ग्राउन्ड जिरो काठमाडौं–४: यसपटक न्याय मिल्ने डा. राजनलाई आश, सचिन र पुकार पनि जित निकाल्ने धुनमा


काठमाडौं।

काठमाडौं क्षेत्र नं ४ मा यसअघि लगातार तीनपटक विजयी हुनुभएका गगन थापा कांग्रेस सभापति भएपछि एकाएक सर्लाहीमा हानिँदा उहाँको चुनावी क्षेत्रमा कसले बाजी मार्ला भन्ने चासो सर्वत्र छ । यसअघि गगनसँगको प्रतिस्पर्धामा दुईपटक पराजय व्यहोरेका एमाले सचिव डा. राजन भट्टराई तेस्रोपटक आफूलाई न्याय हुने भन्दै जित्ने आशमा देखिनुहुन्छ । तर, लगातार कांग्रेसले जित्दै आएको क्षेत्र र रास्वपाप्रतिको मतदाताको केही आकर्षणले गर्दा राजनको आशा सजिलै पूरा हुनेमा ढुक्क हुने अवस्था नरहेको एमालेका स्थानीय कार्यकर्ताहरूकै भनाइ छ ।

यस क्षेत्रमा एमालेका भट्टराईसहित कांग्रेसका उम्मेदवार सचिन तिमल्सिना तथा रास्वपाका पुकार बम मुख्य प्रतिस्पर्धामा देखिनुहुन्छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट इन्द्रकुमार भुसाल उम्मेदवार हुनुहुन्छ । ०६४ पछिको हारको बदला लिने लक्ष्यसहित मैदानमा उत्रिएको नेकपाले गठबन्धन राजनीति अन्त्य भएसँगै आफ्नै आधार पुनः संरचना भएको दाबी गरेको छ । यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डा. सुरेन्द्रराज भण्डारी पनि चुनावी अभियानमा सक्रिय भएर लागिरहनुभएको छ । यसै गरी उज्यालो पार्टीका युवा उम्मेदवार दीपक अधिकारी (जेवी) पनि चुनावी अभियानमा उतिकै सक्रिय भएर लागिरहनुभएको छ ।

यहाँको निर्वाचन गणितको कुरा गर्दा २०७० सालको संविधानसभा चुनावमा एमालेका निर्मल कुइँकेल र एकीकृत माओवादीका नन्दकिशोर पुनलाई हराउँदै कांग्रेसका गगन थापाले चुनाव जित्नुभएको थियो । त्यसपछि २०७४ र २०७९ मा गगनले एमालेका राजन भट्टराईलाई लगातार पराजित गर्नुभएको थियो । २०७४ सालमा गगनले २१ हजार ५ सय ५८ मत ल्याउँदा भट्टराईले १८ हजार १ सय ४० मत पाउनुभएको थियो । त्यस्तै, २०७९ सालमा गगनले २१ हजार ३ सय २ मत पाउँदा भट्टराईले १३ हजार ८ सय ५५ पाउनुभएको थियो । त्यतिबेला तत्कालीन नेकपा माओवादीले कांग्रेससँग गठबन्धन गरी गगनलाई भोट हालेको थियो ।

