वर्षाका कारण एनपीएलका दुवै खेल प्रभावित हुने सम्भावना


काठमाडौं ।

काठमाडौंमा २४ घण्टाभन्दा बढी समयदेखि निरन्तर वर्षा भइरहेकाले शनिबार हुने नेपाल प्रिमियर लिग (एनपीएल) का दुवै खेल प्रभावित हुने सम्भावना बढेको छ।

शनिबार दिउँसो १२ः३० बजे लुम्बिनी लायन्स र चितवन राइनोजबीच पहिलो खेल हुँदैछ। तर मौसमविद्का अनुसार दिउँसो २ बजेसम्म काठमाडौंमा वर्षा जारी रहने पूर्वानुमान छ।

मौसमविद् विनोद पोखरेलले दिउँसो १ देखि २ बजेसम्म धेरै स्थानमा वर्षा हुने र त्यसपछि क्रमशः कम हुँदै जाने बताएका छन्।

वर्षा रोकिए पनि मैदानलाई खेल्नयोग्य बनाउन दुईदेखि तीन घण्टा लाग्न सक्ने भएकाले पहिलो खेल हुने सम्भावना कम देखिएको छ। साँझ ५ बजे विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच दोस्रो खेल तय गरिएको छ।

एनपीएलमा रिजर्भ डे नरहेकाले वर्षाका कारण खेल हुन नसके दुवै टोलीले अंक बाँड्नुपर्नेछ।