काठमाडौँ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने विषयमा समझदारी भएको छ।
भारत भ्रमणको दोस्रो दिन सोमबार प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको द्विपक्षीय भेटवार्तापछि दुवै देशबीच आठ विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको हो।
समझदारीअनुसार नेपाल र भारतले विज्ञान तथा प्रविधिदेखि स्वास्थ्य, शिक्षा, सुरक्षा र कृषि क्षेत्रसम्म आपसी सहकार्यलाई विस्तार गर्ने भएका छन्।
यी हुन् नेपाल–भारतबीच समझदारी भएका आठ क्षेत्र
१. फरेन्सिक विज्ञानमा सहकार्य : गुजरातको गान्धीनगरस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच अध्ययन तथा अनुसन्धानमा सहकार्य हुनेछ।
२. प्रहरी प्रशिक्षण : भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी एकेडेमीबीच समझदारी भएको छ।
३. प्रशासनिक अधिकारीहरूको तालिम : भारतको सुशासन केन्द्र र नेपालको प्रशासनिक स्टाफ कलेज मिलेर नेपाली सरकारी अधिकारीहरूलाई प्रशिक्षण दिनेछन्।
४. आयुर्वेद र परम्परागत चिकित्सा : दुवै देशले आयुर्वेद र उपचारका अन्य परम्परागत पद्धतिहरूमा सहकार्य गर्नेछन्।
५. स्याटेलाइट सञ्चार : भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको प्रयोगका लागि स्याटेलाइट सञ्चार नेटवर्क निर्माण गर्ने विषयमा समझदारी भएको छ।
६. सहरी विकास : दुवै देशले दिगो सहरी विकासको क्षेत्रमा प्राविधिक सहकार्य गर्नेछन्।
७. स्वास्थ्य र चिकित्सा : भारत र नेपालले स्वास्थ्य सेवा र चिकित्साको क्षेत्रमा मिलेर काम गर्नेछन्।
८. पशुपालन र मत्स्यपालन : दुवै देशले पशुपालन र मत्स्यपालनको विकासका लागि सहकार्य गर्नेछन्।








तपाईंको विचार लेख्नुहोस्