राष्ट्रपति रामचन्द्र पौडेलद्वारा जारी अध्यादेशमार्फत १५ सय बढी राजनीतिक नियुक्ति खारेज हुने प्रक्रिया शुरु हुनु सामान्य प्रशासनिक निर्णय मात्र होइन, यो राज्य सञ्चालनको चरित्र बदल्ने सम्भावनासहितको एक निर्णायक मोड हो । बालेन्द्र शाह नेतृत्वको सिफारिसमा आएको यो कदमले विगतका अभ्यासमाथि प्रश्न उठाएको छ र भविष्यका लागि स्पष्ट सन्देश दिएको छ– राज्य संयन्त्र राजनीतिक भागवण्डाको थलो होइन, योग्यता र प्रतिस्पर्धाको मञ्च हुनुपर्छ । विगतको यथार्थ कठोर छ । ‘जसलाई पाए त्यही’ नियुक्त गर्ने प्रवृत्तिले विश्वविद्यालयदेखि सार्वजनिक संस्थान, नियामक निकायदेखि सञ्चार संस्थासम्मको कार्यसम्पादन क्षमतामा गम्भीर ह्रास ल्यायो । नातावाद, कृपावाद र दलगत निष्ठा नै प्रमुख योग्यता बन्यो । परिणामतः नीति निर्माण कमजोर भयो, संस्थागत स्मृति नष्ट भयो र जनविश्वास क्रमशः क्षय हुँदै गयो । राज्यका महत्वपूर्ण अंगहरू दक्ष नेतृत्वको अभावमा दिशाहीन देखिए । यो केवल प्रशासनिक समस्या होइन, लोकतान्त्रिक गुणस्तरको पनि ह्रास हो ।
यही सन्दर्भमा, वर्तमान अध्यादेशले दुईवटा सन्देश स्पष्ट पारेको छ । पहिलो– संवैधानिक निकायको स्वतन्त्रता अक्षुण्ण राखिनेछ, संविधानअनुसार नियुक्त पदाधिकारी सुरक्षित रहनेछन् । दोस्रो– बाँकी क्षेत्रमा अब नियुक्ति मेरिटोक्रेसी र खुला प्रतिस्पर्धाका आधारमा गरिनेछ । यही दोस्रो विन्दु नै सुधारको आत्मा हो । तर प्रश्न यहीँबाट शुरु हुन्छ– के केवल खारेजीले सुधार सुनिश्चित हुन्छ ? उत्तर स्पष्ट छ– हुँदैन । खारेजी त प्रारम्भ मात्र हो, वास्तविक परीक्षा नयाँ नियुक्ति प्रक्रियामा हुनेछ । यदि पुरानै शैली नयाँ नाममा दोहोरियो भने, आजको निर्णय पनि भोलिको असफलता बन्न सक्छ । अब छनौटका लागि मेरिटोक्रेसी र स्वच्छ प्रतिस्पर्धा अनिवार्य छ । मेरिटोक्रेसी केवल ‘योग्य व्यक्ति छान्ने’ कुरा मात्र होइन, यो संस्थागत संस्कृतिको रूपान्तरण हो । प्रतिस्पर्धाबाट आएका व्यक्ति प्रायः उत्तरदायी हुन्छन्, नीतिगतरूपमा स्पष्ट हुन्छन् र संस्थालाई दीर्घकालीन दृष्टि दिन सक्छन् । विश्वविद्यालयमा योग्य नेतृत्वले अनुसन्धान र नवप्रवर्तनलाई गति दिन्छ, नियामक निकायमा दक्ष व्यक्तिले बजार अनुशासन र उपभोक्ता संरक्षण सुनिश्चित गर्छ, सार्वजनिक संस्थानमा सक्षम व्यवस्थापनले नोक्सानी घटाएर सेवा गुणस्तर बढाउँछ ।
नेपालजस्तो विकासोन्मुख मुलुकमा जहाँ स्रोत सीमित छ, त्यहाँ गलत नियुक्तिको लागत धेरै महँगो पर्छ, अवसर गुम्ने, समय खेर जाने र जनविश्वास टुट्ने हुन्छ । त्यसैले मेरिटोक्रेसी विकल्प होइन, आवश्यकता हो । त्यसैले अब खुला र पारदर्शी प्रक्रिया थालेर सबै पदका लागि सार्वजनिक आह्वान, स्पष्ट मापदण्ड र अंक–आधारित मूल्यांकन प्रणाली अनिवार्य गरिनुपर्छ ।. राजनीतिक हस्तक्षेपबाट मुक्त, बहु–विषयगत विज्ञहरूको स्वतन्त्र छनोट समिति गठन गरिनुपर्छ । उम्मेदवार र निर्णयकर्ताबीचको सम्बन्ध स्पष्ट खुलासा गर्ने र आवश्यक परे बहिष्करण गर्ने व्यवस्था हुनुपर्छ । यसै गरी नियुक्तिपछि लक्ष्य, सूचक र समयसीमा निर्धारण गरी नियमित मूल्यांकन गरिनुपर्छ । उत्कृष्ट कामलाई प्रोत्साहन र असफलतामा स्पष्ट दण्डको व्यवस्था हुनुपर्छ ।
सुधारका यी उपाय कागजमा सजिला देखिन्छन् तर व्यवहारमा सबैभन्दा ठूलो अवरोध राजनीतिक इच्छाशक्ति नै हो । बालेन्द्र शाह नेतृत्वको सरकारले यसका लागि उच्च राजनीतिक इच्छाशक्ति प्रदर्शन गर्न सक्नुपर्छ । १५ सय नियुक्ति खारेजीको निर्णयले एउटा ढोका खोलेको छ तर त्यो ढोकाबाट कस्तो भविष्य भित्रिन्छ ? त्यो अबको कदमले तय गर्नेछ । विगतको गल्ती स्वीकार्दै, मेरिटोक्रेसी र प्रतिस्पर्धालाई संस्थागत गर्ने साहस देखाइयो भने मात्र यो निर्णय ऐतिहासिक बन्न सक्छ । अन्यथा, यो पनि अर्को चक्रको शुरुवात मात्र हुनेछ । राज्य सञ्चालनमा अब एकमात्र मन्त्र हुनुपर्छ– योग्यता, पारदर्शिता र उत्तरदायित्व । यही बाटोले मात्र सार्वजनिक संस्थानहरु वास्तवमै जनताको सेवा गर्ने क्षमतामा उभिन्छन् ।











प्रतिक्रिया