अध्यक्ष लामिछाने किन परे ओझेलमा ?

8.65k
Shares

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित भएपछि बालेन्द्र साह (बालेन) को राजनीतिक प्रभाव झन् बलियो बन्दै गएको देखिन्छ ।
देश दौडाहामा सक्रिय रहेका साह युवा पुस्तामाझ आकर्षणको केन्द्र बन्दै जाँदा सोही पार्टीका अध्यक्ष रवि लामिछाने भने पछिल्ला दिनमा अपेक्षाकृत गुमनामजस्तै देखिन थालेका छन् । अहिलेको राजनीतिक माहोल हेर्दा ‘रास्वपा भनेकै बालेन’ भन्ने धारणा सामाजिक सञ्जालदेखि चियापसलको बहससम्म फैलिन थालेको छ ।

पार्टीमा साहको प्रवेशपछि जनमत उहाँतर्फ केन्द्रित हुँदै गएको छ । विशेषगरी युवा पुस्तामा साहको क्रेज उल्लेखनीय देखिन्छ । साह जहाँ पुगे पनि ठूलो संख्यामा समर्थकहरू जम्मा हुने, सामाजिक सञ्जालमा उहाँको पक्षमा आक्रामक ढंगले बहस हुने र अन्य दलका नेतामाथि कडा आलोचना हुने क्रम बढ्दो छ । यसको उल्टो, रास्वपाका संस्थापक अध्यक्ष लामिछानेको सार्वजनिक उपस्थिति र चर्चा भने न्यून देखिन थालेको छ ।

सामाजिक सञ्जालको अवस्था हेर्दा पनि यो अन्तर स्पष्ट देखिन्छ । साहका समर्थकहरू फेसबुक, टिकटक र एक्स (ट्विटर) जस्ता प्लेटफर्ममा निकै उग्र रूपमा प्रस्तुत भइरहेका छन् । उनीहरू साहलाई ‘वैकल्पिक राजनीतिका असली प्रतिनिधि’का रूपमा चित्रण गर्दै अन्य दलमात्र होइन, आफ्नै पार्टीभित्रका पुराना नेतामाथि समेत कटाक्ष गर्न पछि परिरहेका छैनन् । तर, लामिछानेको नाम र गतिविधिबारे चर्चा भने निकै सीमित देखिन्छ ।

यस विषयमा रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले भने फरक व्याख्या गर्नुभयो । उहाँका अनुसार पार्टी अध्यक्ष लामिछाने अहिले चुनावी रणनीति र संगठन विस्तारमा केन्द्रित भएकाले सार्वजनिक रूपमा कम देखिनुभएको हो ।
‘अध्यक्षज्यू पर्दाभित्र बसेर रणनीतिक काममा व्यस्त हुनुहुन्छ । त्यसैले अहिले उहाँको चर्चा कम भएको जस्तो देखिएको हो’ –बुर्लाकोटीको दाबी छ । पार्टीभित्र कुनै असन्तुलन वा नेतृत्व संकट नरहेको उहाँको भनाइ छ ।

तर, राजनीतिक विश्लेषकहरू भने यो विषयलाई सामान्य रूपमा मात्र हेर्न नहुने बताउँछन् । राजनीतिक विश्लेषक डा. रामहरि अमगाईंका अनुसार साहको लोकप्रियता र लामिछानेको ओझेलिनु केवल संयोग होइन । बालेन साह एक प्रकारको ‘पपुलिस्ट आइकन’ का रूपमा उदाउनुभएको छ । ‘उहाँप्रति युवापुस्ताको आकर्षण भावनात्मक छ, जसले पार्टीको आन्तरिक शक्ति सन्तुलनमा असर पार्न सक्छ’ –अमगाईं भन्नुहुन्छ । उहाँका अनुसार लामिछाने पार्टीको संस्थागत नेता भए पनि साहको करिस्माले पार्टीको सार्वजनिक अनुहार नै परिवर्तन गरिदिएको छ ।

डा. अमगाईं थप्नुहुन्छ– ‘राजनीतिमा व्यक्ति केन्द्रित लोकप्रियता लामो समय टिक्दैन भन्ने इतिहास छ । तर, तत्कालका लागि भने बालेन क्रेजले रास्वपाका अन्य नेताहरूलाई छायामा पारिदिएको छ । यदि पार्टीले यसलाई व्यवस्थापन गर्न सकेन भने आन्तरिक असन्तुष्टि र नेतृत्व संघर्ष देखिन सक्छ ।’

पार्टीभित्रै पनि बालेन साहको बढ्दो प्रभावलाई लिएर असहजता महसुस हुन थालेको संकेत देखिन्छ । केही रास्वपा नेताहरू अनौपचारिक रूपमा साहको लोकप्रियताले पार्टीका अन्य नेतृत्व पंक्तिलाई दबाबमा पारेको स्वीकार गर्न थालेका छन् । साहकै कारण पार्टी चर्चामा छ, तर यसले दीर्घकालमा सबै नेताका लागि सहज अवस्था बनाउँछ कि बनाउँदैन, त्यो प्रश्न हो, एक नेताले नाम नखुलाउने सर्तमा बताए ।

देशभर साहको पक्षमा युवापुस्ता खुलेर लागेपछि चुनावी सरगर्मी स्वाभाविक रूपमा बढेको छ । साहका समर्थकहरूले अन्य दलमाथि गरेको आक्रामक आलोचना र गालीगलौजले चुनावी माहोललाई थप तातो बनाएको छ । यसले मतदाता ध्रुवीकरण त गरिरहेको छ, तर त्यसको नतिजा कति सकारात्मक वा नकारात्मक हुन्छ भन्ने विषय भने निर्वाचनपछि मात्र स्पष्ट हुनेछ ।

राजनीतिक विश्लेषकहरूका अनुसार अहिलेको अवस्था रास्वपाका लागि अवसर र चुनौती दुवै हो । एकातिर साहको लोकप्रियताले पार्टीलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याएको छ भने अर्कोतिर नेतृत्वको सन्तुलन बिग्रने जोखिम पनि उत्तिकै छ । यदि पार्टीले साहको क्रेजलाई संस्थागत संरचनाभित्र समेट्न सकेन भने ‘वन म्यान सो’ को आरोप लाग्न सक्ने उनीहरूको तर्क छ ।
समग्रमा हेर्दा, रास्वपामा बालेन साहको उदयले पार्टीभित्र नयाँ ऊर्जा थपेको छ । तर, यही ऊर्जाले अध्यक्ष रवि लामिछानेसहित अन्य नेताहरूलाई ओझेलमा पार्दै लगे पार्टीको दीर्घकालीन राजनीतिक यात्रामा असर पर्न सक्ने चिन्ता पनि उत्तिकै छ । आगामी निर्वाचनले बालेन क्रेज कति प्रभावकारी रह्यो र रास्वपाको वास्तविक शक्ति कहाँ केन्द्रित छ भन्ने प्रश्नको उत्तर दिनेछ ।