काठमाडौँ।
सांग्रिला डेभलपमेन्ट बैंकले स्थापनाको २२ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको छ। बैंकले २२औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार केन्द्रीय कार्यालय बालुवाटारमा विशेष कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो।
कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष उज्ज्वल सत्यालले बैंकको सफल यात्रामा साथ र सहयोग पुर्याउने संस्थापक, सञ्चालक समिति, ग्राहक, सेयरधनी, कर्मचारी तथा नियामक निकायप्रति आभार व्यक्त गरे।
त्यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत रविन सिजापतीले आगामी दिनमा बैंकका सेवालाई थप स्मार्ट, आधुनिक र उत्कृष्ट बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।
वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमसमेत घोषणा गरेको छ। बैंकले महिलाहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने जनाएको छ। हुम्लाको सिमकोटस्थित डाँडाफया हेल्थपोस्टमा आयोजना हुने उक्त शिविरमा स्त्रीरोग विशेषज्ञमार्फत स्वास्थ्य सेवा उपलब्ध गराइनेछ।
यसैगरी, हुम्लाको सिमकोट–२ स्थित रामदेव माध्यमिक विद्यालयका १०३ जना विद्यार्थीलाई विद्यालय पोसाक तथा स्टेसनरी सामग्री वितरण गरिने बैंकले जनाएको छ।
त्यस्तै, रोल्पाको सुनिलस्मृति गाउँपालिका–२ स्थित खुंग्री हेल्थपोस्टलाई एक थान बेबी वार्मर र एक थान अटोक्लेभ ड्रम सेट उपलब्ध गराउने घोषणा पनि बैंकले गरेको छ।
वार्षिकोत्सवकै अवसरमा बैंकमा पाँच वर्ष र १० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।
बैंकका अनुसार ग्राहकको विश्वास र भरोसाका आधारमा हाल देशभर १०९ शाखा कार्यालय तथा ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ। संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीलाई प्राथमिकतामा राख्दै आएको बैंकले आगामी दिनमा सेवा विस्तार तथा गुणस्तर अभिवृद्धिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
बैंकका वरिष्ठ नायब महाप्रबन्धक अपूर्वप्रसाद जोशीले वार्षिकोत्सव सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्।











प्रतिक्रिया