श्रमिक दिवसमा श्रममन्त्रीका तीन महत्वपूर्ण घोषणा


काठमाडौँ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा तीन महत्वपूर्ण घोषणा गरेका छन्।

१३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस (मे दिवस) का अवसरमा भिडियो सन्देश जारी गर्दै मन्त्री यादवले पहिलो घोषणाअन्तर्गत पाँच वर्षे राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य कार्यक्रम सुरु गरिएको जानकारी दिए। उक्त कार्यक्रममार्फत श्रमिकहरूको सुरक्षा, स्वास्थ्य तथा सुरक्षित कार्य वातावरणको अधिकार सुनिश्चित गरिने उनले बताए।

दोस्रो घोषणाअनुसार विदेशमा रहेका नेपाली श्रमिकहरूसँग प्रत्यक्ष संवाद, सूचना प्रवाह र समस्या समाधानलाई प्रभावकारी बनाउन विभिन्न देशस्थित नेपाली दूतावासमा रहेका श्रम सहचारी तथा कन्सुलरमार्फत हप्तामा एकपटक फेसबुक लाइभ कार्यक्रम सञ्चालन गरिनेछ। “अब तपाईंहरू जहाँ हुनुहुन्छ, सरकार तपाईंसँगै छ,” मन्त्री यादवले भने।

तेस्रो घोषणामा उनले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकहरूलाई घडेरी खरिदका लागि ६ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराइने जानकारी दिए। साथै, नियमानुसार एक करोड ५० लाख रुपैयाँसम्म सापटी लिन सक्ने व्यवस्था गरिएको पनि उनले उल्लेख गरे।

यसका अतिरिक्त नीतिगत सुधार, संस्थागत पुनर्संरचना तथा नयाँ रोजगारी सिर्जना गर्ने कार्यक्रमहरू अघि बढिरहेको मन्त्री यादवले बताए।

भिडियो सन्देशमा उनले “श्रमको सम्मान नै देश विकासको आधार हो” भन्ने मूल मर्मलाई आत्मसात् गर्दै सबै श्रमिकका लागि उचित पारिश्रमिक, मर्यादित कार्य वातावरण र श्रम अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।

उनले श्रम कुनै एक पेशा वा वर्गमा सीमित नहुने उल्लेख गर्दै निर्माण मजदुरदेखि चिकित्सक, किसानदेखि कानुन व्यवसायी, घरेलु श्रमिकदेखि इन्जिनियर तथा शिक्षकसम्म सबैलाई श्रमिककै रूपमा परिभाषित गरे।

मन्त्री यादवले सबैले आ–आफ्नो क्षेत्रबाट राष्ट्र निर्माणमा योगदान गरिरहेको उल्लेख गर्दै श्रमिकहरूको सम्मान र एकअर्काप्रति कृतज्ञताको भावना अझ सुदृढ बनाउन आवश्यक रहेको बताएका छन्।