उम्मेदवारहरूले निर्वाचन खर्च बुझाउन थाले

३५ दिनभित्र नबुझाए कारबाही

1.03k
Shares

काठमाडौं ।

प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी तथा खर्चको विवरण निर्वाचन आयोगमा बुझाउन थालेका छन् । कानुनअनुसार निर्वाचन सम्पन्न भएको ३५ दिनभित्र उम्मेदवारले आफ्नो खर्च विवरण सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था छ । प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्ष निर्वाचनको मतगणना सकिएलगत्तै उम्मेदवारहरूले आफ्नो खर्च विवरण बुझाउन थालेका हुन् ।

निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी तथा खर्चको विवरण तथा सो विवरण सार्वजनिक गरेको जानकारी गराउन आयोगले गत बिहीबार सार्वजनिक सूचना प्रकाशित गरेको थियो । सोहीअनुरूप राजनीतिक दलले निर्वाचन आयोगमा र उम्मेदवारले आफ्नो जिल्लामा रहेको प्रदेश÷जिल्ला निर्वाचन कार्यालयमा आम्दानी तथा खर्चको विवरण तथा सो विवरण सार्वजनिक गराउनुपर्ने छ ।

निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचन प्रचारप्रसारमा गरेको खर्चको विवरण पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ उम्मेदवारले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा र समानुपातिक निर्वाचन प्रणालीतर्फको हकमा सम्बन्धित राजनीतिक दलले निर्वाचन आयोगसमक्ष तोकिएको ढाँचामा निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी र खर्चको विवरण सार्वजनिक गर्नुपर्ने छ । निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३१ को उपदफा (२) बमोजिम खर्चको विवरण सम्बन्धित सबैको जानकारीको लागि आयोगले तोकेबमोजिम सार्वजनिक गर्नुपर्नेछ भन्ने कानुनी व्यवस्था छ ।

त्यसै गरी आफ्नो जिल्लामा रहेको प्रदेश÷जिल्ला निर्वाचन कार्यालयको सूचना पार्टी, सम्बन्धित गाउँपालिका वा नगरपालिका वा वडा कार्यालयको सूचना पाटी, राजनीतिक दलको जुनसुकै तहको कार्यालय वा वेबसाइट (राजनीतिक दलको तर्फबाट उम्मेदवार भएका उम्मेदवारको हकमा), आमसञ्चार माध्यम (पत्रपत्रिका, रेडियो, टेलिभिजन आदि) वा सामाजिक सञ्जाल (फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि) मा आफ्नो निर्वाचन विवरण सार्वजनिक गर्न पनि आयोगले अनुरोध गरेको थियो ।

निर्वाचन खर्चको विवरण नबुझाउने तथा सार्वजनिक नगर्ने एवं निर्वाचन खर्चको विवरण सार्वजनिक गरी त्यसको प्रमाणसहित लिखित जानकारी आयोग तथा सम्बन्धित निर्वाचन कार्यालयमा नदिने राजनीतिक दल तथा उम्मेदवारको हकमा निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा ३१ बमोजिम कारबाही हुने आयोगले जनाएको छ । निर्वाचन आयोगमा उम्मेदवारहरूले चुनावी खर्च विवरण बुझाउन थालेसँगै कसैले १० लाखभन्दा कम खर्च देखाएका छन् भने कसैले २५–३० लाखसम्म खर्च भएको दाबी गरेका छन् ।

खर्च बुझाउने उम्मेदवारहरू
हालसम्म खर्च विवरण बुझाउनेमा रास्वपाका वरिष्ठ नेता एवं प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र साहदेखि प्युठानबाट चुनावमा उठेका एमाले नेता सूर्य थापासम्म छन् । झापा–५ का उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता साह (बालेन) ले निर्वाचन कार्यालयमा बुझाएको चुनावी खर्च विवरणअनुसार १४ लाख १७ हजार रुपियाँ खर्च भएको छ ।

