वीरगन्ज।
मधेश प्रदेशमा लगभग सबै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले पूरै जीत हासिल गरेको छ । मधेशको एक क्षेत्रबाहेक ३० सिटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार निर्वाचित भइसकेका छन् । मधेशको ३२ सिट मध्ये रौतहट क्षेत्र नं. २ बाहेक ३० क्षेत्रमा रास्वपाले चुनाव जितेको हो ।
रौतहट २ मा नेपाली कांग्रेसका मोहम्मद फिरदोश आलम निर्वाचित हुनुभयो । ३२ मध्ये ३१ सिटको नतिजा घोषणा हुँदा रास्वपा ३० वटामा विजयी बन्यो । मधेशमा सप्तरी, धनुषा, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा लगायत आठ जिल्ला छन् । धनुषा १ मा अन्तिम मतपरिणाम घोषणा भएको छैन । रास्वपाका त्यहाँका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भएको भएको तर उहाँले धेरै मत ल्याएपछि आयोगले अन्तिम निर्णय सुनाएको छैन । साह सर्वोच्चमा रिट दिनु भएको छ । निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई एकपत्र पठाउँदै सर्वोच्चले विवाद निरुपण नगरेसम्म मत परिणाम सार्वजनिक नगर्न भनेको छ । रौतहटमा फिरदोशले २९ हजार ५ सय २८ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपाका किरणकुमार साहले १८ हजार ४ सय ४२ मत गर्नुभयो ।
रास्वपाका शेख सगिरले ९ हजार ३ सय २५ले प्राप्त गर्नुभयो । मधेशका जिल्लाहरूमा रोचक त के भने रास्वपाका कुनै पनि उम्मेदवार १० हजार भन्दा बढी मतान्तरले जितेका छन् ।यति मात्र होइन कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापा, मधेश केन्द्रित दल जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमतका अध्यक्ष डा. सिके राउत, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई पराजय भोग्नु परेको छ । हैव्वीवेट मानिएका नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठ, कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि, कांग्रेसका निवर्तमान सहमहामन्त्री महेन्द्र यादव नै ठूलो मतान्तरले पराजित हुनुभयो ।
सप्तरी क्षेत्र नं. १ बाट रास्वपाकी पुष्पा कुमारी चौधरी, २ बाट रामजी यादव, ३ बाट अमरकान्त चौधरी र ४ बाट सिताराम साह निर्वाचित हुनुभयो भने सिरहा क्षेत्र नं. १ बाट बबलु गुप्ता, २ बाट शिव यादव, ३ बाट सम्भु कुमार यादव र ४ बाट तपेश्वर यादव विजयी हुनुभयो । धनुषा क्षेत्र नं. १ को मतगणना रास्वपाको उम्मेदवारी खारेज भएको विषयका कारण विवादित बनेको छ। धनुषा क्षेत्र नं. २ बाट रामविनोद यादव, ३ बाट मनिष झा र ४ बाट राजकिशोर महतो निर्वाचित भएका छन् ।
महोत्तरी क्षेत्र नं. १ बाट रास्वपाकै प्रमोद महतो, २ बाट डा. दीपक कुमार साह, ३ बाट उज्वल झा र ४ बाट गौरी कुमारी यादव निर्वाचित भएका हुन् ।सर्लाही क्षेत्र नं. १ बाट निमित कुमारी भण्डारी, २ बाट रविन महतो, ३ बाट नरेन्द्र साह र ४ बाट डा. अमरेश सिंह निर्वाचित भएका छन् ।रौतहट क्षेत्र नं. १ बाट रास्वपाकै राजेश चौधरी, २ बाट नेपाली काँग्रेसका फिरोद आलम, ३ बाट रास्वपाका रविन्द्र पटेल र ४ बाट गणेश पौडेल विजयी भएका हुन् ।बारा क्षेत्र नं. १ बाट गणेश धिमाल, २ बाट चन्दन कुमार सिंह, ३ बाट अरविन्द साह र ४ बाट रहवर अन्सारी निर्वाचित भएका छन् ।
यस्तै, पर्सा क्षेत्र नं. १ बाट रास्वपाकै बुद्धिप्रसाद पन्त, २ बाट सुशील कुमार कानु, ३ बाट रामाकान्त प्रसाद चौरसिया र ४ बाट टेकबहादुर शाक्य निर्वाचित भएका हुन् । यी निर्वाचन क्षेत्रहरुमा यसअघिका चुनावमा एमाले,काँग्रेस तथा थोरैमा माओवादी र मधेशवादी दलहरु बिजयी हुनु गरेका थिए ।











प्रतिक्रिया