काठमाडाैं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले निर्वाचनअघि मत सर्वेक्षण गरी नतिजा सार्वजनिक नगर्न सञ्चार माध्यमलाई आग्रह गर्नुभएको छ।
मंगलबार काठमाडौंमा आयोजित मतदाता शिक्षा तथा निर्वाचन प्रचार–प्रसारसम्बन्धी कार्यक्रममा बोल्दै उहाँले मतदान हुनुअघि हार–जीतको अनुमान सार्वजनिक गर्दा मतदाताको स्वतन्त्र निर्णय दिग्भ्रमित हुन सक्ने बताउनुभयो। यस्तो कार्यले उम्मेदवारलाई हतोत्साही बनाउने र प्रतिस्पर्धाको वातावरण खलल पार्ने उहाँको भनाइ थियो।
उहाँले निर्वाचन आचारसंहिता २०८२ को पूर्ण पालना गर्न सबै पक्षलाई आग्रह गर्दै प्रविधिको दुरुपयोगप्रति सचेत रहनुपर्नेमा जोड दिनुभयो। आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरी तयार पारिएका भ्रामक सामग्री सामाजिक सञ्जालमा प्रसारण नगर्न तथा नगराउन सञ्चार माध्यम र सम्बन्धित पक्षलाई सहयोगी भूमिका खेल्न पनि उहाँले अनुरोध गर्नुभयो।
प्रविधिको विकासले सूचना प्रवाह सहज बनाए पनि यसको दुरुपयोगले निर्वाचनको निष्पक्षतामै असर पार्न सक्ने जोखिम रहेको भन्दै आयोगले सबैलाई जिम्मेवार बन्न आग्रह गरेको छ।











प्रतिक्रिया