साहले १५ दिनमा दुईवटा सवारी साधन भाडामा २ लाख ९३ हजार ८ सय रुपियाँ खर्च भएको उल्लेख गर्नुभएको छ । यो खर्च इन्धनसहितको रहेको विवरणमा उल्लेख छ । पाँचपटकको हवाई भाडामा ३५ हजार र मतदाता प्रशिक्षण कार्यक्रमको खाजा खर्चमा २८ हजार ९ सय ७० रुपियाँ खर्च भएको विवरणमा उल्लेख छ ।

यसै गरी वडास्तरीय प्रचार कार्यक्रममा ५ लाख ८० हजार, नमुना मतपत्र छपाइमा ४९ हजार ८ सय ५० रुपियाँ, निर्वाचन कार्यालयमा दुई महिनाको पानी खर्च १ लाख २० हजार र स्टेसनरीमा २२ हजार ८ सय २० रुपियाँ खर्च भएको विवरण छ । यसै गरी झण्डा र ब्याचसहितको प्रचारप्रसार सामग्री छपाइमा १ लाख ५७ हजार ४१ रुपियाँ, ब्यानर तथा स्टिकरमा १ लाख १९ हजार ८ सय रुपियाँ र मनोनयन दर्तामा १० हजार रुपियाँ खर्च भएको विवरण छ । बालेनको निर्वाचन प्रतिनिधि नवीन भण्डारीको हस्ताक्षरमा बुझाइएको विवरणमा समग्रमा १४ लाख १७ हजार २ सय ८९ रुपियाँ खर्च भएको उल्लेख छ ।

यता प्रतिनिधिसभा सदस्यमा तनहुँ जिल्ला क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद स्वर्णिम वाग्लेले पनि आफ्नो चुनाव खर्च विवरण बुझाउनुभएको छ । आयोगमा बुझाएको विवरण अनुसार उहाँले चुनावका लागि २६ लाख ९० हजार ७ सय ५४ रुपियाँ खर्च गर्नुभएको थियो । वाग्लेको प्रचारप्रसार सामग्री खरिद तथा प्रिन्टका लागि सबैभन्दा बढी ६ लाख ५० हजार २ सय ९८ रुपियाँ खर्च भएको देखिएको छ । त्यसै गरी विद्युतीय प्रचारप्रसारमा ३ लाख ४८ हजार ४ सय ६४ रुपियाँ र खाना–खाजा तथा अस्थायी बसोबासमा ३ लाख ४८ हजार ९ सय रुपियाँ खर्च भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावी खर्च ९ लाख ८९ हजार रुपियाँमात्रै भएको विवरण निर्वाचन आयोगलाई बुझाउनुभयो । प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन–२ बाट उम्मेदवार बन्नुभएका लामिछानले निर्वाचन खर्च विवरण पेस गर्नुभएको हो ।

पेस गरिएको विवरणमा कुल ९ लाख ८९ हजार ९ सय ८७ रुपियाँ खर्च भएको उल्लेख गरिएको छ । मनोनयन दर्ता खर्चका लागि १० हजार रुपियाँ, नमुना मतपत्र सामग्री छपाइका लागि ६८ हजार १ सय ६१ रुपियाँ तथा प्रचार–प्रसारका क्रममा यातायात तथा इन्धनका लागि २ लाख ९५ हजार रुपियाँ खर्च भएको उल्लेख छ ।
त्यसै गरी मतदाता प्रशिक्षण कार्यक्रमका क्रममा खाजामा १४ हजार २ सय रुपियाँ, प्रचार सामग्री (झण्डा, ब्याच, स्टिकर) खरिदमा १ लाख १२ हजार रुपियाँ तथा ब्यानर निर्माणमा ५५ हजार रुपियाँ खर्च भएको विवरणमा उल्लेख छ । खाद्यान्न तथा रासन खरिदमा १ लाख ९६ हजार रुपियाँ र हवाई यात्रामा १३ हजार ६ सय २६ रुपियाँ खर्च गरिएको छ ।

