जोई साल्दाना हलिउडकै सर्वाधिक धेरै कमाइ गर्ने अभिनेत्री


हलिउड अभिनेत्री जोई साल्दानाले बक्सअफिसमा ऐतिहासिक उपलब्धि हासिल गर्दै सबैभन्दा धेरै कमाइ गर्ने अभिनेत्रीको कीर्तिमान बनाएकी छिन्।
जेम्स क्यामरुनद्वारा निर्देशित फिल्म अवतार : फायर एन्ड एशको विश्वव्यापी सफलतासँगै उनले यो स्थान हासिल गरेकी हुन्। सन् २०२६ को जनवरीसम्म आइपुग्दा फिल्मले विश्वभर करिब १.२३ अर्ब अमेरिकी डलर कमाइ गरिसकेको छ। यसमध्ये अन्तर्राष्ट्रिय बजारबाट करिब ८ सय ८ मिलियन डलर र उत्तर अमेरिकी बजारबाट करिब ३ सय ४३ मिलियन डलर आम्दानी गरेको समाचारमा जनाइएको छ। यो सफलतास“गै जोई साल्दानाको कुल फिल्म करियर बक्सअफिस कमाइ १६.८ अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ। यसअघि यो कीर्तिमान मार्वल सिनेम्याटिक युनिभर्सकी चर्चित अभिनेत्री स्कारलेट जोहानसनको नाममा थियो, जसको कुल कमाइ करिब १६.४ अर्ब डलर रहेको थियो।

जोई साल्दानाले जेम्स क्यामरुनको अवतार श्रृंखलामा नेयतिरी नामक पात्रको भूमिका निर्वाह गर्दै आएकी छिन्। उनले सन् २००९ मा रिलिज भएको पहिलो अवतार, सन् २०२२ को अवतार : द वे अफ वाटर र हालै प्रदर्शनमा आएको अवतार : फायर एन्ड एशमा यही भूमिका दोहो¥याएकी हुन्। पहिलो अवतार हालसम्मकै सर्वाधिक धेरै कमाइ गर्ने फिल्मको रूपमा स्थापित छ। साल्दाना यसअघि नै चारवटा फिल्मले १ अर्ब डलरभन्दा बढी कमाइ गर्ने पहिलो कलाकार बनेकी थिइन्। ती फिल्ममा अवतार श्रृंखलाका दुई फिल्मस“गै एभेन्जर्स : इन्फिनिटी वार र एभेन्जर्स ः एन्डगेम पनि पर्दछन्।

बक्सअफिस सफलता मात्र होइन, अभिनय क्षमताका कारण पनि जोई साल्दाना अत्यन्त सम्मानित मानिन्छिन्। उनले हालसम्म विभिन्न अन्तर्राष्ट्रिय अवार्ड समारोहमा १ सय २३ भन्दा बढी मनोनयन प्राप्त गरिसकेकी छन्। उनका उपलब्धिमा एकेडेमी अवार्ड, बाफ्टा अवार्ड, कान्स फिल्म फेस्टिभल अवार्ड, क्रिटिक्स च्वाइस अवार्डका साथै गोल्डेन ग्लोब र स्क्रिन एक्टर्स गिल्ड अवार्डसमेत समावेश छन्। सन् २०२६ सम्म आइपुग्दा उनले करिब ३७ प्रतिष्ठित फिल्म अवार्ड जितिसकेकी छन्। जोई साल्दानाको यो उपलब्धिलाई हलिउड इतिहासकै एक महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।