नागरिकता लिने क्रममा अनलाइन फाराम भरिसकेपछि राष्ट्रिय परिचयपत्र लिनका लागि फेरि उही विवरण राखेर फाराम भर्नुपर्ने स्थितिको अन्त्यलाई सेवाप्रवाह सहज बनाउने दिशामा एउटा महत्वपूर्ण निर्णयका रुपमा लिन सकिन्छ । प्राविधिक हिसाबले भन्दा यो सामान्य सुधार हो ।
तर यस्तो सामान्यजस्तै लाग्ने सुधारले पनि नागरिकले सहज सेवा पाउने र सेवा सन्तुष्टि बढाउने निश्चित छ । सरकार र प्रशासनिक निकायबाट दिइने सेवाप्रवाह विनाझन्झट र सहजरुपमा पाइयोस् भन्ने आम सेवाग्राहीको अपेक्षा हो । कहिले ऐन नभएको बहाना र ऐन भएमा नियमावली र निर्देशिका नभएको बहाना गरी सेवाग्राहीलाई दुःख दिने कर्मचारी संयन्त्रको आम प्रवृत्ति नै बनिसकेको छ ।
यस्तो प्रवृत्तिबाट सर्वसाधारण मात्र नभई देशको कार्यकारी प्रमुखले पनि हैरानी खेप्नुपरिरहेको छ । प्रधानमन्त्री सुशीला कार्कीले हालै कर्मचारीले विनास्वार्थ काम नै नगर्ने, स्वार्थ नभएको विषयमा अनेक विकल्प दिने, अख्तियारको डर देखाएर निर्णय गर्नबाट पन्छिने गरेको सार्वजनिक रुपमा नै बताउनुभएको थियो । आम सेवाग्राहीले दैनिक रुपमा वडा, जिल्ला प्रशासन, मालपोत, यातायात कार्यालयमा यस्तो अवस्था भोग्नुपरिरहेकोमा प्रधानमन्त्री स्वयंले समेत त्यस्तो भोग्नुपर्ने स्थिति भनेको आम कर्मचारीको मनोवृत्ति र प्रशासनतन्त्रको जर्जर अवस्थाको सूचक हो । यस्तो परिप्रेक्ष्यमा दोहोरो फाराम भर्नु नपर्ने सरकारको सामान्य सुधारले पनि नागरिकमा उत्साह पैदा गरिदिएको छ ।
सरकारको सेवाप्रवाहलाई सरल, छरितो र प्रविधिमैत्री बनाउन नागरिकता प्राप्तिका लागि भरिएको अनलाइन फारामकै विवरणलाई राष्ट्रिय परिचयपत्रमा उपयोग गर्ने व्यवस्था गरिएको छ यतिखेर । सरकारले नागरिकमैत्री शासन बनाउन चाहेमा ठोस काम गर्न सकिन्छ भन्ने संकेतका रुपमा यसलाई लिन सकिन्छ । गृहमन्त्री ओमप्रकाश अर्यालले घोषणा गरेको यो व्यवस्था व्यवहारमा अत्यन्तै उपयोगी साबित हुने देखिन्छ ।
यसअघि नागरिकता लिएपछि पुनः राष्ट्रिय परिचयपत्रका लागि अलग फाराम भर्नुपर्ने झन्झटले सेवाग्राहीलाई समय, श्रम र खर्चको दोहोरो बोझ थपिरहेको थियो । विशेष गरी ग्रामीण क्षेत्रका नागरिक, अशिक्षित वा स्वयं फाराम भर्न नसक्ने व्यक्तिहरूका लागि यो प्रक्रिया झन् कष्टकर थियो । अब यो बाध्यता अन्त्य हुनु प्रशासनिक संवेदनशीलताको सकारात्मक उदाहरण हो ।
यो सुधारको अर्को महत्वपूर्ण पक्ष भनेको प्रणालीगत एकीकरण हो । केन्द्रीकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीचको अन्तर–आबद्धताले डिजिटल गभर्नेन्सको आधार बलियो बनाएको छ । यसले डाटाको दोहोरो प्रयोग घटाउनुका साथै त्रुटि न्यूनीकरण र सेवाप्रवाहमा एकरूपता ल्याउने अपेक्षा गरिएको छ ।
यस्तो प्रणालीले केवल सेवा सहज बनाउने मात्र होइन, सुशासन प्रवद्र्धन, दोहोरोपन नियन्त्रण र आर्थिक तथा सामाजिक अपराध न्यूनीकरणमा समेत योगदान पु¥याउन सक्छ । राष्ट्रिय परिचयपत्र नम्बरमार्फत व्यक्तिको पहिचान र प्रमाणीकरण प्रणाली मजबुत बन्दै जाँदा राज्यको सेवा वितरण प्रणाली अझ पारदर्शी र प्रभावकारी बन्नेछ । यद्यपि यस्ता प्रविधिमैत्री सुधारहरू कार्यान्वयनमा ल्याउँदा केही चुनौतीहरू पनि नजरअन्दाज गर्न मिल्दैन ।
प्रणालीको विश्वसनीयता, डाटा सुरक्षा, साइबर जोखिम तथा दुर्गम क्षेत्रहरूमा डिजिटल पहुँच सुनिश्चित गर्ने विषयहरू उत्तिकै महत्वपूर्ण छन् । प्रविधिमा आधारित सेवा विस्तारसँगै नागरिकको डिजिटल साक्षरता अभिवृद्धि गर्नेतर्फ पनि सरकारको ध्यान जानु आवश्यक छ । समग्रमा, एकै विवरणबाट बहुसेवाहरू उपलब्ध गराउने अवधारणाले नेपालको सार्वजनिक सेवा प्रणालीलाई नयाँ दिशातर्फ उन्मुख गराएको छ । यदि यस्ता सुधारहरू निरन्तरता र प्रभावकारितासहित अघि बढाइयो भने एकीकृत सेवा, सहज सेवाको लक्ष्य केवल नारा नभई व्यवहारमा रूपान्तरण हुने विश्वास गर्न सकिन्छ ।











प्रतिक्रिया