त्यसै गरी रास्वपाका सांसद सोविता गौतमको चुनावी खर्च विवरण ९ लाख ९३ हजार ४५ रुपियाँ खर्च रहेको छ । जसअन्तर्गत मनोनयन दर्ताका लागि ५ हजार, प्रचारप्रसार सामग्रीका लागि ३ लाख १७ हजार ४ सय, मतदाता प्रशिक्षणका लागि ३० हजार, नमुना मतपत्र÷घोषणापत्र छपाइका लागि ७४ हजार २ सय, वडास्तरीय प्रचारप्रसार (१५ दिन) १ लाख खर्च भएको छ । सवारीसाधन दुईवटा (चालक र इन्धनसहित) ३ लाख २५ हजार, स्टेसनरी २३ हजार ४ सय ४५ र खाद्यान्न, रासन तथा पानीमा १ लाख १८ हजार खर्च भएको उल्लेख छ ।

त्यस्तै, स्वतन्त्र सांसदमा विजयी महावीर पुनले निर्वाचन आयोगमा आफ्नो निर्वाचन खर्चको विवरण पेस गर्दै निर्वाचन अवधिमा कुल २८ लाख ६८ हजार ८ सय ६८ रुपियाँ खर्च भएको जानकारी गराउनुभयो । पेस गरिएको विवरणअनुसार होटलमा खाना र बसोबासका लागि सबैभन्दा धेरै १३ लाख ७ हजार ६ सय १९ रुपियाँ खर्च भएको देखिएको छ । यस्तै, चालक ज्यालामा करिब १ लाख ४० हजार रुपियाँ, यातायातमा ६ लाख ६० हजार ९ सय ९८ रुपियाँ र डिजेलमा ३ लाख ६० हजार ४ सय ९९ रुपियाँ खर्च भएको छ ।

नेकपा (एमाले) का नेता सूर्य थापाले चुनावका लागि २४ लाख १० हजार ३ सय ८९ रुपियाँ खर्च गरेको विवरण बुझाउनुभयो । प्युठान जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थापाले सबैभन्दा धेरै ६४ वडामा वडा तथा पालिका स्तरीय कार्यक्रमका लागि ६ लाख ४० हजार रुपियाँ खर्च गर्नुभयो ।

एमाले महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोखरेलले आफ्नो चुनावी खर्च निर्वाचन कार्यालयमा बुझाउनुभयो । खर्च विवरणअनुसार पोखरेलले मतदाता नामावली खरिदबापत ५० हजार, सवारीसाधनमा ३ लाख ५० हजार, सवारी इन्धन (घोडा प्रयोग गरिएकोमा दानासमेत) ३ लाख, प्रचारप्रसार सामग्री १ लाख ५० हजार, ढुवानीतर्फ १ लाख ५० हजार, गोष्ठी÷अन्तरक्रिया १ लाख ५० हजार, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यम २ लाख, कार्यालय सञ्चालन १ लाख ५० हजार, प्रतिनिधि परिचालन १ लाख र विविध खर्च गरेर १ लाख ५० हजार उल्लेख गर्नुभएको छ ।

त्यसै गरी राप्रपा नेता कमल थापाले निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउनुभयो । उहाँले २३ लाख १० हजार रुपियाँ खर्च गरेको विवरण छ । विवरणअनुसार निर्वाचन कार्यालय व्यवस्थापनका लागि ४ लाख ७५ हजार, डिजिटल सामग्री उत्पादन तथा विज्ञापनका लागि ४ लाख ५० हजार, घरदैलो कार्यक्रममा भोजन व्यवस्थापनका लागि ३ लाख ५० हजार र प्रचारप्रसार सामग्री छपाइ तथा वितरणका लागि ३ लाख १५ हजार रुपियाँ रहेको छ ।
यस्तै, बुथमा ३ लाख १० हजार, प्रचारप्रसारका लागि गाडी भाडा र इन्धनबापत २ लाख ३५ हजार र कार्यकर्ता परिचालनमा १ लाख ५० हजार रुपियाँ खर्च भएको विवरणमा उल्लेख छ ।

रवि लामिछाने
– ९ लाख ८९ हजार
बालेन्द्र साह
– १४ लाख १७ हजार
स्वर्णिम वाग्ले
– २६ लाख ९० हजार ७ सय ५४
सोविता गौतम
– ९ लाख ९३ हजार ४५
महावीर पुन
– २८ लाख ६८ हजार ८ सय ६८
सूर्य थापा
– २४ लाख १० हजार ३ सय ८९
शंकर पोखरेल
– १७ लाख ५० हजार
कमल थापा
– २३ लाख १० हजार