बझाङ ।
बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएकामा थप खोजीका क्रममा एक बालिकाको शव फेला परेपछि मृतकको संख्या चार पुगेको हो ।
टुमेडा गाउँबाट बुङ्गल नगरपालिका–११ हिन्गडा बजारतर्फ जाँदै गरेको सुपप्र ०१–००१ ह ७९९८ नम्बरको अटो सोमवार बिहान करिब १०:२० बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । दुर्घटनामा अटो अनियन्त्रित भएर सडकबाट करिब ९०० मिटर तल भिरमा खसेको थियो ।
दुर्घटनामा परी बुङ्गल नगरपालिका–१० की अन्दाजी ३५ वर्षीया राजमती महरा, १५ वर्षीया तारा महरा, छ वर्षीया डल्ली महरा र अन्दाजी चार वर्षीया रियास महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक टेक जोराले बताउनुभयो । अटोमा चालकसहित छ जना सवार रहेको खुलेको छ । दुर्घटनामा सवार सोही ठाउँका अन्दाजी १२ वर्षीय विक्रम महरा भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि खोज तथा उद्धारका लागि अस्थायी प्रहरी पोस्ट पुतलीलेकबाट प्रहरी सहायक हवल्दार उत्तम सिंह बोहराको कमान्डमा चार जना, इलाका प्रहरी कार्यालय बुङ्गलबाट प्रहरी नायब निरीक्षक तेजबहादुर रावलको कमान्डमा चार जना र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सेनाको कमान्डमा सात जनाको प्रहरी टोली परिचालन गरिएको थियो ।
दुर्घटनामा संलग्न अटो चालक बुङ्गल नगरपालिका–११ का २५ वर्षीय टेकबहादुर पातलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।











प्रतिक्रिया