काठमाडौं ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हाल सुँगुर–बंगुरमा अफ्रिकन स्वाइन फिभर (एएसएफ) को जोखिम बढ्दै गएको भन्दै सम्बन्धित किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयका अनुसार हालसम्म उक्त रोगविरुद्ध कुनै प्रभावकारी खोप उपलब्ध नभएकाले फार्ममा कडाइका साथ जैविक सुरक्षा मापदण्ड (बायो–सेक्युरिटी) लागू गर्नुपर्ने आवश्यकता रहेको छ।
अस्वाभाविक रूपमा सुँगुर वा बंगुर मरेमा तत्काल संघ, प्रदेश तथा स्थानीय तहमा रहेका पशु सेवा केन्द्र वा सम्बन्धित निकायमा जानकारी गराउन पनि आग्रह गरिएको छ। मन्त्रालयअन्तर्गत रहेको कृषि, सूचना तथा प्रशिक्षण केन्द्रका डा. सञ्जीव पण्डितका अनुसार अफ्रिकन स्वाइन फिभर विषाणुका कारण लाग्ने संक्रामक रोग हो, जसले घरपालुवा सुँगुर, बंगुर तथा जंगली बँदेल प्रजातिलाई असर गर्छ। संक्रमित पशुमा १०४ देखि १०७ डिग्रीसम्म उच्च ज्वरो आउने, कान, पुच्छर तथा पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा नीलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने र छटपटाउने जस्ता लक्षण देखिन्छन्।
उनका अनुसार यो रोगबाट पशुको मृत्युदर अत्यन्त उच्च रहने भए पनि पशुबाट मानिसमा भने संक्रमण सर्दैन। संक्रमण फैलिन नदिन केन्द्रले किसानलाई सन्देशमूलक सूचना प्रवाह गरिरहेको जनाएको छ। विशेषगरी यस्ता लक्षण देखिएका सुँगुर, बंगुर तथा तिनका पाठापाठी वा अन्य पशुसँग सम्पर्कमा आएको मासुजन्य वस्तु एक स्थानबाट अर्को स्थानमा ओसारपसार गर्दा संक्रमण तीव्र रूपमा फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
केन्द्रका अनुसार नेपालमा पहिलोपटक तीन वर्षअघि अफ्रिकन स्वाइन फिभरको संक्रमण पुष्टि भएको थियो। त्यसयता विशेषगरी काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा १० हजारभन्दा बढी सुँगुर तथा बंगुरमा संक्रमण फैलिएको तथ्यांक छ। मन्त्रालयले रोगको सम्भावित जोखिमलाई ध्यानमा राख्दै किसानलाई फार्म वरपरको सरसफाइ, बाह्य व्यक्तिको आवतजावत नियन्त्रण, पशुको नियमित स्वास्थ्य परीक्षण तथा शंकास्पद अवस्थाको तत्काल रिपोर्टिङ गर्न पुनः आग्रह गरेको छ।











प्रतिक्रिया