बागडोग्रा र रक्सौलका लागि नेपाली हवाई क्षेत्र प्रयोग गर्ने भारतको प्रस्ताव, भैरहवा र पोखराका लागि प्रवेशमार्ग सुनिश्चित गर्न बालेनमाथि दबाब
काठमाडौँ ।
अर्बौं रुपैयाँ खर्च गरेर निर्माण गरिएका पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अपेक्षित रूपमा सञ्चालन हुन नसकिरहेका बेला भारतले आफ्ना विमानस्थलका लागि नेपालको हवाई क्षेत्र प्रयोग गर्न प्रस्ताव गरेपछि पुरानो हवाई प्रवेशमार्गको विवादले नयाँ मोड लिएको छ ।
नेपालले भैरहवा र पोखराका लागि भारतीय आकाश हुँदै सहज प्रवेशमार्ग मागिरहेको अवस्थामा भारतले पश्चिम बंगालको बागडोग्रा र बिहारको रक्सौलबाट हुने उडानका लागि नेपालको पूर्वी हवाई क्षेत्र प्रयोग गर्न खोजेको छ ।
दुई देशबीच हवाई क्षेत्र प्रयोगसम्बन्धी पछिल्लो छलफलसँगै प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमणमा यो विषय महत्वपूर्ण एजेन्डा बन्ने देखिएको छ । नेपालले बागडोग्राको प्रस्तावमा सकारात्मक संकेत दिएको छ भने रक्सौलका लागि थप प्राविधिक अध्ययन आवश्यक रहेको जवाफ दिएको छ । अब भारतको प्रस्तावलाई स्वीकार गर्दा नेपालले वर्षौँदेखि मागिरहेको भारतीय हवाई प्रवेशमार्ग कसरी सुनिश्चित गर्ने भन्ने प्रश्न पेचिलो बनेको छ ।
नेपालको मुख्य माग पश्चिमबाट आउने अन्तर्राष्ट्रिय विमानलाई महेन्द्रनगर, नेपालगञ्ज र भैरहवा क्षेत्रबाट प्रवेश गर्न दिनुपर्ने हो । अहिले पश्चिमी मुलुकबाट आउने अधिकांश विमान भारतीय आकाश हुँदै पूर्वतिर घुमेर सिमरा प्रवेश बिन्दुबाट नेपाल छिर्नुपर्ने बाध्यतामा छन् । त्यसपछि पुनस् पश्चिम फर्किएर भैरहवा वा पोखरा पुग्नुपर्छ । यसले उडान दूरी, समय र इन्धन खर्च बढाएको छ । महेन्द्रनगर वा नेपालगञ्जबाट प्रवेश गर्न पाए पश्चिमबाट आउने विमानको उडान समय करिब १० देखि १५ मिनेटसम्म घट्न सक्ने सम्भावना छ ।
नेपालले यो माग उठाउन थालेको एक दशकभन्दा बढी भइसकेको छ । सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले थप हवाई प्रवेशमार्गको प्रस्ताव गर्नुभएको थियो । त्यसपछि केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’का भारत भ्रमणमा पनि यो विषय उठ्यो । राजनीतिक तहमा सकारात्मक प्रतिबद्धता आए पनि प्राविधिक सहमति हुन सकेको छैन ।
भारतले विशेषगरी महेन्द्रनगर र नेपालगञ्ज क्षेत्रलाई सैन्य सुरक्षाको दृष्टिले संवेदनशील भन्दै आएको छ । गोरखपुरस्थित भारतीय वायुसेना आधार शिविरलगायत सैन्य संरचना र नागरिक तथा सैनिक विमानको हवाई आवागमन व्यवस्थापनलाई कारण देखाउँदै उसले थप प्रवेशमार्गमा आनाकानी गर्दै आएको छ । नेपालले भने निश्चित उचाइ, समय र सुरक्षा मापदण्ड निर्धारण गरेर प्राविधिक समाधान निकाल्न सकिने बताउँदै आएको छ ।
यो विवादको प्रत्यक्ष असर भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परेको छ । करिब ३५ अर्ब रुपैयाँभन्दा बढी लागतमा निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र करिब २५ अर्ब ३४ करोड रुपैयाँ खर्च भएको पोखरा विमानस्थलले अपेक्षित अन्तर्राष्ट्रिय उडान पाउन सकेका छैनन् । पोखरामा सन् २०२६ सेप्टेम्बरदेखि फ्लाई दुबईले दैनिक उडान सुरु गरेपछि केही आशा देखिएको छ । तर नियमित उडान विस्तारका लागि हवाई मार्गसँगै यात्रुको माग, व्यावसायिक सम्भाव्यता र पर्यटन बजार पनि बलियो हुनुपर्ने देखिन्छ ।
भारतले नेपालको आकाश प्रयोग गर्न खोज्नु नेपालका लागि वार्ताको अवसर हुन सक्छ । तर बागडोग्रा र रक्सौललाई अनुमति दिँदैमा भैरहवाले भारतीय आकाशको पहुँच स्वतस् पाउने सुनिश्चितता हुँदैन । दुवै प्रस्तावको उडान मार्ग, उचाइ, हवाई ट्राफिक व्यवस्थापन र सुरक्षा प्रबन्ध छुट्टाछुट्टै प्राविधिक सहमतिबाट टुंग्याउनुपर्छ । नेपालले आफ्नो आकाश प्रयोगको अनुमति र आफूले खोजेको हवाई पहुँचबीच स्पष्ट पारस्परिक लाभ सुनिश्चित गर्नुपर्ने विज्ञहरू बताउँछन् ।
पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको भारत भ्रमणमा आर्थिक कूटनीति, पर्यटन, ऊर्जा र हवाई सम्पर्कलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । भारतका लागि निवर्तमान नेपाली राजदूत डा। शंकर शर्माले भने वार्ताअघि नेपालले आफ्नो अडान र लचकताको सीमा स्पष्ट गर्नुपर्नेमा जोड दिनुभएको छ ।
प्रधानमन्त्री शाहका लागि यो भ्रमण केवल हवाई मार्गको विषय होइन, अर्बौंको सार्वजनिक लगानीको प्रतिफल र नेपालको कूटनीतिक क्षमताको परीक्षा पनि हो । भारतलाई आफ्नो आकाश प्रयोग गर्न दिने निर्णय गर्दा नेपालले भैरहवा र पोखराका लागि आवश्यक भारतीय हवाई प्रवेशमार्गको ठोस सुनिश्चितता खोज्नुपर्छ । विगतमा राजनीतिक प्रतिबद्धतामै सीमित भएको विषयलाई यसपटक कार्यान्वयनयोग्य सहमतिमा बदल्न सके मात्रै यो भ्रमण उपलब्धिमूलक हुनेछ ।
तर अहिलेसम्म शाहको भारत भ्रमणको मिति भने घोषणा भएको छैन । नेपालले मंसिर ७ गतेदेखि प्रधानमन्त्रीको भारत भ्रमण हुने दाबी गर्दै आएको छ । उता भारतले भने अहिलेसम्म शाहको भारत भ्रमणको बारेमा कुनै मिति सार्वजनिक गरेको छैन ।











प्रतिक्रिया