एजेन्सी ।
अमेरिकामा हवाई ट्राफिक नियन्त्रण प्रणालीमा देखिएको गम्भीर सञ्चार अवरोधका कारण शुक्रबार लगाइएको राष्ट्रव्यापी उडान प्रतिबन्ध हटाइएको छ। अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले शुक्रबार साँझ करिब ८ः१५ बजे (स्थानीय समय) प्रतिबन्ध हटाएसँगै विमानस्थलबाट उडान पुनः सुरु गर्ने बाटो खुलेको हो। तर, प्रतिबन्ध हटे पनि हवाई सेवा तत्काल सामान्य अवस्थामा फर्किन सकेको छैन। हजारौँ उडान प्रभावित भएपछि यात्रुहरूले अझै ढिलाइ र उडान रद्द हुने समस्या सामना गर्नुपर्ने भएको छ। समाचार संस्था एपी र एबीसी न्युजका अनुसार प्राविधिक समस्याका कारण अमेरिकाभर झन्डै ५ हजार उडान रद्द भएका छन्।
यसअघि १० हजारभन्दा बढी उडान ढिलाइमा परेका थिए। प्रतिबन्धका कारण विभिन्न विमानस्थलमा यात्रुहरू अलपत्र परेका थिए भने केही विमानस्थलमा उडानका लागि प्रतीक्षारत यात्रुहरूको भीड लागेको थियो। शुक्रबार दिउँसो करिब ३ः३६ बजे (अमेरिकी पूर्वी समय) हवाई ट्राफिक नियन्त्रण केन्द्रहरूमा सञ्चार तथा राडार प्रणाली अस्थिर भएको थियो। त्यसपछि एफएएले असाधारण परिस्थिति र उड्डयन सुरक्षाको कारण देखाउँदै देशभरका विमानस्थलबाट हुने उडान रोक्न निर्देशन दिएको थियो। प्रारम्भिक अनुसन्धानअनुसार पुरानो हवाई ट्राफिक नियन्त्रण प्रणालीमा प्रयोग भइरहेका सञ्चार उपकरण तथा राउटरहरूमा अत्यधिक तथ्यांकको चाप पर्दा समस्या उत्पन्न भएको थियो। यातायातमन्त्री डफीले प्रणालीबाट प्राप्त तथ्यांकमा असंगति देखिएपछि सुरक्षा जोखिम हुन नदिन उडान रोक्नुपरेको बताएका छन्।
अमेरिकी गृह सुरक्षा मन्त्री मार्कवेन मुलिनले घटनाबारे बोल्दै अहिलेसम्म साइबर आक्रमण वा कुनै शत्रुतापूर्ण गतिविधिको संकेत नदेखिएको बताएका छन्। यद्यपि, समस्याको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको उनको भनाइ छ। उडान प्रतिबन्धका क्रममा आकाशमा रहेका विमानलाई भने सुरक्षित अवतरण गराउने व्यवस्था मिलाइएको थियो। विमानस्थलमा रहेका नयाँ आन्तरिक उडानहरू रोकिए पनि आपत्कालीन तथा आवश्यक सेवासँग सम्बन्धित केही छ। उडान प्रतिबन्धका क्रममा आकाशमा रहेका विमानलाई भने सुरक्षित अवतरण गराउने व्यवस्था मिलाइएको थियो।
विमानस्थलमा रहेका नयाँ आन्तरिक उडानहरू रोकिए पनि आपत्कालीन तथा आवश्यक सेवासँग सम्बन्धित केही उडानलाई विशेष व्यवस्थाअनुसार सञ्चालन गरिएको थियो। एफएएले सञ्चार प्रणालीको पूर्ण कार्यक्षमता पुनःस्थापना भएपछि प्रतिबन्ध हटाएको जनाएको छ। तर, प्रभावित उडानको चाप व्यवस्थापन गर्न समय लाग्ने भएकाले शनिबार र त्यसपछिका दिनमा समेत उडान ढिलाइ तथा रद्द हुने सम्भावना रहेको छ। एयरलाइन्सहरूले यात्रुलाई विमानस्थल जानुअघि आफ्नो उडानको पछिल्लो अवस्था जाँच गर्न आग्रह गरेका छन्। यो घटना अमेरिकाको हवाई यातायात प्रणालीमा देखिएको गम्भीर प्राविधिक अवरोधमध्ये एक हो। यसअघि सन् २००१ सेप्टेम्बर ११ को आतंकवादी हमलापछि अमेरिकाले सबै व्यावसायिक उडान रोकेको थियो।











प्रतिक्रिया