काठमाडौँ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा कर्णालीले विराटनगरलाई हराएको हो।
पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८६ रन बनाएको थियो। विराटनगरका लोकेश बमले उत्कृष्ट ब्याटिङ गर्दै ५२ बलमा ८७ रन जोडे। उनको इनिङ्समा ३ चौका र ९ छक्का समावेश थिए।
त्यस्तै, एन्जेलो म्याथ्युजले २३ बलमा ३१ रन बनाउँदा आन्द्रे रसेलले १५ बलमा २७ रनको योगदान दिए। कर्णालीका कप्तान सोमपाल कामीले प्रभावशाली बलिङ गर्दै ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिए। मार्क वाटले पनि एक विकेट आफ्नो नाममा गरे।
१८७ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको कर्णाली याक्सले उत्कृष्ट प्रदर्शन गर्दै लक्ष्य पूरा गर्यो। यस जितसँगै कर्णालीले प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम राखेको छ भने विराटनगर किंग्सले लगातार दोस्रो हार बेहोरेको छ।
यसअघि कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले हराएको थियो। यता विराटनगर भने आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग ८ रनले पराजित भएको थियो। लगातार दुई जितसँगै कर्णालीले प्रतियोगितामा आफ्नो बलियो उपस्थिति देखाएको छ।











प्रतिक्रिया