काठमाडौं।
जनतामा आक्रोश भरिएपछि दशकौँदेखि राज गरिरहेका राजनैतिक दल तथा तीनका शीर्ष र प्रभावशाली नेता पनि बढारिँदा रहेछन् भन्ने ज्वलन्त उदाहरण बनेको छ प्रतिनिधिसभा निर्वाचन २०८२ ।
देशभरबाट प्राप्त भइरहेका नतिजा हेर्दा यसपटकको निर्वाचन पुराना प्रमुख राजनैतिक दलदेखि साना पार्टीसम्मका लागि निर्वाचन परिणाम प्राकृतिक विपत्तिसरह भएको छ । प्राकृतिक विपत्तिले जनधन तहसनहन गरेजस्तै प्रतिनिधिसभा निर्वाचन २०८२ एकसे एक नेता र शीर्ष तथा प्रमुख पार्टीका लागि राजनैतिक विपत्तिकै रूपमा खडा भएको छ । सबैजसो पार्टी हाँक्दै आएका, शीर्ष र प्रभावशाली नेता तथा पदाधिकारीले पराजयको सामना गर्नुपरेको छ ।
पछिल्लो निर्वाचनले नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई छोडेर ठूला मानिएका दलदेखि साना र तीनका नेताहरूलाई कम्तीमा ५ वर्षका लागि प्रतिनिधिसभा बाहिर पु¥याएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फराकिलो अंकको अकल्पनीय पराजयको सामना गर्नुपरेको छ भने सोही पार्टीका उपाध्यक्ष विष्णु पौडेल र पृथ्वी सुब्बा गुरुङ, अघिल्लो संघीय सदनका सभामुख भइसकेका देवराज घिमिरे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र गोकर्णराज विष्ट, सचिव महेश बस्नेतजस्ता प्रभावशाली मानिएका पदाधिकारीहरूलाई सदनबाहिरै बस्ने जनादेश प्राप्त भएको छ ।
पार्टी बदलेर देशसमेत बदल्ने सपना देखाएका नेपाली कांगे्रसका सभापतिले पनि नमिठो हार व्यहोर्नुपरेको छ । उहाँसँगै महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे, सहमहामन्त्री उदयशमशेर राणा, नेता विजय गच्छदार, डा. शेखर कोइराला, डा. चन्द्रकान्त भण्डारी, प्रकाश रसाइली स्नेहीजस्ता ठूला नाम पनि प्रनिनिधिसभाबाट बाहिरिएका छन् ।
तत्कालीन नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा वर्तमान नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पनि यो निर्वाचनको परिणामलाई आप्mनो पक्षमा बनाउन सक्नुभएन । त्यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन नै प्रतिनिधिसभाबाट बाहिरिनुभएको छ भने वरिष्ठ नेता कमल थापा पनि मैदान बाहिर पुग्नुभएको छ । अर्का नेता रवीन्द्र मिश्रले त पराजयपछि पार्टीको कुनै पनि पदमा नरहने गरी राजीनामा नै दिनुभएको छ ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि पराजय भोग्न बाध्य हुनुभएको छ भने सोही पार्टीका शरत सिंह भण्डारी पनि पराजित हुनुभएको छ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पनि जनमतले संसद् बाहिर राखेको छ भने कहिल्यै पराजय नभोगेका नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल पहिलोपटक सदनबाट बाहिर बस्नुपर्ने भएको छ । यस सँगसँगै विभिन्न पार्टीका थुप्रै नेता यसपटकको निर्वाचनबाट पराजयको मुहार हेर्न बाध्य भएका छन् ।
दशकौंदेखि रजगज गर्दै आएका प्रमुख दल तथा तिनका शीर्ष र प्रभावशाली नेता तथा पदाधिकारीका लागि निर्वाचनले प्रलयकारी परिणाम त दिएकै छ, साथसाथै भाद्र २३ मा भएको जेन–जी क्रान्तिलाई पनि यो जनमतले अनुमोदन गरेको छ ।











प्रतिक्रिया