काठमाडौं–४ मा काठमाडौं महानगरपालिकाका वडाहरू १, ७, ८, ३० र बूढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२, १३ वडाहरु पर्छन् । यतिखेर सबै उम्मेदवारहरू घरदैलो कार्यक्रममा व्यस्त छन् । यसपटक यहाँबाट निर्वाचन उठ्नेमा एमालेका भट्टराईबाहेक प्रायः सबै नयाँ अनुहार छन् । नयाँ अनुहार भएकाले स्थानीय स्तरमा उनीहरू खासै परिचित छैनन् । तर, राष्ट्रिय राजनीतिमा समेत भूमिका खेल्न सक्ने र परराष्ट्रविद्समेत मानिने एमालेका डा. भट्टराई भने यो क्षेत्रका लागि परिचित नाम नै हो । एमालेका स्थानीय कार्यकर्ताहरूका अनुसार भट्टराईलाई यसपटक सहानुभूति र अरू उम्मेदवारभन्दा केन्द्रमा शक्तिशाली मानिने हुँदा त्यसैको आधारमा भोट हालेर निर्वाचित हुने दाबी गर्ने गरेका छन् । भट्टराईले पनि यसपटक आफूलाई यस क्षेत्रमा आममतदाताले न्याय गर्ने विश्वास लिएको बताउनुभएको छ । ‘म स्थानीय मान्छे हुँ, स्थानीयस्तरका तमाम समस्या मलाई सबै थाहा छ, उहाँहरुले यसपटक मलाई यहाँको समस्या समाधान गर्ने जिम्मा दिनुहुनेछ र म उहाँहरूले दिएको जिम्मेवारीलाई पूर्ण रूपमा पूरा गरेरै छोड्नेछु’ –भट्टराईले भन्नुभयो । उहाँले आफू यस क्षेत्रको भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षालगायत सम्पूर्ण समस्याको समाधानका लागि दत्तचित्त भएर लाग्ने प्रण गर्नुभयो ।

यद्यपि, कांग्रेसले युवा उम्मेदवार दिएको र गगनकै उत्तराधिकारीको रूपमा तिमल्सिनालाई उभ्याएको सन्देश दिँदै मत मागिरहेकाले तिमल्सिना पनि यस क्षेत्रमा शक्तिशाली उम्मेदवारकै रूपमा रहनुभएको कांग्रेस कार्यकर्ताको दाबी छ । यद्यपि, उहाँ यस क्षेत्रमा कम परिचित भएकाले केही कठिन हुन सक्ने विश्लेषण गरिएको छ । तिमल्सिनाले आफू युवा भएकाले आम युवा र सबैको भावनाको प्रतिनिधित्व गर्दै राजनीतिमा लागेकाले यस क्षेत्र र समग्र मुलुकको सेवा गर्न मौका मिल्ने बताउनुभयो ।

उता, रास्वपाका पुकार बमले आफ्नो प्रचार अभियानलाई तीव्र बनाउँदै आइरहनुभएको छ । रास्वपामा देखिएको जनताको आकर्षण नै आफ्नो जित्ने आधार रहेको उहाँले बताउनुभयो । यस क्षेत्रमा सबै उम्मेदवारले स्थानीय स्ततरमा गर्नुपर्ने काम समेटर प्रतिबद्धता पत्र सार्वजनिक गरिसकेका छन् ।

एमालेका स्थानीय नेता तेज ढकालका अनुसार एमालेले १२ वडा कमिटी, १ हजार १ जनाको क्षेत्रीय परिचालन कमिटी १० माघमा बनाएर प्रचार अभियान तीव्र पारिरहेको छ । ‘महानगर क्षेत्रमा स्थानीय आदिवासी बढी छन्, एमाले कमजोर छैन । विगतको अनुभव छ, पार्टी बलियो छ’ –ढकालको दाबी छ । कांग्रेसले गगन थापाको प्रभाव, संगठनात्मक सञ्जाल र मतदाता तहबाट आएको आग्रहलाई उम्मेदवारीको आधार मानेको जनाएको छ । यस क्षेत्रमा युवा तथा नयाँ मतदाताको संख्या उल्लेख्य रहेकाले प्रचार शैली, प्रत्यक्ष सम्पर्क र उम्मेदवारको व्यक्तिगत छवि निर्णायक बन्नसक्ने देखिएको छ । विगतमा कांग्रेसको बलियो पकड रहेको यस क्षेत्रमा एमालेले संगठनात्मक स्थिरता र परिवर्तनको मुद्दा अघि सारेको छ भने रास्वपाले वैकल्पिक राजनीति र नयाँ नेतृत्वको एजेन्डा प्रस्तुत गर्दै आइरहेको देखिन्छ ।

मतदाता कति ?

जम्मा मतदाता : ७६ हजार १ सय ४१

महिला मतदाता : ३९ हजार ५ सय ९९

पुरुष मतदाता : ३६ हजार ५ सय ४२