागमन खेल चुनौतीपूर्ण बन्ने अनुमान गरिएको छ । सन् २००८ मा व्यावसायिक खेल जीवनको सुरुवात गरेपछि २२ जित र ६ हारको कीर्तिमान बनाएका म्याकग्रेगर यूएफसीको इतिहासमा एकैपटक दुईवटा तौल समूह (फेदरवेट र लाइटवेट) को विश्व च्याम्पियन बन्ने पहिलो खेलाडी हुन् ।

उनको नाममा सन् २०१५ मा जोसे एल्डोलाई मात्र १३ सेकेन्डमा नकआउट गरेको यूएफसी इतिहासकै सबैभन्दा तीव्र गतिको उपाधि भिडन्तको कीर्तिमान समेत सुरक्षित छ । यद्यपि, पछिल्लो एक दशकमा उनको नाममा सन् २०२० मा डोनाल्ड सेरोनविरुद्धको एउटा मात्र जित दर्ता छ । खेल जीवनमा प्रतिबन्ध र कानुनी विवादको सामना गरेका म्याकग्रेगरले सन् २०२४ मा डोपिङ परीक्षण छुटाएपछि लागेको १८ महिनाको प्रतिबन्ध गत मार्चमा मात्रै समाप्त भएको हो । यस वर्ष कमब्याकका लागि एन्टि–डोपिङ एजेन्सीले उनको ११ पटक परीक्षण गरिसकेको छ । रिङबाहिर विभिन्न कानुनी संकट र जरिवाना भोग्दै आएका म्याकग्रेगरको खेल जीवनलाई पुनः गति दिन जुलाई ११ को यो भिडन्तलाई निकै महत्वपूर्ण मानिएको छ ।