मधेशमा मिर्गौला उपचार केन्द्र स्थापना प्रक्रिया अघि बढ्यो, २५ लाख बजेट विनियोजन

जनकपुरधामस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा केन्द्र निर्माण गरिने


काठमाडौं ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मधेश प्रदेशमा मिर्गौला उपचार केन्द्र स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ। प्रदेशका मिर्गौलाका बिरामीलाई उपचार सेवामा सहज पहुँच पुर्‍याउने उद्देश्यसहित मन्त्रालयले जनकपुरधामस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरमा केन्द्र निर्माणको तयारी थालेको हो।

केन्द्र निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाउन मन्त्रालयले शहरी विकास तथा भवन निर्माण विभागलाई पत्राचार गरेको छ। मन्त्रालयको नीति, योजना तथा अनुसन्धान महाशाखाअन्तर्गत नीति, योजना तथा बजेट शाखाले विभागलाई पत्र पठाउँदै प्रतिष्ठान परिसरमा मिर्गौला उपचार केन्द्र निर्माणसम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको हो।

चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत बजेट तथा कार्यक्रमअन्तर्गत एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमबाट केन्द्र निर्माणका लागि २५ लाख २० हजार रुपैयाँ विनियोजन गरिएको मन्त्रालयले जनाएको छ।

मिर्गौला रोगका बिरामीले नियमित डायलाइसिस तथा अन्य उपचारका लागि काठमाडौंलगायतका ठूला सहर धाउनुपर्ने अवस्थालाई मध्यनजर गर्दै प्रदेशस्तरमै उपचार सेवा विस्तार गर्ने सरकारी योजनाअन्तर्गत यो प्रक्रिया अघि बढाइएको हो।

यद्यपि, विनियोजित बजेटबाट केन्द्र निर्माणको कुन चरणसम्मको काम सम्पन्न हुने, आवश्यक उपकरण तथा जनशक्तिको व्यवस्थापन कसरी गरिने र सेवा सञ्चालन कहिलेदेखि हुने भन्ने विषय स्पष्ट हुन बाँकी छ।

केन्द्र निर्माणसँगै आवश्यक चिकित्सकीय जनशक्ति, डायलाइसिस मेसिन र नियमित उपचार सेवाको व्यवस्थापन हुन सके मात्रै यसबाट मिर्गौलाका बिरामीले प्रत्यक्ष लाभ लिन सक्नेछन्।