हुसैन तलातको अर्धशतक र बलिङमा चमक, कर्णाली याक्सले चितवनलाई २४ रनले हरायो


काठमाडौँ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आफ्नो अन्तिम खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले पराजित गर्दै प्रतियोगिताबाट सुखद बिदाइ लिएको छ। यद्यपि, जितका बाबजुद कर्णाली प्लेअफमा पुग्न भने असफल रह्यो। चितवन यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ।

कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवन राइनोज १९.१ ओभरमा १२९ रनमै अलआउट भयो।

चितवनका लागि उसामा मीरले अविजित २८ रन बनाए। त्यस्तै, कामिल मिश्राले २५, कुशल मल्लले १८ र देव खनालले १४ रनको योगदान दिए। तर, अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न नसक्दा चितवनले लक्ष्य भेट्टाउन सकेन।

कर्णालीको जितमा हुसैन तलातले उत्कृष्ट बलिङ गर्दै सर्वाधिक ३ विकेट लिए। पवन सर्राफ र मार्क वाटले समान २ विकेट हात पार्दा सोमपाल कामीले १ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बनाएको थियो।

कर्णालीका हुसैन तलातले शानदार ब्याटिङ गर्दै अविजित ५१ रन बनाए। उनले अर्धशतकीय इनिङ्स खेलेर टोलीलाई सम्मानजनक योगफलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गरे। त्यस्तै, अरिफुल इस्लामले ३५, गुलशन झाले १८ र पवन सर्राफले १५ रन जोडे।

चितवनका बलरमध्ये कमल सिंह ऐरी, सलाहुद्दीन खान र उसामा मीरले समान २ विकेट लिए। सिकन्दर रजा र रिजन ढकालले एक–एक विकेट आफ्नो नाममा गरे।

यसरी ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेको कर्णालीले प्रतियोगिताको अन्तिम खेलमा जित निकाल्दै सुखद अन्त्य गरेको छ। तर, यो जित प्लेअफ यात्रा तय गर्न पर्याप्त हुन सकेन।