काठमाडौं।
नबिल बैंक लिमिटेडको सामाजिक उद्यमशीलता प्रवर्द्धन कार्यक्रम ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेन्योरसिप’ (नबिल एसएसई) ले पाँच वर्षको अवधिमा ३१८ वटा उद्यम स्थापना गर्न सहयोग गरेको छ। कार्यक्रममार्फत हालसम्म एक हजार ५८० जनाले उद्यमशीलतासम्बन्धी ज्ञान तथा सीप हासिल गरेका छन् भने १९ हजार ३०३ भन्दा बढी प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी र जीविकोपार्जनका अवसर सिर्जना भएको बैंकले जनाएको छ।
सन् २०२१ नोभेम्बर २६ मा सुरु भएको नबिल एसएसईले सामाजिक समस्या पहिचान गरी उद्यमशीलताको माध्यमबाट त्यसको दिगो समाधान खोज्ने उद्देश्यसहित काम गर्दै आएको छ। कार्यक्रमले विशेषगरी नवीन सोच भएका युवालाई आवश्यक ज्ञान, सीप, परामर्श तथा व्यावसायिक सञ्जाल उपलब्ध गराउँदै उद्यम स्थापना र सञ्चालनमा सहयोग गर्दै आएको बैंकको भनाइ छ।
नबिल बैंकका अनुसार कार्यक्रमअन्तर्गत सञ्चालित फेलोसिप र सर्टिफिकेट कोर्सबाट हालसम्म एक हजार ५८० जना लाभान्वित भएका छन्। फेलोसिप कार्यक्रमका छ वटा समूहबाट ११३ जना प्रशिक्षित भएका छन्। उनीहरूको नेतृत्वमा ९३ वटा उद्यम स्थापना भएका छन्।
त्यस्तै, देशका विभिन्न शैक्षिक संस्थासँगको सहकार्यमा सञ्चालन हुँदै आएको सर्टिफिकेट कोर्समार्फत एक हजार ४६७ जना लाभान्वित भएका छन्। उनीहरूको सहभागितामा २२५ वटा उद्यम स्थापना भएका छन्।
कार्यक्रमले उद्यम स्थापना गर्ने सीपसँगै सामाजिक समस्या समाधानलाई पनि प्राथमिकता दिँदै आएको छ। यसअन्तर्गत सहभागीहरूले व्यावसायिक मोडल विकास, नेतृत्व क्षमता, वित्तीय व्यवस्थापन, बजार विस्तार, सामाजिक प्रभाव मापन, लगानी आकर्षण तथा उद्यम सञ्चालनसम्बन्धी सैद्धान्तिक र व्यावहारिक ज्ञान हासिल गर्ने अवसर पाएका छन्।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले पाँच वर्षको उपलब्धिले सामाजिक उद्यमशीलताको माध्यमबाट दिगो परिवर्तन सम्भव रहेको देखाएको बताएका छन्।
उनले उद्यमशीलतालाई आर्थिक गतिविधिमा मात्र सीमित नराखी सामाजिक समस्या समाधान र सकारात्मक परिवर्तनको माध्यमका रूपमा अघि बढाइएको उल्लेख गरे। सही ज्ञान, मार्गदर्शन र अवसर प्राप्त हुँदा नेपाली युवाले नवीन सोचलाई सफल उद्यममा रूपान्तरण गरी समुदाय तथा राष्ट्रको विकासमा योगदान दिन सक्ने उनको भनाइ छ।
नबिल एसएसईमार्फत प्रशिक्षित उद्यमीहरूले स्थानीय स्रोत, सीप र प्रविधिको उपयोग गर्दै विभिन्न सामाजिक, आर्थिक तथा वातावरणीय समस्या समाधानका लागि उद्यम सञ्चालन गरिरहेका छन्। स्थानीय कृषि उत्पादनको प्रवर्द्धन तथा बजारीकरण, अनुभवमा आधारित पर्यटन, ड्रोन प्रविधिको प्रयोग, स्थानीय कारीगरका उत्पादनको विकास, सूचना प्रविधिमार्फत रोजगारीको पहुँच विस्तार तथा युवाको मानसिक र भावनात्मक स्वास्थ्य प्रवर्द्धनका क्षेत्रमा यस्ता उद्यम सञ्चालनमा रहेका छन्।
त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालन हुँदै आएको नबिल एसएसई फेलोसिप कार्यक्रम छ महिनाको क्षमता विकास कार्यक्रम हो। यसमा आवासीय सिकाइ, विशेषज्ञ परामर्श, क्षेत्र अध्ययन, सहकर्मी सिकाइ, व्यावसायिक मोडल विकास तथा लगानीकर्तासमक्ष व्यावसायिक योजना प्रस्तुत गर्नेलगायतका गतिविधि समावेश छन्।
पाँच वर्षको अवधिमा कार्यक्रमले विभिन्न भूगोल, समुदाय र क्षेत्रका उद्यमीलाई एउटै मञ्चमा जोड्दै सामाजिक नवप्रवर्तन तथा दिगो विकासमा योगदान पुर्याउँदै आएको बैंकले जनाएको छ।
बैंकका अनुसार नबिल एसएसई फेलोसिपको सातौँ समूहका लागि छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ भने विभिन्न साझेदार शैक्षिक संस्थामार्फत नयाँ सर्टिफिकेट कोर्स समूहसमेत सञ्चालन भइरहेका छन्।
नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक उद्यमशीलता, रोजगारी सिर्जना र दिगो विकासलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।








तपाईंको विचार लेख्नुहोस्