काठमाडौं ।
चालु आर्थिक वर्ष २०८२÷८३ को फागुन मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण दायित्व २८ खर्ब ७८ अर्ब २९ करोड रुपियाँ पुगेको छ । यो रकम नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४७.१३ प्रतिशत बराबर हो ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको मासिक प्रतिवेदन अनुसार आर्थिक वर्षको सुरुवातमा अर्थात् २०८२ साउन १ गतेसम्म कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपियाँ रहेकोमा आठ महिनाको अवधिमा २ खर्ब ४ अर्ब २४ करोड रुपियाँ थपिएको हो । कुल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋणको हिस्सा बढी देखिएको छ । तथ्यांक अनुसार फागुन मसान्तसम्म वैदेशिक ऋण १५ खर्ब ३० अर्ब १८ करोड रुपियाँ पुगेको छ भने आन्तरिक ऋण १३ खर्ब ४८ अर्ब ११ करोड रुपियाँ रहेको छ । यस आधारमा कुल ऋणमा वैदेशिक ऋणको हिस्सा ५३.१६ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४६.८४ प्रतिशत रहेको छ ।
अर्थतन्त्रको आकारको अनुपातमा हेर्दा आन्तरिक ऋण जीडीपीको २२.०७ प्रतिशत र बाह्य ऋण २६.०६ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ । यस अवधिमा विनिमयदरको उतार चढावले पनि ऋण दायित्वमा प्रभाव पारेको छ। विशेषगरी अमेरिकी डलरको भाउ बढ्दा बाह्य ऋणको दायित्व बढेको छ । विनिमयदर परिवर्तनका कारण मात्रै फागुन मसान्तसम्म सार्वजनिक ऋण दायित्व करिब ९७ अर्ब ९८ करोड रुपियाँले बढेको कार्यालयले जनाएको छ ।
सरकारले चालु आर्थिक वर्षका लागि ५ खर्ब ९५ अर्ब रुपियाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो। तर फागुन मसान्तसम्म कुल लक्ष्यको ५०.४४ प्रतिशत मात्रै अर्थात् ३ खर्ब ४६ अर्ब रुपियाँ ऋण प्राप्त भएको छ । प्राप्त ऋणमध्ये आन्तरिक ऋण २ खर्ब ४३ अर्ब ६६ करोड रुपियाँ छ भने बाह्य ऋण ५६ अर्ब ८० करोड रुपियाँ मात्रै प्राप्त भएको छ। वार्षिक लक्ष्यको आधारमा आन्तरिक ऋण प्राप्ति ६७.३१ प्रतिशत पुगेको भए पनि बाह्य ऋण प्राप्ति २४.३१ प्रतिशतमा सीमित रहेको छ । उता ऋण सेवा खर्चतर्फ सरकारले चालु आर्थिक वर्षका लागि ४ खर्ब ११ अर्ब रुपियाँ बजेट विनियोजन गरेको थियो। फागुन मसान्तसम्म २ खर्ब ४२ अर्ब २६ करोड रुपियाँ भुक्तानी भइसकेको छ, जुन वार्षिक विनियोजनको ५८.९४ प्रतिशत हो । यो अवधिमा सावाँ भुक्तानीतर्फ १ खर्ब ९४ अर्ब १९ करोड रुपियाँ खर्च भएको छ भने ब्याज भुक्तानीमा ४८ अर्ब ६ करोड रुपियाँ खर्च भएको छ । त्यसैगरी आठ महिनाको अवधिमा सरकारले आन्तरिक ऋणतर्फ २ खर्ब ४ अर्ब ८० करोड रुपियाँ र बाह्य ऋणतर्फ ३७ अर्ब ४६ करोड रुपियाँ गरी कुल ऋण दायित्व घटाउने भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।











प्रतिक्रिया