अन्तरजातीय विवाहपछि छठ घाटमा विभेदको आरोप, सुरेन्द्र साहले बनाए छुट्टै घाट

0
Shares

सर्लाही।

सर्लाहीको धनकौल गाउँपालिका–५ का सुरेन्द्र साहले छोराले दलित समुदायकी युवतीसँग विवाह गरेको कारण आफूलाई सामूहिक छठ पूजामा सहभागी हुन नदिइएको आरोप लगाएका छन्। हनुमान चोकस्थित छठ घाटमा आफूलाई पूजा गर्न रोकिएपछि ६ हजार रुपैयाँ खर्च गरेर छुट्टै घाट निर्माण गर्नुपरेको उनले बताएका छन्।

साहका अनुसार उनका छोरा रवि किशन साहले गत वर्ष स्थानीय पासवान समुदायकी युवतीसँग विवाह गरेका थिए। त्यसयता आफूहरूलाई हनुमान चोकमा सामूहिक रूपमा छठ पूजा गर्न नदिइएको उनको आरोप छ। गत वर्ष पनि घाटमा पूजा गर्न नपाएपछि ससुरालीमा गएर पूजा गरेको र यस वर्षसमेत अवरोध भएपछि छुट्टै घाट बनाएर पूजा गर्न बाध्य भएको उनले बताए।

‘घाटमा अन्य जातजाति तथा दलित समुदायका व्यक्तिहरूको समेत पूजाका डाला राखिएका छन्। तर, मलाई व्यक्तिगत रूपमा पूजा गर्न दिइएन,’ साहले भने। टेन्ट व्यवसायीलाई ६ हजार रुपैयाँ दिएर छुट्टै घाट निर्माण गर्नुपरेको बताउँदै उनले सम्बन्धित निकायसँग न्यायको माग गरेका छन्।

घटनाबारे धनकौल गाउँपालिका–५ का वडाध्यक्ष गजेन्द्र महतोले पनि आफूलाई जानकारी रहेको बताएका छन्। पीडित साह न्यायका लागि वडा कार्यालयमा आएको उल्लेख गर्दै उनले वडाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। यद्यपि, सम्बन्धित पक्षबीच आपसी विवादसमेत रहेको भन्दै उनले घटनाबारे थप टिप्पणी गर्न चाहेनन्।

यसैबीच, जिल्ला प्रशासन कार्यालय सर्लाहीले छठ पर्वमा कुनै पनि किसिमको जातीय तथा धार्मिक विभेद वा अवरोध स्वीकार्य नहुने स्पष्ट पारेको छ। आइतबार जारी अत्यन्त जरुरी सूचनामा प्रशासनले छठ पर्वलाई विभिन्न जातजाति तथा धार्मिक सम्प्रदायले साझा पर्वका रूपमा मनाउँदै आएको उल्लेख गर्दै कसैको धार्मिक आस्थामा अवरोध पुर्‍याउने गतिविधि नेपालको संविधानले प्रत्याभूत गरेको धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव र आपसी भाइचाराविपरीत हुने जनाएको छ।

प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीद्वारा जारी सूचनामा पर्वलाई शान्तिपूर्ण, मर्यादित र सुरक्षित रूपमा सम्पन्न गर्न जिल्ला सुरक्षा समितिमार्फत जिल्लाभर भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको उल्लेख छ। छठ पर्वमा अवरोध सिर्जना गर्ने, धार्मिक तथा सामाजिक सद्भाव बिथोल्ने वा शान्ति सुव्यवस्थामा खलल पुर्‍याउने व्यक्ति वा समूहलाई नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

प्रशासनले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र सांस्कृतिक विविधताको सम्मान गर्दै एकअर्काको आस्थाको कदर गर्न तथा कुनै पनि किसिमको निषेध वा अवरोध नगरी छठ पर्व मनाउन जिल्लावासी, पूजा व्यवस्थापन समिति र सरोकारवालालाई अपिल गरेको छ।

तर, प्रशासनको यस्तो अपिल र सुरक्षा व्यवस्थाका बाबजुद धनकौलको घटनाले छठजस्तो साझा धार्मिक तथा सांस्कृतिक पर्वमा समेत जातीय विभेद र सामाजिक बहिष्करणको प्रश्न उठाएको छ। घटनाको निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्न र पीडितको धार्मिक स्वतन्त्रता सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण भएको छ।