सुनसरी ।
सुनसरीको दुहबी–८ स्थित जुटमिल अगाडि कोशी राजमार्गमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
शुक्रबार साँझ भएको दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ४९ वर्षीय तीर्थनारायण यादवको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। सप्तरी फुलहारा–३ घर भएका यादव हाल इटहरी–१३ स्थित रिलायन्स फ्याक्ट्रीको क्वाटरमा बस्दै आएका थिए। गम्भीर घाइते अवस्थामा उनलाई विराट मेडिकल कलेज टिचिङ अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काका अनुसार फलाम फ्याक्ट्रीबाट कोशी राजमार्गमा निस्किएर दुहबीतर्फ आउँदै गरेको को २७ प ८१३४ नम्बरको मोटरसाइकल र खनारबाट दुहबीतर्फ आउँदै गरेको प्र १–०२–०५२ प ३०५९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा संलग्न दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। एक मोटरसाइकल चालक दुहबी–८ बस्ने ४५ वर्षीय सुमन राई तथा अर्का चालक सप्तरी रुपनी गाउँपालिका–३ घर भई हाल इटहरी–१३ बस्ने ४७ वर्षीय जयनारायण साहलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया