श्रीराम ग्यास उद्योगको गोदाममा ६ हजारभन्दा बढी ग्यास सिलिन्डर फेला


काठमाडौँ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको हरिसिद्धि क्षेत्रमा रहेको श्रीराम ग्यास उद्योगको गोदाममा ठूलो सङ्ख्यामा ग्यास सिलिन्डर भण्डारण गरिएको फेला पारेको छ। अनुगमनका क्रममा गोदाममा ६ हजार ३७७ वटा ग्यास सिलिन्डर राखिएको भेटिएको हो।

विभागका अनुसार ती १४.२ किलो तौलका ग्यास सिलिन्डर कृत्रिम अभाव सिर्जना गर्ने उद्देश्यले भण्डारण गरिएको आशङ्कामा फेला परेका हुन्। उक्त कार्यका कारण उपभोक्तालाई समस्या पर्न सक्ने भएकाले विभागले उद्योगलाई तीन लाख रुपैयाँ जरिवाना गरेको जनाएको छ।

साथै, फेला परेका ग्यास सिलिन्डरहरूलाई नेपाल आयल निगमको समन्वयमा बिक्री वितरण गर्न निर्देशन दिइएको छ। विभागले बजारमा ग्यासको माग धेरै भएको समयमा अनावश्यक भण्डारण नगरी वितरण प्रक्रिया सहज बनाउन सम्बन्धित उद्योगलाई आग्रह गरेको छ।

यसैबीच, पश्चिम एसियामा बढ्दो तनावका कारण ग्यास आपूर्ति प्रभावित हुन सक्ने चिन्ताले केही उपभोक्ताले बढी ग्यास भण्डारण गर्दा बजारमा वितरणमा कठिनाइ भइरहेको निगमले जानकारी दिएको छ।