१९ दिनदेखि इनिशाको शव अस्पतालमै

सरकार ! छोरीहरूका लागि न्याय खै ?

470
Shares

–प्रहरीले अनुसन्धान टुंग्याए पनि परिवार आश्वस्त बन्न सकेनन्

सुर्खेत ।

इनिशा विकको मृत्यु भएको १९ दिन बितिसक्दा पनि उनको शव अझै कर्णाली प्रदेश अस्पतालको शवगृहमै छ । कारण एउटै छ– परिवारले न्याय पाएको अनुभूति गर्न सकेको छैन ।

प्रहरीले अनुसन्धान टुंग्याउँदै एक जनालाई मुख्य अभियुक्त र तीन जनालाई सहयोगीका रूपमा किटान गरी मुद्दा अघि बढाए पनि पीडित परिवार भने सन्तुष्ट छैन, न्याय पाउन नसकेको रोदनमा उनीहरू छट्पटाइरहेका छन् । उनीहरूको अडान स्पष्ट छ– ‘छोरीले न्याय नपाएसम्म शव बुझ्दैनौं ।’

यो घटनाले केवल एउटा परिवारको पीडामात्र होइन, राज्यको न्याय प्रणालीप्रति गम्भीर प्रश्न खडा गरेको छ । इनिशा विकको मृत्यु प्रकरणमा एक जनालाई मुख्य अभियुक्त र तीन जनालाई घटना लुकाउन खोजेको रूपमा किटान गर्दै ‘ज्यान मार्ने उद्योग’मा मुद्दा चलाउने गरी प्रहरीले प्रक्रिया अघि बढाएको छ । तर, इनिशाको परिवार भने प्रहरीको अनुसन्धान र अभियोजन प्रक्रियाप्रति आश्वस्त हुन नसकेको हो ।

मृतक इनिसाका परिवारले दोषीमाथि कडा कारबाही नभएसम्म शव नबुझ्ने अडान राख्दै आएका कारण १९ दिनदेखि इनिशाको शव कर्णाली प्रदेश अस्पतालको शवगृहमा राखिएको छ । १९ दिनसम्म पनि घटनाको सत्यतथ्य सार्वजनिक नहुँदा न्याय नपाउने डर भएको पनि इनिसाका परिवारको दुःखेसो छ ।

इनिशाका प्रेमी भनिएका अनमोल गौलीलाई मुख्य अभियुक्त तथा उनका साथीहरुलाई इनिशाको मृत्युमा उनीहरूको पनि हात रहेको भन्दै प्रहरीले मुद्दा प्रक्रिया अघि बढाएको हो । गौलीसँगै पक्राउ गरेका अन्य तीन जना किशोरको प्रत्यक्ष संलग्नता पुष्टि गर्ने यथेष्ट प्रमाण फेला नपरे पनि उनीहरू घटनास्थलमा पुगेर प्रहरीलाई समयमै खबर नगरेको हुँदा उनको मृत्युमा संलग्न भएको भन्दै दोषी ठहर गरेको हो ।

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार साथीलाई सहयोग गर्नका लागि गएका भनिएका उनीहरू करिब ९ बजेतिर घटनास्थलमा सीसीटीभी फुटेजबाट देखिएका थिए । पोस्टमार्टम, फरेन्सिक विज्ञ, पोलिग्राफको रिपोर्ट र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोसमेतको तहकिकातपछि प्राप्त विवरणका आधारमा तयार पारिएको मुद्दाको मिसिल सरकारी वकिल कार्यालयमा बुझाइएको छ ।

अनुसन्धानबाट संकलित प्रमाण र बयानका आधारमा आरोपितमध्ये एक जनालाई अभियुक्त र बाँकीलाई मतियारका रूपमा मुद्दा अघि बढाएको प्रहरी नायब उपरीक्षक मोहन बुढथापाले बताउनुभयो । ‘आरोपितहरूको बयान र प्राप्त प्रमाणका आधारमा मिसिल तयार पारी सरकारी वकिल कार्यालयमा बुझाइएको छ’, उहाँले भन्नुभयो– ‘अब सरकारी वकिल कार्यालयमार्फत मुद्दा अघि बढ्छ ।’

फरेन्सिकअन्तर्गत दुईवटा बायोलोजिकल र सेरोरोजिकल ती रिपोर्टहरू अदालतमा मुद्दाको सुनुवाइ हुँदै गर्दा पनि पेस गर्न सकिने भएपछि प्रतिवेदन पेस गरिएको डीएसपी बुढथापाले बताउनुभयो । मुद्दा अब न्यायिक प्रक्रियामा गइसकेकाले मिसिलमा समेटिएको थप विषयवस्तुबारे जानकारी दिन नमिल्ने उहाँको भनाइ छ । उक्त प्रकरणले सुरुदेखि नै सार्वजनिक चासो तानेको थियो भने अब अदालतको प्रक्रिया सुरु भएसँगै न्यायिक निरुपणतर्फ अघि बढेको छ ।

प्रहरीले १९ दिन के ग¥यो ?
इनिशा विक मृत्यु प्रकरणमा १९ दिनसम्म प्रहरीले बहुआयामिक अनुसन्धान अघि बढाएको जनाएको छ । घटनाको भोलिपल्ट नै परिवारले चार जनाविरुद्ध किटानी जाहेरी दर्ता गरेपछि स्थानीय प्रहरी र सीआईबीको संयुक्त टोलीले अनुसन्धानलाई तीव्रता दिएको थियो । प्रहरीले इनिशाको सम्पूर्ण प्रमाण संकलन गर्नुका साथै आरोपित चारै जनाको प्रमाण सबै नमुना विधिविज्ञान प्रयोगशालामा पठाएर जाँच गरिएको जनाएको छ ।

त्यसै गरी, घटनाको डिजिटल पाटोलाई समेत प्राथमिकतामा राख्दै इनिशासहित आरोपित चार गरी पाँचै जनाको मोबाइल डिजिटल परीक्षणका लागि काठमाडौं पठाइएको थियो । सीसीटीभी फुटेज संकलन, मोबाइल डेटा विश्लेषण तथा अन्य भौतिक प्रमाणहरू जुटाउने काम गरिएको छ ।

सबै मोबाइलको डिजिटल रिपोर्ट आइसकेको भए पनि इनिशाको मोबाइल अझै पूर्ण रूपमा विश्लेषण हुन बाँकी रहेको र त्यसलाई विदेश पठाएर परीक्षण गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ, ता कि कुनै पनि महत्वपूर्ण प्रमाण नष्ट नहोस् ।

हालसम्म अधिकांश रिपोर्ट प्राप्त भइसकेका भए पनि महत्वपूर्ण रिपोर्ट फरेन्सिकअन्तर्गत दुईवटा बायोलोजिकल र सेरोरोजिकल रिपोर्ट आउन अझै बाँकी रहेको प्रहरीले जनाएको छ । यिनै प्रमाणका आधारमा चारै जनाविरुद्ध मुद्दा दर्ता गर्न सिफारिस गरिएको हो ।