जनकपुर र काठमाडौं आज भिड्दै, दुवै टोली जितको खोजीमा


काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बिहीबारको पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ः३० बजे सुरु हुने खेलमा जनकपुर पहिलो जितको खोजीमा हुनेछ भने काठमाडौं सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रिनेछ।

पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित जनकपुर ब्याटिङ सुधार गर्दै पुनरागमन गर्न चाहन्छ। कप्तान हर्मीत सिंह, मोइन अली, जिमी नीशम र कुसल परेराजस्ता खेलाडीबाट टोलीले राम्रो प्रदर्शनको अपेक्षा गरेको छ।

यता, काठमाडौं गोर्खाजले विदेशी खेलाडी स्मित पटेल, केएस भरत र विल बोसिस्टोको प्रदर्शनमा भरोसा गर्नेछ। अस्ट्रेलियाली स्टार ब्याटर डेभिड वार्नर नेपाल नआइसकेकाले उनको अनुपस्थितिमा काठमाडौंको ब्याटिङ संयोजन चासोको विषय बनेको छ।

एनपीएलका अघिल्ला दुई संस्करणमा दुवै टोलीले एक–एक खेल जितेका छन्। मौसम बदली भई वर्षाको सम्भावना रहेकाले खेल प्रभावित हुन सक्ने अनुमान गरिएको छ।