काठमाडौँमा ग्यास र इन्धन कालोबजारी गर्नेलाई कडा कारबाही हुने


काठमाडौ ।

काठमाडौँ महानगरपालिका ले खाना पकाउने ग्यास तथा डिजेल–पेट्रोलको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने व्यवसायीमाथि कडा कारबाही गरिने जनाएको छ। महानगरका प्रशासन विभाग प्रमुख महेश काफ्ले ले बजारमा ग्यास तथा इन्धन मौज्दात हुँदाहुँदै उपभोक्तालाई नदिने, अभावको हल्ला फैलाएर बढी मूल्य लिने जस्ता गुनासो आएपछि निगरानी संयन्त्र सक्रिय बनाइएको जानकारी दिए।

नेपाल आयल निगम ले आधा सिलिन्डर ग्यासको मूल्य ९५५ रुपैयाँ तोकेको उल्लेख गर्दै महानगरले सोही मूल्यमा बिक्री–वितरण गर्न व्यवसायीलाई अनुरोध गरेको छ। उपभोक्ताले पनि अनावश्यक रूपमा ग्यास सञ्चिति नगर्न आग्रह गरिएको छ।

ग्यास तथा इन्धन अभाव सिर्जना गर्ने गतिविधि देखिएमा तथ्यसहित महानगरको हटलाइन नम्बर ११८० मा जानकारी गराउन सकिने महानगरले जनाएको छ।