“नेपाली कांग्रेसद्वारा लोकतन्त्रको गौरवपूर्ण इतिहास स्मरण”


नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी।पी। स्मृति भवन, ललितपुरले फागुन ७, २०८२ का अवसरमा राष्ट्रिय प्रजातन्त्र दिवसको शुभकामना व्यक्त गरेको छ। पार्टीका सभापति गगनकुमार थापाले २००७ सालको ऐतिहासिक जनक्रान्तिले राणा शासनको अन्त्य गरी नेपालको आधुनिक लोकतान्त्रिक इतिहासको शुरुवात गरेको स्मरण गर्दै दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

सभापति थापाले भने, “कार्तिक २६, २००७ देखि सुरु भएको जनक्रान्तिले राजनीतिक मात्र नभई सामाजिक, आर्थिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा पनि नयाँ मार्ग प्रशस्त गरेको थियो। प्रजातन्त्रसँगै नागरिक अधिकार, राष्ट्रियता र जनसहभागिताको बलियो आधार निर्माण भएको हो।”

उहाँले ०४६ को परिवर्तन र ०६२/६३ को आन्दोलनमार्फत संघीयता र गणतन्त्रसम्मको यात्राको शुरुवात फागुन ७ को क्रान्ति भएको उल्लेख गर्दै लोकतान्त्रिक आन्दोलनमा बलिदानी दिने शहीदहरूप्रति श्रद्धासुमन अर्पण गर्नुभएको छ।