काठमाडौं ।
जेन–जी आन्दोलनका अगुवा सुधन गुरुङ आन्दोलनपछिको अवस्थामा नै सजिलै गृहमन्त्रीको जिम्मेवारी लिन सक्नुहुन्थ्यो । त्यतिबेलाको असहज अवस्थामा प्रधानमन्त्री नियुक्तिमा निर्णायक रोल खोलेर उहाँले मुलुकलाई सही बाटोमा हिँडाउनुभएको थियो । प्रधानमन्त्रीमा सुशीला कार्कीलाई नियुक्त गर्न उहाँको निर्णायक भूमिका भएकाले सुधनले चाहेको भए त्यतिबेला नै सहजै गृहमन्त्रीको जिम्मेवारी लिन सक्नुहुन्थ्यो तर, त्यसबेला आफ्नो अनुभव पर्याप्त नभएको स्वीकार गर्दै उहाँले त्यसमा आफ्नो दाबी पेस नगरी बढी अनुभवी व्यक्तिलाई गृहमन्त्रीको जिम्मेवारी दिलाउनुभएको थियो ।
पछिल्लो ६ महिनामा सुधनले जेन–जीको आक्रोशलाई सम्हालेर राख्ने काममात्रै गर्नुभएन २१ फागुनको निर्वाचनका लागि उपयुक्त वातावरण बनाउनसमेत महत्वपूर्ण भूमिका खेल्नुभयो । सुधनले नै रास्वपाभित्र बालेनलाई एकतामा ल्याउने काम गर्नुभयो । कुलमानलाई समेत उहाँले मिलाउने प्रयास गर्नुभएको थियो । रास्वपामा बालेनको प्रवेश गराउने मास्टरमाइन्ड दिमाग सुधनकै थियो जसका कारण निर्वाचनमा रास्वपाले झन्डै दुई तिहाइको अभूतपूर्व परिणाम ल्यायो । सोही निर्वाचनमा नै सुधनले गोरखा–१ बाट सानदार रूपमा प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरेर आफूलाई कुशल नेताका रूपमा स्थापित गर्नसमेत सफल हुनुभयो ।
सामाजिक सञ्जालमा ‘हामी नेपाल’ मार्फत उहाँका गतिविधि हेर्दा कहिलेकाहीँ उहाँ अलि छिटो रिसाउने जस्तो देखिए पनि समग्रमा उहाँ परिपक्व व्यक्तित्व हुनुहुन्छ । लामो समयदेखि समाज सेवा तथा मुलुकमा सुशासन स्थापना गर्ने अभियानमा लाग्दै आउनुभएका उहाँ एक निडर र साहसिक काम गर्ने अगुवा तथा अभियन्ताका रूपमा पनि रहनुभएको छ । भूकम्प, कोरोना काल तथा जेन–जी आन्दोलनपछि उहाँले गरेका कामहरू प्रशंसनीय छन् ।
अहिले उहाँ मुलुकको शान्ति सुरक्षा र अमनचयनलाई सुदृढ बनाउने गृहमन्त्रीका रूपमा आउन सफल हुनुभएको छ । उहाँलाई गृहमन्त्रीको जिम्मेवारी उहाँले जेन–जी आन्दोलनलाई सफल अवतरण गराउँदै मुलुकमा देखिएको संकट निवारण गर्न खेलेको भूमिकाको कदर भएको रास्वपाका नेताहरूले बताएका छन् ।
सादा जीवन उच्च विचारका देखिने सुधन शुक्रवार शीतलनिवासमा गृह मन्त्रीको शपथ खाएर सिंहदरबारस्थित गृह मन्त्रालयमा पदबहाली गर्न जाँदा आफंै आफ्नै गाडी चलाएर जानुभएको थियो । उहाँले मन्त्रालयमा पदबहाली गर्दै आफूहरू जेन–जी आन्दोलनको मूल मर्मअनुसार आएकाले सुशासन कायम गर्नु र मुलुकमा शान्ति सुरक्षा सुदृढ राख्नु आफ्नो प्रमुख दायित्व रहेको बताउनुभयो । उहाँले सबै कामहरू एकद्वार प्रणालीबाट अघि बढाउने पहिलो निर्णय गर्नुभएको छ । गृहमन्त्री गुरुङले कुनै पनि गुनासाहरू नआउने गरी सेवा प्रवाहका कामहरू गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।











प्रतिक्रिया