पत्रकारमाथि प्रहरी धरपकड, जिम्मेवारीबाट पन्छिँदै सरकार र प्रहरी


काठमाडौं ।

सञ्चारमाध्यमका कार्यालयमै प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको घटनामा नेपाल प्रहरी र सरकारका निकायबीच जिम्मेवारीबाट पन्छिने प्रयास देखिएको छ ।

नेपाल प्रहरीले प्रधानमन्त्री कार्यालयको चासोपछि पत्रकारलाई सोधपुछका लागि बोलाइएको दाबी गरेको छ । तर प्रधानमन्त्री कार्यालयले घटनाबारे कुनै पूर्वजानकारी नभएको जनाएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले घटनाबारे जानकारी पाएपछि पत्रकारलाई तत्काल रिहा गर्न निर्देशन दिएको सचिवालयको भनाइ छ ।

प्रहरीले नेपाल प्रेस, नयाँ पत्रिका, मोटिभेट न्युज र डीएनए खबरका पत्रकार तथा सम्पादकलाई विभिन्न बहानामा नियन्त्रणमा लिएको थियो । प्रहरीको उद्देश्य प्रहरी संगठनविरुद्ध प्रकाशित समाचारबारे सोधपुछ गर्नु र समाचारको स्रोत पत्ता लगाउनु रहेको स्रोतको दाबी छ ।

समाचार कक्षबाट पत्रकार पक्राउ गर्नु .पत्रकारलाई पक्राउ पुर्जीबिना नियन्त्रणमा लिने र मोबाइल फोन जाँच गर्ने प्रयासप्रति महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्यले संविधान, प्रेस स्वतन्त्रता र अन्तर्राष्ट्रिय कानुनविपरीत भएको बताएका छन्। उनले यस्तो कार्यले प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप गरेको उल्लेख गर्दै यसलाई ‘राज्य आतंक’को संज्ञा दिएका छन्।

घटनाको विरोध भएपछि नियन्त्रणमा लिइएका पत्रकारलाई केही घण्टापछि रिहा गरिएको थियो । तर घटनामा प्रहरी, गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयको भूमिकाबारे स्पष्ट जवाफ आउन सकेको छैन ।