झापा–५ मा ओलीको चुनावी भेटघाट तीव्र


झापा ।

नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली आज आफ्नै निर्वाचन क्षेत्र झापा–५ मा चुनावी प्रचार प्रसारका क्रममा मतदातासँग भेटघाटमा व्यस्त हुने भएका छन्। बिहान ९ः३० बजे दमक–९ को चिया पसलमा मतदाता भेटघाट कार्यक्रम तय गरिएको छ।


नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष समेत रहेका ओली मुख्यरूपमा गौरीगञ्ज क्षेत्रमा केन्द्रित हुने कार्यक्रम रहेको पार्टीका झापा जिल्ला सचिव तुलसी कार्कीले जानकारी दिएका छन्। उनका अनुसार बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म करिब ७ घण्टामा १२ वटा टोलका मतदातासँग भेटघाट तथा अन्तरक्रिया गरिनेछ।

गौरीगञ्ज–५ का श्यामा टोली, हरिरा, माथिल्लो दिनाभद्री, अल्ताबारी, दुर्गा मन्दिर, नयाँ बजार, बाह्रशुद्धी, लतिझुला, भवानीपुर र हुक्कागाछीलगायत क्षेत्रमा कार्यक्रम तय गरिएको छ। त्यस्तै गौरीगञ्ज–३ का बगुवातेलकानी, ठेकीटोला र तेलकानी टोलमा पनि मतदातासँग भेटघाट हुनेछ।

यसअघि पनि सो क्षेत्रका मतदातासँग भेट गरिसकेका ओलीले आज पुनः स्थानीय समस्या र गुनासा सुन्ने तथा समाधानका लागि प्रतिबद्धता जनाउने कार्यक्रम रहेको जनाइएको छ।