काठमाडौं।
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक तथा सहसचिव झलकराम अधिकारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अधिकारीले ७० लाख घुस खाएको पाइएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
अख्तियारले आइतबार अधिकारीसहित द कुटि रिसोर्ट प्रालिका म्यानेजिङ डाइरेक्टर एवं सेयरधनी देवेन्द्र केसी र बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० का रविन्द्र लामिछानेविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अधिकारीले एचके इन्टरप्राइजेज प्रालिको राजस्व अनुसन्धान विभागमा रहेको राजस्व चुहावटसम्बन्धी छानबिन तथा राजस्व चुहावटसम्बन्धी अन्य कसुरबाट बच्नका लागि सहजीकरणबापत सञ्चालक श्रीकृष्ण श्रेष्ठ बिज्यूबाट ७० लाख घुस लिएको अख्तियारको दाबी छ ।
यसै गरी, अधिकारीले विकास चापागाईं, देवेन्द्र केसी, रविन्द्र लामिछानेलगायतसँगको मतसल्लाह तथा मिलेमतोमा उनीहरूको खाता रहेको ग्लोबल आईएमई बैंक, लुम्बिनी विकास बैंक र लक्ष्मी सनराइज बैंकलगायतका बैंक तथा वित्तीय संस्थामा रकम दाखिला गराएको आयोगले जनाएको छ ।
घुस रिसवत रकमको स्वरूप परिवर्तन गरी गराई भक्तपुरको थिमी नगरपालिका साविक वडा नं. १७ (हाल वडा नं.२) स्थित दिव्यश्वरी आयोजना भित्रको कित्ता नं.९९८ क्षेत्रफल १६४.१४ व.मि (०–५–०–२.५९) जग्गा खरिद तथा देवेन्द्र केसीसमेत सञ्चालक रहेको द कुटी रिसोर्टको कर्जा भुक्तानीसमेतमा प्रयोग प्रचलनमा ल्याएको तथ्य पुष्टि भएको देखिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो । अख्तियारले अधिकारीलाई ७० लाख, केसीलाई २० लाख र लामिछानेलाई ५० लाख बिगो कायम गरेर मुद्दा दायर गरेको हो ।











प्रतिक्रिया