मारियालाई धम्की दिनेलाई साढे सात वर्ष जेल


ब्यूनस आयर्स, (एजेन्सी)

अर्जेन्टिनाका विश्वविजेता स्टार फुटबलर एन्जेल डी मारिया र उनको परिवारलाई ज्यान मार्ने धम्की दिने मुख्य योजनाकारलाई अदालतले साढे सात वर्षको कठोर जेल सजाय सुनाएको छ ।

अर्जेन्टिनाको रोजारियोस्थित अदालतले ४५ वर्षीय सर्जियो डी भान्नीलाई डी मारियाको परिवारविरुद्ध हिंसात्मक धम्की दिन आदेश दिएको कसुरमा दोषी ठहर गर्दै उक्त फैसला सुनाएको हो । सन् २०२४ को मार्च महिनामा बेन्फिका क्लबबाट खेल्दै गरेका डी मारियाले आफ्नो बाल्यकालको क्लब ‘रोसारियो सेन्ट्रल’ फर्केर खेल्ने योजना सार्वजनिक गरेपछि उनीमाथि यो खतरा निम्तिएको थियो । रोसारियो सेन्ट्रल र नेवेल्स ओल्ड ब्वाइजबीचको कडा स्थानीय प्रतिद्वंदिता तथा अल्ट्रा फ्यान समूहको शक्ति संघर्षका कारण उनलाई फर्किनबाट रोक्न यो आपराधिक षड्यन्त्र रचिएको थियो ।

अभियोजकहरूका अनुसार मुख्य योजनाकार डी भान्नी र अन्य सहयोगीहरूले ४० लाख पेसोको आर्थिक प्रलोभनमा यो धम्कीपूर्ण अभियान सञ्चालन गरेका थिए । उक्त आतंककारी घटनाको शृंखला निकै भयावह थियो । डी मारियाको प्रोपर्टी नजिकै गोली प्रहार गरिनुका साथै उनकी बहिनीको कार्यालय बाहिर निधारमा गोली लागेको सुँगुरको टाउको र उनकी छोरीलाई मार्ने धम्कीपूर्ण पत्र छाडिएको थियो । यस गम्भीर खतराका कारण डी मारियाले सुरुमा गृहनगर फर्किने योजना स्थगन गरेका थिए । उक्त घटनामा संलग्न २५ वर्षीया महिला बेलेन गुटिररेजलाई यसअघि नै साढे तीन वर्षको जेल सजाय भइसकेको छ भने अर्का एक संदिग्ध पुर्पक्षमा छन् ।

पारिवारिक सुरक्षालाई ध्यानमा राख्दै केही समय योजना रोके पनि डी मारिया पछि आफ्नो अडानमा दृढ रहँदै सन् २०२५ मा अन्ततः रोसारियो सेन्ट्रलमा आबद्ध भए । ३८ वर्षीय अनुभवी खेलाडी डी मारियाले रोसारियो सेन्ट्रलमा फर्किएपछि उत्कृष्ट खेल प्रदर्शन गर्दै गत वर्षको अन्त्यतिर टोलीलाई प्रतिष्ठित अर्जेन्टिनी लिगको उपाधि जिताउन महत्वपूर्ण योगदान दिएका छन् । २०२२ को फिफा विश्वकप विजेता डी मारियाले आपराधिक अवरोधहरूलाई चिर्दै आफ्नो खेलप्रतिको अटल समर्पण प्रमाणित गरेका छन् । हाल अदालतको उक्त कठोर निर्णयले खेलाडीहरूको सुरक्षा र खेलकुद क्षेत्रमा हुने आपराधिक हस्तक्षेपविरुद्ध बलियो सन्देश दिएको छ ।