लिपुलेकबारे भारतको प्रतिक्रिया— कैलाश मानसरोवर यात्राका लागि ऐतिहासिक मार्ग, नेपालको दावी अस्वीकार्य


काठमाडौँ।

भारतले लिपुलेक पास कैलाश मानसरोवर यात्राका लागि ऐतिहासिक मार्ग भएको दावी गरेकाे छ।

यस सम्बन्धमा नेपालले राखेका सीमा सम्बन्धी दावीहरूलाई भारतले अस्वीकार गरेको हाे। नेपालको परराष्ट्र मन्त्रालयले कैलाश मानसरोवर यात्राको सन्दर्भमा व्यक्त गरेको सीमा सम्बन्धी धारणाकाे बारेमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले आइतबार साँझ यस्तो टिप्पणी गरेका छन् ।

प्रवक्ता जैसवालले यस विषयमा भारतको अडान स्पष्ट र सुसंगत रहेको समेत दावी गरेका हुन् । उनले “लिपुलेक पास सन् १९५४ देखि नै कैलाश मानसरोवर यात्राका लागि स्थापित मार्ग भएकाे समेत बताए । दशकौंदेखि यो मार्गबाट यात्रा भइरहेको बताउदै उनले यो कुनै नयाँ विकासक्रम नभएकाे जिकिर गरेका छन् ।

नेपालले गरेको दावीका सम्बन्धमा भारतले ती दावीहरू न्यायोचित नभएको र ऐतिहासिक तथ्य एवं प्रमाणमा आधारित नभएको जिकिर गरेको छ। प्रवक्ता जैसवालले आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै “क्षेत्रीय दावीहरूको यस्तो एकपक्षीय र कृत्रिम विस्तार टिकाउ हुन नसक्ने समेत जिकिर गरे ।

भारतले नेपालसँगको द्विपक्षीय सम्बन्धका सबै विषयमा रचनात्मक कुराकानीका लागि तयार रहेको बताएको छ। यसमा सहमति भएका बाँकी सीमा विवादलाई पनि वार्ता र कूटनीतिको माध्यमबाट समाधान गर्न भारत खुला रहेको प्रवक्ता जैसवालले उल्लेख गरे ।